सादा जीवन उच्च विचारका धनी डाक्टर पुन पुस्तक बेच्दै महाकालीबाट मेचीसम्म

A notice in Nepali from Mechinagar Ward No. 10

महावीर पुन एक नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रहरूको विकसित ताररहित प्रविधिको प्रयोगमा आफ्नो व्यापक कार्यका लागि प्रसिद्ध एक अभियन्ता हुन्, जसलाई नेपाल वायरलेस नेटवर्किङ परियोजना पनि भनिन्छ । उनी नेपालका बहुचर्चित व्यक्तित्व हुन् उनको कार्यलाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैंकले मान्यता दिएको छ । उनी एक मानवतावादी हुन् जसको कामले धेरै युवाहरूलाई आफ्नै देश फर्काउन र देश विकासको लागि देशको सेवा गर्न प्रेरित गरिरहेको छ ।

वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिएका डाक्टर पुनले गाउँकै एउटा विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरे । पुनलाई बुवाले कक्षा १२ सम्म पढाए । तर आर्थिक अवस्था कमजोर भएका कारण उनले स्नातक गर्न पाएनन् । त्यसपछि झन्डै १३ वर्षसम्म विभिन्न विद्यालयमा पढाए ।

त्यसै क्रममा उनले अमेरिका र यूरोपका विभिन्न विश्व विद्यालयमा आवेदन दिए । ३३ वर्षको उमेरमा अमेरिकाको एक विश्वविद्यालयमा पढ्न आंशिक छात्रवृत्ति पाए । सुरुका दिन त उनलाई आवेदन स्वीकृत नहुँदा पढ्न पाउँदिन भन्ने लागेको थियो रे ।

तर विश्वविद्यालय जान पाइने खबर अचानक सुनेपछि निकै खुसी भएर थप पढाइको लागि अमेरिका हान्निएका थिए । सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरे । पढाइमा निकै मिहिनेत गरे । अनि पढाई सकेर नेपाल फर्किए । स्नातकोत्तरको अध्ययन सकेर २४ वर्षपछि आफ्नै नाङ्गी गाउँ फर्केपछि उनले दिगो शिक्षाको आवश्यकता महसुस गरे । त्यसपछि शुरुमा डाक्टर पुनले हिमाञ्चल उच्च माविको स्थापनाबाट शैक्षिक संस्थाको यात्रा अघि बढाए । कम्प्युटर शिक्षा र आय स्रोत वृद्धिलाई ध्यानमा राखी उनले आफ्नो कार्यक्रम अगाडि बढाउँदै देशलाई विकाशको ज्योतितिर अग्रसर गराउन थाले ।

सन २००१ मा ब्रिटिस ब्रोडकास्ट कर्पोरेसन बीबीसीले उनको गाउँगाउँमा इन्टरनेटको पहुँच पु¥याउने महत्वकाँक्षी योजनालाई विश्व समुदायमाझ पेस गरिदिएको थियो । त्यो वर्ष पुनको जीवनको स्वार्णिम वर्ष रहन गयो । बीबीसीको यस समर्थनबाट युरोप र अमेरिकाबाट विभिन्न सहयोगी दाताहरूले पुनलाई आर्थिक सहयोग गरेका विभिन्न अध्ययनबाट थाहा पाईन्छ । त्यही सहयोगबाट उनले नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट सञ्चालन गर्न सफल भएका थिए ।

पुन ‘इन्टरनेट हल अफ फेम’,’समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोष्टल अवार्ड, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागसेसे पुरस्कार’ जस्ता विभिन्न सम्मानद्वारा सम्मानित भइसकेका छन् । त्यसपछि डाक्टर पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्धेश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको वीरगञ्जमा स्थापना गरेका थिए । उनले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिए ।

ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उनले विश्वास व्यक्त गरेका छन् । यस्तो विशाल योजनालाई मुर्तरुप दिन ठूलो आर्थिक सहयोगको खाँचो हुने भएकाले पुनले नेपाल सरकारको ढोका बारम्बार ढक्ढकाए । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक ७१ वर्षीय डाक्टर महावीर पुन किताब बेच्दै सुदूर पूर्व आईपुगेका छन् ।

वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने उद्देश्यले उनी किताब बेचिरहेका छन् । २०८१ सालको तिहार मनाएर आजभन्दा चारसय ९९ दिनअघि पश्चिम महाकालीको बैतडीबाट शुरु भएको किताब बेच्ने अभियानका क्रममा देश दौडाहमा छन् डाक्टर पुन । यसैक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्रीका लागि उनी यतिखेर झापा आइपुगेका छन् । दुईमहिनादेखि झापाका चोक बजार र गल्ली गल्ली सरकारी कार्यालय, शैक्षिक संस्थामा देखिन्छन् उनी । झापाको विर्तामोड, दमक, बाह्रदशी, भद्रपुर, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उनको किताब किन्ने अभियान सञ्चालन भईसकेको छ ।

भद्रपुरमा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, प्रसिद्ध उद्योगी दिपेश ढकाल, पूर्वनगरप्रमुख जीवनकुमार श्रेष्ठ लगायतले विक्री अभियानको नेतृत्व गरे । झापाका थुप्रै पालिकामा उनको अभियान सम्पन्न भएर भद्रपुरपछि मेचीनगरमा आइपुग्दा मेचीनगरमा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, पूर्व नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइराला किताब किन्न एउटै कार्यक्रममा देखिए । त्यससँगै बालकृष्ण थापा, केवलराम राई, देवेन खरेललगायत थुप्रै युवाहरुको मेचीनगरमा मिहेनत पनि उल्लेखयोग्य देखियो ।

शुक्रबारबाट नेपाल प्रवेशको पूर्वको पहिलोद्वार काँकरभिट्टाका गल्ली गल्लीमा माइकमा कराउँदै किताव बेचिरहेका छन् पुन यतिखेर । उनका विषयमा पढेका र उनलाई बुझेकाहरुले पहिलो पटक उनलाई देख्दा अचम्म नै मान्छन् । विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मानले सम्मानित व्यक्तित्व यसरी सादगी जीवन बिताएर हिँडेको देखेर धेरैलाई सक्कली महावीर पुन नै हुन् की भन्ने अचम्म लाग्न सक्छ । व्यक्ति त उनी अति साधारण हुन् । धेरैले भन्ने गर्छन् ‘सादा जीवन, सरल व्यवहार र उच्चविचार’ तर थोरैले मात्र अपनाउन सक्छन्, यो आदर्श । उनको किताब किन्नेहरु उनीसँग तस्बिर खिचाउने गर्दछन् उनी पनि ती किताबमा रातो मसीले आफ्नो हस्ताक्षर गदैं किताब दिने गर्दछन् ।

मेरो विचारमा त्यस्ता थोरै मध्येमा पर्ने व्यक्ति डाक्टर पुन पनि हुन् । कोही साधन, स्रोत र शक्ति नभएर त्यस्तो हुनु अर्कै कुरा हो तर अवसर र सामथ्र्य भएर पनि सादा जीवन, सरल व्यवहार र उच्च विचारमै रहनु महानता हो। त्यही महानता डाक्टर पुनसँग छ । खुट्टामा पुराना फित्ते चप्पल छ । शीरमा हाते तानमा बुनेको ढाका मैलो पुरानो टोपी । निहुरमुन्टी लगाएर मोवाइलमा घोत्लिरहने, साधारण देखिने टि सर्ट, थोरै दोबारेको सेतो सामान्य पेन्ट उनको बाहिरी रुप । तीन लाख प्रति पुस्तक बेच्ने लक्ष्य राखेका उनले ४३ औं जिल्लाका रुपमा झापा आइपुग्दा हालसम्म दुई लाख ३० हजारभन्दा बढी किताब विक्री भईसकेको र सवै खर्च कटाएर १२ करोड रुपैयाँ जम्मा भएको भन्दै उनले यो पैसा राष्ट्रिय आविष्कार केन्द्रमा खर्च गर्ने बताउँछन् ।

नेपालमा कुल जनसंख्याको ८० प्रतिशत साना किसान रहेको र उनले तीनै किसानलाई लक्षित गरेर कृषि औजार तयार गर्ने बताएका छन् । यो अभियानलाई उनले केवल किताब विक्री गर्ने उद्धेश्य मात्र हो भनेर नबुझिदिन सबैसँग आग्रह समेत गर्दछन् । ‘कारखाना चलाएर सामान बनाएर बेचेर पैसा कमाउने मेरो उद्धेश्य होईन’ उनले हरेक ठाउँ ठाउँ यहि भन्छन, ‘कारखाना चलाएर समाज सेवा गर्ने, साना किसानहरुलाई आवश्यक औजार तयार गर्ने । ’ राष्ट्रिय आविष्कार केन्द्र नामक संस्था खोलेर उनले नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्य राखेका छन् रे । क्षमतावान युवाहरुले उद्योग कलकारखाना खोलेर रोजगारी सिर्जना गर्नुका साथै देशको अर्थतन्त्र मजबुत बनाउन लागून भन्ने उनको ध्येय छ ।

३० वर्षपहिले बन्द भएको कारखाना सञ्चालनमा ल्याएर कृषिमा आमूल परिवर्तन गर्न सकिन्छ । सरकारले रुचि नदेखाएपछि आफैंले अभियानको थालनी गरेको उनको भनाइ छ । डा. पुन सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र युवाहरू बस्न नहुने, देशका लागि आ–आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्ने, कुनै सीप भए रोजगारका लागि आफूकहाँ आउनुपर्ने समेत भन्दै आइरहेका छन् । कृषि औजार स्थापना हुन सके त्यसमा झण्डै छ सय जतिले रोजगारी पाउने र हाल सम्पूर्ण कृषि औजारहरू छिमेकी देश भारत र चीनबाट भित्रिने गरेको उनको दबी छ ।

नेपालमै कृषि औजार कारखाना स्थापना भएमा त्यसले कम्तीमा ६÷७ प्रतिशत मात्रै आयात रोक्न सके पनि त्यो मुलुकका लागि ठूलो उपलब्धि हुनसक्ने डाक्टर पुनको भनाई छ । उनको भनाई सापट लिएर भन्नु पर्दा —‘सारा युवा विदेश पलायन भइरहँदा निराश युवाहरूमा आफ्नो सोचाई परिवर्तन गराउनु र उनीहरूमा प्रेरणा थप्नु यतिखेर अति आवश्यक छ । ’ डा.महावीर पुनको जीवनबाट हामीले धेरै कुरा सिक्न सक्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.