सम्भावना र चुनौतीको दोसाँधमा, सीमाक्षेत्रको पत्रकारिता

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
पत्रकारिता आफैमा एउटा चुनौती र संघर्षपूर्ण पेशा हो । यसमा अवसरका पनि प्रश्स्त सम्भावना हुन्छन् भने सँगै चुनौतीको पनि निक्कै सामना गर्नुपर्छ । त्यसमा पनि सीमाक्षेत्रमा रहेर गरिने पत्रकारिता त झनै चुनौतीपूर्ण छ । हुनतः सीमाक्षेत्रमा गरिने पत्रकारितामा अवसरका सम्भावना पनि प्रश्स्त हुन्छन् । सीमाक्षेत्रबाट गरिने पत्रकारितामा सम्भावना र चुनौती दुवै छन् । एक शब्दमा सम्भावना र चुनौतीको दोसाँधमा छ, सीमाक्षेत्रबाट गरीने नेपाली पत्रकारिता ।
नेपाली पत्रकारितामा देखिएका प्रमुख चुनौतीहरूमध्ये सीमामा बसेर गरिने पत्रकारिता पनि हो भन्दा फरक नपर्ला । यो चुनौतीको सामना पत्रकारिताले कसरी गर्ने ? सीमाक्षेत्रबाट गरिने पत्रकारितामा समस्या र चुनौती छन् भनेर चुप लागेर बस्न चाँहि हुदैंन । किन कि पत्रकारले त्यो गरे लक्ष्यमा पुगिंदैन, त्यसकारण पनि हरेक सञ्चारकर्मी सम्भावनाको खोजीमा लाग्नुको विकल्प छैन । जहाँ समस्या र चुनौती छ, त्यहीं सम्भावना र अवसर पनि रहन्छ भन्ने कुरा कसैले पनि बिर्सनु हुदैंन् । यसकारण पनि सीमामा बसेर पत्रकारिता गरीररहेका सञ्चारकर्मीमा पत्रकारितामा निराशा आउनु हुदैन ।
पूर्व, पश्चिम बंगाल (भारत), पश्चिम मोरङ जिल्ला, उत्तर इलाम जिल्ला, दक्षिण बिहार, भारतसीमा रहेको नेपालको सुदूरपूर्व झापा जिल्ला उत्तरतर्फ इलामको रोङ गाउँपालिकाबाट शुरु भएर पूर्वोत्तर बंगाल र पूर्व दक्षिणमा भारतको विहार राज्यसँग जोडिएको खुला सीमा उत्तरको तिरिङदेखि दक्षिणको गौरीगञ्जसम्मको १ सय ४४ दशमलव २ किलोमिटर नाका छ । यो दुरीमा बसेर गरीने पत्रकारिता अन्य क्षेत्रबाट गरिने पत्रकारितामा थोरै फरक छ ।
नेपाल–भारत खुला सीमाले दुई देशबीच ऐतिहासिक, साँस्कृतिक तथा आर्थिक सम्बन्धलाई मजबुत बनाएको छ । पूर्वी नेपालको प्रमुख नाका काँकरभिट्टा यस सम्बन्धको एक महत्वपूर्ण केन्द्र हो । दैनिक हजारौँ मानिसहरूको आवागमन, व्यापारिक गतिविधि, पर्यटन तथा सामाजिक अन्तत्र्रिmयाले यस क्षेत्रलाई अत्यन्तै सक्रिय बनाएको छ । यस्तो गतिशील गतिविधिको केन्द्रमा रहेर गरिने पत्रकारिता स्वभावतः फरक, चुनौतीपूर्ण र अवसरले भरिपूर्ण हुन्छ नै । सीमावर्ती क्षेत्रमा पत्रकारिता गर्नु भनेको केवल स्थानीय घटनाक्रम रिपोर्ट गर्नु मात्र होइन; यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भलाई समेत जोडेर हेर्नुपर्ने हुन्छ । त्यसैले सीमा जस्तो क्षेत्रमा कार्यरत पत्रकारहरूले स्थानीय र वैश्विक दृष्टिकोणबीच सन्तुलन कायम गर्दै काम गर्नुपर्ने हुन्छ । सीमामा बसेर गरीने पत्रकारिताले अन्तर्राष्ट्रिय महत्त्व बोकेको हुन्छ ।

काँकरभिट्टा नेपाल–भारत सीमाको प्रमुख प्रवेशद्वार भएकाले यहाँको पत्रकारिताले अन्तर्राष्ट्रिय महत्व बोकेको हुन्छ । भारतसँग प्रत्यक्ष सम्पर्कमा रहेको यस क्षेत्रमा हुने साना–ठूला घटनाहरूले दुई देशबीचको सम्बन्धमा प्रभाव पार्न सक्छन् । भन्सार, व्यापार, आप्रवासन, सुरक्षासम्बन्धी गतिविधि तथा कूटनीतिक चासोका विषयहरू यहाँ दैनिक रूपमा देखिन्छन् । यसले पत्रकारहरूलाई अन्तर्राष्ट्रियस्तरका विषयमा काम गर्ने अवसर प्रदान गर्दछ । सीमा क्षेत्रमा हुने गतिविधिहरूलाई सही रूपमा प्रस्तुत गर्न सकेमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत स्थान पाउन सकिन्छ ।
आर्थिक र व्यापारिक समाचारको केन्द्र पनि बन्न सक्छ सीमाक्षेत्र । काँकरभिट्टा पूर्वी नेपालको प्रमुख व्यापारिक नाका भएकाले यहाँ आर्थिक पत्रकारिताको ठूलो सम्भावना रहेको छ । आयात–निर्यात, भन्सार राजस्व, साना तथा मझौला व्यवसाय, यातायात तथा पर्यटनसँग सम्बन्धित समाचारहरू यहाँ प्रशस्त पाइन्छन् । सीमावर्ती व्यापारमा हुने उतार–चढाव, नीतिगत परिवर्तन, राजस्व संकलन, तथा स्थानीय बजारमा पर्ने प्रभावबारे गहिरो अध्ययन गरी पत्रकारहरूले महत्वपूर्ण विश्लेषणात्मक सामग्री तयार गर्न सक्छन् । यसले नीति निर्माताहरूलाई समेत मार्गदर्शन गर्न सक्छ ।

सामाजिक र साँस्कृतिक विविधताको दस्तावेजीकरण हो सीमानाकामा गरिने पत्रकारिता । सीमावर्ती क्षेत्रको अर्को महत्त्वपूर्ण पक्ष भनेको यहाँको साँस्कृतिक विविधता हो । नेपाली र भारतीय नागरिकबीचको पारिवारिक सम्बन्ध, साझा भाषा–संस्कृति, चाडपर्व तथा परम्पराहरूले यस क्षेत्रलाई विशिष्ट बनाएको छ । पत्रकारिताले यस्ता सामाजिक यथार्थलाई उजागर गर्ने महत्वपूर्ण भूमिका खेल्न सक्छ । मानव कथा, आदान–प्रदान, तथा सीमावर्ती जीवनशैलीका विविध आयामहरूलाई प्रस्तुत गरेर समाजको वास्तविक चित्रण गर्न सकिन्छ ।

चुनौतीपूर्ण सुरक्षा अवस्था
यद्यपि सीमावर्ती क्षेत्रमा पत्रकारिता गर्नु जोखिमरहित भने छैन । खुला सीमाका कारण यहाँ अवैध गतिविधिहरू पनि हुने गर्छन् । जस्तै : तस्करी, मानव बेचबिखन, लागुऔषध कारोबार आदि । यस्ता संवेदनशील विषयमा रिपोर्टिङ गर्दा पत्रकारहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुरक्षा जोखिमको सामना गर्नुपर्ने हुन्छ । कहिलेकाहीं यस्ता अवैध गतिविधिमा संलग्न समूहहरूले पत्रकारमाथि दबाब वा धम्की दिन सक्ने सम्भावना रहन्छ । यसले स्वतन्त्र र निष्पक्ष पत्रकारितामा अवरोध पुर्‍याउन सक्छ ।

राजनीतिक तथा कूटनीतिक संवेदनशीलता पनि हुन्छ । सीमावर्ती क्षेत्रमा प्रकाशित समाचारहरूले कहिलेकाहीं दुई देशबीचको सम्बन्धमा असर पार्न सक्छन् । त्यसैले यहाँका पत्रकारहरूले तथ्यको पुष्टि, भाषा प्रयोग र समाचारको सन्तुलनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । गलत वा अपुष्ट समाचारले अनावश्यक विवाद निम्त्याउन सक्छ । त्यसैले जिम्मेवार र तथ्यमा आधारित पत्रकारिता अपरिहार्य हुन्छ । ग्रामीण तथा सीमावर्ती क्षेत्रका पत्रकारहरूले अझै पनि पर्याप्त स्रोतसाधनको अभाव झेलिरहेका छन् । आधुनिक प्रविधि, इन्टरनेटको गुणस्तर, तालिम तथा संस्थागत सहयोगको कमीले उनीहरूको कामलाई कठिन बनाएको छ । ठूला शहरमा उपलब्ध सुविधा सीमावर्ती क्षेत्रमा सहज रूपमा उपलब्ध नहुँदा पत्रकारहरूले सीमित साधनमै काम गर्नुपर्ने अवस्था छ । यसले गुणस्तरीय पत्रकारितामा असर पार्न सक्छ ।
सीमावर्ती क्षेत्रमा सूचना प्रवाह तीव्र हुने भएकाले अफवाह फैलिने सम्भावना पनि बढी हुन्छ । विशेष गरी सामाजिक सञ्जालको प्रयोग बढेसँगै अपुष्ट तथा भ्रामक सूचना छिटो फैलिन सक्छ । यस्तो अवस्थामा पत्रकारहरूको भूमिका झन् महत्त्वपूर्ण हुन्छ–सत्य तथ्यको पुष्टि गर्ने, गलत सूचनालाई खण्डन गर्ने, र विश्वसनीय समाचार प्रवाह गर्ने ।
सीमास्तम्भको अभाव, दसगजा अतिक्रमण, सैन्य तनाव, कमजोर सुरक्षा ब्यवस्थालगायत सीमाक्षेत्रको तनावका मुख्य कारण र असर हुन् । यी र यस्तै विषयमा रिपोटिङ गर्न जादा सञ्चारकर्मीहरुले निक्कै समस्या झेल्नु परेका घटना प्रश्स्त छन् । यसलाई सञ्चारकर्मीहरुले चुनौती ठाने पनि यस विषयमा गहिरिएर रिपोटिङ गर्ने हो भने निक्कै ज्ञान र अनुभव पनि बटुल्न सकिन्छ । सत्यतथ्य घटनाहरूमा आधारित रही सञ्चारमाध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । तर, कहिलेकाहीं सञ्चारकर्मीमाथि हिंसा र धम्की पनि आउने गरेका छन् । पत्रकारहरू जोखिम मोलेर रिपोर्टिङ गरिरहेका हुन्छन् ।
यसकारण पनि नेपाली सञ्चारकर्मीहरुले पटक पटक उठाउदैं आएको अवाज हो, ‘पत्रकारहरुको पेशागत सुरक्षाको सुनिश्चिततासँगै व्यावसायिक दक्षता अभिवृद्धि, सञ्चारगृहको संस्थागत बिकास एवम् सञ्चारमैत्री वातावरण निर्माणको आवश्यकता । ’ किन भने, विशेषगरी भ्रष्टाचार वा अपराध उजागर गर्ने पत्रकारहरू हत्या, कुटपिट वा सामाजिक बहिष्कारको शिकार बन्ने गरेको थुप्रै घटना नेपाली पत्रकारिताले व्यहोरेको छ ।
मोफसलमा बसेर पत्रकारिता गर्ने सञ्चारकर्मीमा विधागत पत्रकारिताको विकास भएको छैन । त्यसकारण सीमामा बसेर गरिने पत्रकारितामा उत्पन्न कठिनाई ,अप्ठ्यारा , सम्भावना, चुनौतीलगायतका बिषयमा पत्रकारहरुलाई डिजिटल मिडिया, नयाँ प्रविधिको प्रयोगलगायतका क्षमता अभिवृद्धि गर्ने खालका विभन्न प्रशिक्षण र तालिमको आवशयकता पर्दछ । जस्का कारण चुनौती भन्दा अवसर बढि पैदा होलान् । यस्ता प्रशिक्षण र तालिमले सञ्चारकर्मीलाई घटना, विषय र प्रस्तुतिलाई नयाँ स्वरुपमा पस्किन पनि सहज हुन्छ ।
कहिलेकाहिं दुवै देशका सुरक्षाकर्मीका कारण सीमाक्षेत्रमा विवाद भएका घटनाहरु पनि प्रश्स्तै छन् । यस्तो वेलामा दुवै देशका नागरिकहरुले सुरक्षाको माग गर्दछन् । नाकामा कुटपिट गर्ने र लुटपाटका घटना हुने गरेका र त्यस बखत सीमाक्षेत्रमा प्रभावकारी सुरक्षाको व्यवस्थाको माग स्थानीयले गर्दैं आएका छन् । स्थानीय सञ्चारमाध्यम नै आमजनताको पहिलो र प्रभावकारी माध्यम भएकाले सुसूचित समाज, उत्तरदायी शासन र सशक्त नागरिक समाज निर्माणमा पत्रकारिता जगतको अहम् भूमिका रहन्छ नै । सीमाक्षेत्रबाट गरिने पत्रकारितामा समस्या र चुनौती छन् भनेर चुप लागेर कहीं पनि पुगिंदैन, सम्भावनाको खोजीमा लाग्नुको विकल्प छैन । यसकारण पनि सीमाक्षेत्रमा हुने जस्ता सुकै घटनालाई पाठक समक्ष सञ्चारमाध्यममार्फत सञ्चारकर्मीले बाहिर ल्याउनुपर्छ । तर, बहुआयामिक चुनौती समाधान नगरि पूर्णरूपमा जनमुखी, निष्पक्ष र सशक्त पत्रकारिता सम्भव नहुने रहेछ ।
कति ठाउँमा त दुई देशको सीमा नाका खुला भएकाले नेपाली रोजगार र किनमेलका लागि नाका वारीपारी जाने गर्छन् । यस क्रममा पनि काहिलेकाहिं नाकामा समस्या पैदा हुने गरेको छ । अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न नपाउने प्रावधान भए पनि नेपाल–भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा कुनै पक्षले निर्वाधरुपमा घरटहरालगायतका संरचना निर्माण गर्ने गरेका समाचार पटक पटक प्रकाश भएका छन् ।
तर, त्यस्ता घटनाका बारेमा स्थानीयवासी खुलेर सञ्चारकर्मीसँग बोल्न चाहान्दैनन् । अनि पत्रकारले आफ्‌नो गोप्य स्रोत परिचालन गरेर समाचार बाहिर ल्याउनुपर्छ । त्यस बखत उनीहरुले निक्कै जोखिम मोल्नुपर्छ । नाकामा हुने विभिन्न व्यवहारका कारण धेरैले घरै छोड्नुपर्ने अवस्था समेत उत्पन्न हुन्छ । तर, पत्रकारले सजिलै ती घटनालाई बाहिर ल्याउने सक्ने अवस्था हुदैंन् । यस्तो हुदाँ पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा नै अहिलेको मुख्य चुनौती हो ।
पत्रकारितालाई राज्यको चौथो अंगका रुपमा व्यख्या गरिएको छ ।कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकापछिको चौथो अंग हो पत्रकारिता । पत्रकारहरुको सुरक्षा, हक अधिकार, प्रवद्र्धन तथा संरक्षण गर्नु राज्यको पहिलो कर्तव्य हो । तर राज्य त्यो कर्तव्यमा कति जिम्मेवार छ त ? एक पटक पछाडी फर्केर हेर्ने कि ? । यो विषयमा गम्भीर विमर्श र मन्थन गर्नु जरुरी छ ।
सीमा समस्या र विवाद समयमै नसुल्झिँदा सीमामा बसोबास गर्ने नागरिकले भौतिक र मानसिक तनाव खेप्न समेत बाँध्य हुन्छन् । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलगायत अन्य आपराधिक कार्यलाई रोक्नका निम्ति सीमाक्षेत्रमा दुवैतर्फका सुरक्षाकर्मीबीचको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रूपमा गस्ती पट्रोल र खबर आदान–प्रदान समेत हुन्छ । तर, कहिलकाहिं उनीहरुकै कारण समस्या समेत आउने गरेका घटना निक्कै छन् । त्यस बखत सञ्चारकर्मी त्यहाँ सजिलै पुग्न सक्ने र घटनाका विषयमा बुझेर सत्यतथ्य कुरा बाहिर ल्याउन सक्ने अवस्था हुदैन् । त्यो सीमामा बसेर गरिने पत्रकारिताको समस्या हो । पत्रकारिताको पछिल्लो चासो र चिन्ताको विषय पनि यही हो ।
पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाका विषयमा सुक्ष्म वहस र विश्लेषणसहित अघि बढ्नु पर्ने आवश्यकता पनि अहिले छ । पत्रकारिताको बिकास र दायरा बढेसँगै समस्या र चुनौती पनि बढि रहेका छन् । आफ्नो प्रतिकूल समाचार आए सञ्चारकर्मीविरुद्ध लाग्ने अनुकूल आए खुशी हुने हाम्रो समाजको रोग नै हो । सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न सीमा जोडिएका दुवै देशका सुरक्षाकर्मीले अन्यसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाइका साथ गरिएका हुन्छन् । तर, कहिलेकाहिं अनावश्यकरुपमा उनीहरु विवादमा पर्ने गर्दछन् ।
सीमा क्षेत्रमा देखिएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने स्थानीय प्रशासनको मुख्य दायित्व त हो । नियन्त्रणका नाममा कहिलेकाहिं भने, सर्वसाधारण दुख पाउन बाँध्य हुन्छन् ।
यसकारण पनि नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज वा हैरानीमुक्त होस भन्ने तर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्यमा स्थानीय प्रशासन, पत्रकारदेखि नागरिक समाजलाग्नु पर्ने हुन्छ ।
निष्कर्ष :
समग्रमा,दसीमावर्ती क्षेत्रमा गरिने पत्रकारिता अवसर र चुनौतीको समिश्रण हो । यहाँ अन्तर्राष्ट्रिय महत्वका विषयहरूमा काम गर्ने अवसर छ भने सुरक्षा, दबाब, स्रोत अभाव तथा सूचनाको विश्वसनीयता जस्ता चुनौतीहरू पनि उत्तिकै छन् । यस्ता क्षेत्रमा कार्यरत पत्रकारहरूलाई सुरक्षित वातावरण, आवश्यक तालिम, आधुनिक प्रविधि तथा संस्थागत सहयोग उपलब्ध गराउनु अत्यावश्यक छ । यसले मात्र सीमावर्ती पत्रकारितालाई अझ प्रभावकारी, जिम्मेवार र विश्वसनीय बनाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.