भद्रपुरमा श्रम तथा रोजगारसमबन्धी अन्तरक्रिया

२८ जेठा, भद्रपुर :  झापाको भद्रपुरमा श्रम तथा रोजगारसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम मंगलबार आयोजना गरिएको छ ।
भद्रपुर नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा नगरपालिकाको सभाहलमा नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, नेपाल चिया उत्पादक संघ, पदाधिकारी सदस्य तथा भद्रपुर नगरपालिका क्षेत्रमा सञ्चालित विभिन्न उद्योगहरुका सञ्चालकहरुको सहभागिता थियो ।
कार्यक्रममा भद्रपुर नगरपालिका क्षेत्रको रोजगार तथा बेरोजगारको वर्तमान अवस्था तथा नयाँ रोजगार सिर्जनाका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरिएको थियो ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी)–का संयोजक शेखर बुढाथोकीले सञ्चालन र रोजगार सेवा केन्द्रका संयोजक टिकाराम पाण्डेले प्रस्तुति गरेको कार्यक्रममा सहभागीहरुले नगरभित्र दक्ष र नियमित कामदारको अभावमा भारतीय श्रमिकहरुलाई काम लगाउनुपर्ने बाध्यता रहेको बताए । उद्योग संघ झापाका अध्यक्ष यमबहादुर श्रेष्ठले भने – ’हामी स्थानीय श्रमिकलाई प्राथमिकता दिन चाहन्छौँ, तर स्थानीयमा कामप्रतिको इच्छाशक्ति नै देखिँदैन भने दक्षता पनि त्यति पाइँदैन ।’ उनले भद्रपुरमा बढी मात्रामा रहेका चिया उद्योग, चामल उद्योग, प्लाइउड उद्योगका श्रमिकहरुलाई नगरपालिकाले प्राविधिक विषयमा तालिम दिनुपर्ने सुझाव दिए ।
चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले उद्योगमैत्री नीति बन्न नसक्दा र उद्योगहरु पनि क्रमशः धरासायी बन्दै जाँदा नयाँ रोजगारी सिर्जना हुन नसकेको र भएका रोजगार पनि संरक्षण गर्न गाह्रो अवस्था रहेको उल्लेख गरे ।


अग्रज उद्योगी दिपक पोखरेलले भद्रपुरमा नयाँ उद्योग स्थापनामा नगरपालिकाले करछुटलगायत अन्य विषयमा सहजीकरण गरेर लगानीकर्तालाई आकर्षित गर्नुपर्ने सुझाव दिँदै यसबाट नयाँ रोजगारी सिर्जना हुनसक्ने उल्लेख गरे ।
कार्यक्रममा उद्योगीहरु जेपी शर्मा, शिवकुमार गुप्ता, दिपेश ढकाल, सुभाषरत्न शाक्य, राजेन्द्रकुमार सिंह राजवंशीलगायतले सुझाव राखेका थिए ।
उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नगरपालिकाको आर्थिक विकास समिति संयोजक प्रशंसा ठटाल, सामाजिक विकास समिति संयोजक सीतादेवी ढकाललगायतको सहभागिता रहेको कार्यक्रममा नगरप्रमुख पोखरेलले उद्योगी व्यवसायीको सुझाव अनुसार भद्रपुरमा उद्योग विकास र रोजगारी सिर्जनाका लागि नगरपालिकाले योजनाबद्ध कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.