काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक योग्यताको समकक्षता (Equivalency) निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ। त्रिवि पाठ्यक्रम विकास केन्द्रले एक सूचना जारी गर्दै आजैका मितिदेखि समकक्षताका लागि नयाँ आवेदन लिन बन्द गरिएको जनाएको हो।
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ अन्तर्गत ‘विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०’ मा संशोधन भएपछि उच्च शिक्षाको उपाधिको समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोग (UGC) मा सरेको हो। सोही कानुनी व्यवस्था अनुसार २०८३ साउन १ गतेदेखि यो नयाँ नियम लागु गरिएको हो।
त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले विगत तीन दशक (३० वर्ष) देखि विदेशमा अध्ययन गरेर आएका विद्यार्थीहरूलाई समकक्षताको प्रमाणपत्र दिँदै आएको थियो। गत वर्ष भएको कानुनी संशोधनले यो अधिकार आयोगलाई सुम्पिएको हो। अब उप्रान्त समकक्षता सम्बन्धी नयाँ आवेदन र प्रमाणपत्र वितरणका सबै कार्यहरू विश्वविद्यालय अनुदान आयोगमार्फत मात्र सञ्चालन हुनेछन्।


























