भद्रपुर। भद्रपुरको एसएस निकेतन अंग्रेजी विद्यालयले इ-ल्याब सञ्चालनमा ल्याएको छ ।
विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षामा जोड दिने उद्देश्यले विद्यालयमा सञ्चालनमा ल्याएको इ ल्याबको उद्घाटन शुक्रबार एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले गर्नुभएको हो।
विद्यार्थीलाई सजिलो र सरल प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले ३० लाख लागतमा इ ल्याब सञ्चालनमा ल्याएको विद्यालयका प्रिन्सिपल दीप श्रेष्ठले जानकारी दिनुभयो । ल्याबमा ३५ वटा ल्यापटप राखिएको छ । कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरू यसबाट प्रत्यक्ष लाभान्वित हुने प्रिन्सिपल श्रेष्ठको भनाई छ ।

अहिलेको डिजिटल युगमा विद्यार्थीहरूलाई सोही अनुसारको शिक्षण सिकाई आवश्यक रहेको बताउँदै प्रिन्सिपल श्रेष्ठले भने, ‘इ ल्याबसँगै स्मार्ट बोर्डको अवधारणामा पनि विद्यालय अघि बढिसकेको छ ।’ निजी विद्यालयले अनिवार्य १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नु पर्नेमा यस विद्यालयले १८ प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको पनि उहाँको भनाई छ ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पोखरेलले यो प्रविधिको युगमा यस विद्यालयको इ ल्याबले दक्ष जनशक्ति उत्पादन हुनेमा विश्वास लिएको बताउनुभयो । एसएस जस्तै अरू विद्यालयले पनि प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने उहाँको भनाई छ ।

नगर क्षेत्रका सामुदायिक र निजी विद्यालयसँग नगरपालिका हातेमालो गरेर दक्ष विद्यार्थी उत्पादन गर्ने अभियानमै लागि परेको उहाँको भनाई छ सामुदायिक र निजी भन्दै नगरपालिकाले विभेद नगरेको उनले प्रस्ट पारेका पार्नुभयो।

उद्घाटन कार्यक्रमको सञ्चालन एसएस निकेतनका शिक्षक रबिन्द्र कुमार घोषले गर्नुभएको थियो।

























