📌 मुख्य बुँदाहरू:
- कामना सेवा विकास बैंकले कृत्रिम बौद्धिकता (एआई) मा आधारित ‘केएस मित्र’ ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ।
- ग्राहकले आस्क मित्र, इमेल ([email protected]) तथा वाट्सएप (९८५१४६००८५) मार्फत बैंकिङ सेवा तथा जिज्ञासा राख्न सक्नेछन्।
- खाताको मौज्दात, कारोबार विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट लगायतका जानकारी लिन सकिनुका साथै खाता ब्लक वा पिन परिवर्तन जस्ता सेवा समेत प्राप्त हुनेछन्।
कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ। बैंकले १० कात्तिकमा एक कार्यक्रमबीच यो डिजिटल सेवा सुरु गरेको जानकारी दिएको हो।
ग्राहकले बैंकको आधिकारिक माध्यममा उपलब्ध ‘आस्क मित्र’ आइकन, इमेल ठेगाना ksmitra@kamanasewabank.com वा सिधै वाट्सएप नम्बर ९८५१४६००८५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध तथा गुनासो सम्बन्धी जिज्ञासा राख्न सक्ने बैंकले जनाएको छ।

केएस मित्रमार्फत पाइने सेवाहरू
केएस मित्रमार्फत ग्राहकले भौतिक रूपमा शाखामा नपुगी बैंकका सेवाबारे जानकारी लिन, खाता सम्बन्धी जानकारी तथा गुनासो जाहेर गर्ने जस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार ग्राहकले शाखा र सम्पर्क नम्बर, बैंकका सेवा तथा सुविधाहरू, ब्याजदर, सेवा–शुल्क र अन्य सामान्य जानकारी सजिलै पाउन सक्नेछन्।
ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबारको विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट, केवाईसीलगायतका जानकारी पनि लिन सकिने व्यवस्था गरिएको छ। त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेशा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने र यसको अवस्था बुझ्ने जस्ता सेवाहरू पनि यसै प्रणालीमार्फत प्रदान हुनेछन्।

स्वचालित टिकट व्यवस्था
यदि ग्राहकले यस प्रणालीमार्फत खोजेको जानकारी तत्काल उपलब्ध नभएमा स्वचालित रूपमा टिकट जारी गरिने बैंकले जनाएको छ। यसले ग्राहकका जिज्ञासा, सेवा अनुरोध र गुनासोको सहज रूपमा फलोअप गर्न र समाधान गर्न सहयोग पुग्नेछ।
बैंकिङ क्षेत्रमा यो सुविधा एक नौलो र प्रभावशाली डिजिटल आयाम भएको बैंकको निष्कर्ष छ। डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित यो सेवा सञ्चालनमा ल्याइएको बैंकले स्पष्ट पारेको छ।




















