२७ कार्तिक, मेचीनगर : नेपाल स्काउटको ‘फ्रेण्डसिप कार्निभल क्याम्प २०८२’ झापाको मेचीनगर–७, सतिघट्टास्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा बिहीबार भव्य समारोहका बीच सुरु भएको छ।
काँकरभिट्टा ओपन क्रयूको आयोजनामा सुरु भएको तीनदिने क्याम्पको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गर्नुभयो।
नेपाल स्काउट मेचीनगरका प्रमुख आयुक्त रीता थापाका अनुसार, झापाका विभिन्न पालिकास्थित नौ विद्यालयका स्काउट ट्रुपका करिब ४ सयभन्दा बढी स्काउट तथा स्काउटरहरू क्याम्पमा सहभागी भएका छन्। उद्घाटन समारोहमा सहभागी टोलीहरूले आकर्षक मार्च पास प्रस्तुत गरेका थिए।
शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रजिअ गेलालले सानो उमेरदेखि स्काउटिङ्गमा सहभागितामार्फत बालबालिकामा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारी बोध विकास हुने बताउनु भयो।
उहाँले भन्नुभयो, “स्काउटिङ केवल गतिविधि होइन, यो जीवनशैली हो। यसले बालबालिकाको सोच, व्यवहार र समाजप्रतिको दृष्टिकोण परिवर्तन गर्छ।”
उहाँले थप भन्नुभयो, “यस्ता कार्यक्रमले समाजमा सकारात्मक सोच र व्यवहारको सन्देश पुर्याउँछन्, जसले देशको नेतृत्व गर्ने भावी पुस्ता तयार गर्छ।”
विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईले विद्यालयमा स्काउट गतिविधिबाट विद्यार्थीहरूमा सहकार्य, अनुशासन र आत्मविश्वास बढ्दै गएको बताउनु भयो।
उहाँले भन्नु भयो, “स्काउटिङ्गले विद्यार्थीलाई केवल पढाइमा होइन, व्यवहारिक जीवनमा पनि सक्षम बनाउँछ। विद्यालयका हरेक कार्यक्रममा स्काउटहरूको सहभागिता गर्वको विषय बनेको छ।”
विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मलकुमार अधिकारी खत्रीले स्काउटिङ्गले समाजमा एकता र नेतृत्वको भावना जगाउने बताउनु भयो।
उहाँले भन्नु भयो, “फ्रेण्डसिप कार्निभल जस्ता कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश पुर्याउँछ र बालबालिकामा जिम्मेवारीको भावना रोप्छ।”
कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले स्काउटहरू मुलुकका ‘शान्तिदूत’ भएको उल्लेख गर्दै भन्नु भयो,
“देश र समाजमा सहयोग, सेवा र सदाचारको भावनासहित अघि बढ्ने स्काउटहरू नै भविष्यका सशक्त नागरिक हुन्।”
उहाँले प्रदेशभित्रका स्काउट गतिविधिलाई अझ सुदृढ गर्न प्रतिबद्धता पनि जनाउनुभयो।
राष्ट्रिय प्रशिक्षक तथा पूर्व सह–प्रमुख आयुक्त शिवकुमार पौड्यालले स्काउटिङस्काउटिङ्ग कार्यक्रमले युवामा सहिष्णुता, नेतृत्व र सहयोगी भावना विकास गर्ने बताउनु भयो।
उहाँले भन्नु भयो, “आजका स्काउटहरू नै भोलिका समाजपरिवर्तक हुन्। उनीहरूले शान्ति र सेवाको बाटोमा उदाहरणीय भूमिका खेल्नेछन्।”
त्यस्तै, नेपाल स्काउटकी शैक्षिक पद्धति आयुक्त (महिला विभाग) भुवन सुब्बाले महिलाको सहभागिता स्काउटिङ्गमा निरन्तर बढ्दै गएको बताउँदै बालिकाहरूमा नेतृत्व र आत्मविश्वास अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनु भयो।
कार्यक्रममा झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, राष्ट्रिय अनुसन्धान विभागका झापा प्रमुख उप–अनुसन्धान निर्देशक उमेश पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर पाण्डे, सहायक राष्ट्रिय प्रशिक्षक तथा नेपाल स्काउट जिल्ला समन्वय तदर्थ समिति झापाका संयोजक गंगाराम राई, विभिन्न संघसंस्था तथा सामुदायिक प्रतिनिधिहरूको उपस्थिति थियो।
काँकरभिट्टा ओपन क्रयूका व्यवस्थापन समिति सदस्य तथा स्काउटर दीपक रायाका अनुसार, तीनदिने क्याम्पको पहिलो दिन उद्घाटन समारोह र ‘सोसियल नाइट’, दोस्रो दिन विधागत प्रतिस्पर्धा र क्याम्प फायर, र अन्तिम दिन पुरस्कार वितरण, समुदाय सचेतना तथा समापन समारोह सञ्चालन हुने कार्यक्रम रहेको छ।
उद्घाटन सत्र विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मलकुमार खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा स्वागत काँकरभिट्टा क्रयूकी रोभर सर्जिन निरौलाले गर्नुभएको थियो भने सञ्चालन काँकरभिट्टा ओपन क्रयूका व्यवस्थापन समिति सदस्य एवम् स्काउटर आनन्द बोहोराले गर्नुभएको थियो।













































