२७ पुस, मेचीनगरः विभिन्न व्यक्तिहरुको क्षमता र व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्यले झापाको मेचीनगर —६ काँकरभिट्टामा एकदिने उद्घोषण तालिम सम्पन्न भएको छ । विभिन्न टोल विकास, धार्मिक संस्थाका सचिवलगायत सर्वसाधारणलाई लक्षित गरी स्थानीय मेची नवदुर्गा किर्तन मण्डली परिवारले तालिम आयोजना गरेको हो ।
पूर्व क्षितिज टोल विकास संस्थाका अध्यक्ष भिमप्रसाद संग्रौलाको अध्यक्ष्तामा भएको उद्घाटन सत्रमा बोल्दैं आयोजक संस्थाका संयोजक आचार्य पंण्डित गोपालशरण निरौलाले तालिम पश्चात आफूहरुले आत्मविश्वासका साथै माईक समाएर निर्धक्क भएर बोल्न सक्ने, असल उद्घोषक बन्नका लागि गर्नुपर्ने कुरा र कसरी कार्यक्रम सञ्चालन गरिन्छ भन्ने कुराबारे थाहा पाउने विश्वास व्यक्त गरे । तालिममा सिकेका कुराहरुलाई सहभागीहरुले व्यवहारमा ल्याउनुपर्ने उनले बताए । उद्घोषण तालिमले बोल्ने कलाको विकास गर्न सहयोग पु¥याउने बताए । विभिन्न संघ संस्थामा रहेका सचिव तथा सर्वसाधारणहरुको वाककलाको विकासगर्न र आफूसंग भएको ज्ञान, सिप र क्षमतालाई अभिव्यक्त गर्न सक्ने हिम्मत र बानीको विकास गर्न उद्घोषण तालिम सञ्चालन गरिएको संयोजक निरौलाले बताए ।

कार्यक्रमका अध्यक्ष संग्रौलाले आफ्नो संस्थाले सर्वसाधारणको सिप विकास गर्न विभिन्न तालिमहरुलाई प्राथमितामा दिदैं आएको बताए । अधिकार पाइन्छ भनेर घरमै बसेर वा चुप लागेर नपाईने भन्दैं उनले अधिकार माग्न सकेमात्र पाईने र पाएको उक्त अधिकारलाई सदुपयोग गर्नुपनि जरुरी रहेको बताए । सिप सिक्नु मात्र अवसर नभएर पाएको अवसर र सिपलाई आफ्नो समाज तथा समूहहरुमा लागु गर्नुपर्नेमा उनले जोड दिए ।
गुरुकूलको समूदायिक भवनमा सम्पन्न तालिममा सहभागी २५ जनालाई सूर्याेदय टेलिभिजनमा कार्यरत पत्रकार लक्ष्मी उप्रेतीले सहजीकरण गरेका थिए । पत्रकार उप्रेतीले उद्घोषकको अर्थ, उद्घोषणका क्रममा के गर्न हुने, के नहुने ? कार्यक्रम सञ्चालनका क्रममा लगाउने भेषभूषा तथा उभिने तरीकालगायत विविध विषयमा प्रशिक्षण प्रदान गरेका थिए । तालिम समापनका अवसरमा प्रशिक्षार्थी संस्थाकी कोषाध्यक्ष शान्ता [सावित्रा] प्रसाई आचार्य उद्घोषण तालिमले व्यक्तिको क्षमता अभिवृद्धि र बोल्ने कलाको विकास हुने भन्दै यो सबैले सिक्न जरुरी रहेको बताईन् ।
विभिन्न संसघ संस्थामा क्रियाशील क्षेत्रमा लाग्नेलाई उद्घोषणको पनि महत्वपूर्ण भूमिका हुने र अब बोल्ने मात्र नभई लेख्ने बानीको पनि क्षमता वृद्धि गर्ने बताईन् । मन्दिर व्यवस्थापन समितिका सचिव नरेन्द्र कार्कीले आफूहरुमा लुकेर रहेको प्रतिभा उजागर गर्न यस खालको तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । यसकारण सवैका लागि यस्ता तालिम निकै प्रभावकारी र उपलब्धिमूलक रहेको प्रतिक्रिया दिए । उपासक ब्रजेश शरण ‐सुधिर) पौडेल, भूमिका फूयाँल, प्रज्ञा गिरीले बोलेका थिए । यो तालिम निक्कै लाभदायीः बनेको र यसबाट आफुहरुमा नयाँ ज्ञान, सिपको उर्जा मिलेको उनीहरुले प्रतिक्रिया दिएका थिए ।


























