२७ चैत २०८१ का दिन तेह्रथुमको लालीगुराँस नगरपालिका —१ आरआर गार्डेन तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रबाट उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेश पर्यटन वर्ष, २०८२ को शुभारम्भ गरे ।
‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी प्रदेश पर्यटन वर्ष, २०८२ को नारा । पर्यटन वर्षको शुभारम्भ भएको चारमहिना सकिन अब केही दिनमात्र बाँकी छ । यो अवधिमा कति पर्यटक आए ? के यो बितेको चार महिनाको अवधिमा हामीले अपेक्षाकृत काम गर्न सक्यौं ? यो चार महिनामा भएका गतिविधिलाई एकपटक पछाडी फर्केर हेर्ने हो भने के अबको आठ महिनामा बाँकी उद्धेश्य पूरा गर्न सम्भव छ त ?

बाँकी आठ महिनामा कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्धेश्यसहित अन्य थुप्रै उद्धेश्य पूरा गरिसक्नुपर्ने छ । कोशी प्रदेश सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ मा साँच्चै १५ लाख पर्यटक आउलान् त ? पर्यटनकर्मीसहित निजिक्षेत्र अघि बढ्ने हो भने यो असम्भव भने छैन । तर, यस अघिको चार महिनाका कमिकमजोरी केलाएर यस्ता गल्ती पुनः नदोहोरिने गरी अघि बढ्यौँ भने मात्र सम्भव छ ।
पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले १६ साउनमा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको सभाहलमा बार्षिक समिक्षा गोष्ठीका क्रममा प्रस्तुत गरेको एउटा प्रतिवेदनमा अहिलेसम्म ५८ दशमलव २७ प्रतिशतमात्र प्रगति भएको छ ।
आर्थिक वर्षको अन्तिम चौमासिकमा बजेट प्राप्त भए पनि बर्खाको समय, जताततै रोपाईका कारण जसरी यसको लागि परिचालन गर्नुपर्ने हो त्यसो नहुनुले, यसका लागि गर्नुपर्ने थुप्रै कार्यक्रमहरु मार्गदर्शन पटक पटक संशोधनका गर्नुपर्ने कारण यसका सरोकारवालाहरु रनभुल्लमा परेकाले , भारतीय शहरहरुमा गरिने रोड सो मेला महोत्सवमा खर्च गर्न, सहभागी हुन कानूनी र नीतिगत जटिलताका कारण, प्राविधिक जनशक्तिको अभावका कारणसहित अन्य थुप्रै कारणले यो चार महिनाभित्र गर्ने भनिएका वा अपेक्षाकृत उपलब्धि हासिल गर्न सकिएन होला ।

तर, अबका दिनमा पनि यसैगरी हामी कहिँकतै कुनै कारणले अल्मलियौं भने कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सबै उद्धेश्य पूर्ण हुन सक्दैनन् । कोशी प्रदेश अन्य प्रदेशको तुलनामा पर्यटनकाक्षेत्रमा निक्कै सम्भावना बोकेको प्रदेश पनि हो । नेपालको सबैभन्दा होचो स्थान केचनाकवल समुन्द्र सतहबाट ५८ मिटरको उचाईदेखि ८,८४८ मिटरको उचाईमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथा समेत कोशी प्रदेशमा पर्छ । यी बाहेक विश्वका १० अग्ला हिमालमध्ये आठ हजार मिटरमाथिका पाँच वटा हिमाल कोशी प्रदेशमै छन् । केचनाको नजिकै भीमसेनले किच्चकलाई बध गरिएको स्थान पनि रहेको छ । यहाँबाट कञ्चनजंघा, मकालु र सगरमाथा हिम श्रृङ्खला पनि देख्न सकिन्छ । कोशी प्रदेशलाई मुलुककै पर्यटन ‘हब’ का रुपमा लिन सकिन्छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षजस्ता प्रकृतिक एवम् पाथीभरा, वराहक्षेत्र, रामधुनी, हलेसी, विजयपुर, चौदण्डीगढी, उदयपुरगढी, हिलिहांग, हतुवागढ़ी, बिराट राजाको दरबार, अर्जुनधारा, खुवालुङदेखि फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ माङ्सेबुङ, तिम्बुङ्ग पोखरी, सभापोखरी, गुफापोखरीजस्ता ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरु पनि कोशी प्रदेशभित्र नै पर्दछन भन्ने कुरा कतिलाई थाहा छ ? पोकली, नमस्ते, ह्यात्रुङ झरना, कन्याम, श्रीअन्तु, नाम्जे, पाताले, भेडेटार, हिले, तीनजुरे मिल्के, जलजले, जेफाले आदि उत्कृष्ट पर्यटकीय गन्तव्य कोशीमै पर्छन् भनेर हामीले कतिको प्रचार प्रसार गरेका छौं । सूर्योदय हेर्ने श्रीअन्तु डाँडादेखि सूर्यास्त हेर्ने कोशीटप्पु यही प्रदेशमा छन् ।

मुलुकको पर्यटन प्रवद्र्धन र बिकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनीय भूमिका रहन्छ भन्ने कुरा हरेक सञ्चारमाध्यम र सञ्चारकर्मीले भुल्न हँुदैन । जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ त्यसका लागि सञ्चार माध्यमले विशेष भूमिका खेल्नुपर्छ भन्ने बुझाई पनि हो ।
यी सबै कुराले धनी, कोशी प्रदेशको पूर्वाधार सक्षम हुँदाहुँदै पनि किन हामीले अपेक्षाअनुसार पर्यटक भित्र्याउन सकिरेहका छैनौ ? उनीहरू यहाँ आउन किन चाहिरहेका छैनन्, ? यसको कारण पत्ता लगाएर अघि बढ्नुपर्ने आजको मुख्यः आवश्यकता पनि हो । पर्यटन व्यवसायीहरुकै भनाई सापट लिनुपर्दा कोशी प्रदेशमा पर्यटनमा भएको लगानी अनुरूप प्रतिफल प्राप्त हुन सकेको देखिँदैन । पर्यटनका क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्नका लागि सरकारले पनि अब ढिला गर्नुहँुदैन । यी समस्यालाई चिरेर प्रदेशको पर्यटन क्षेत्रलाई माथि उकास्न के गर्दा हुन्छ ? व्यवसायीका समस्या कसरी सम्बोधन गर्न सकिन्छ ? पर्यटकका समस्या के हुन् र तिनको समाधान के कसरी हुन्छ भनेर लाग्नु नै सबैका लागि हितकर हुन्छ भन्दा फरक नपर्ला । पर्यटनको वास्तविक समस्या के हो ? तिनको समाधानका उपाय के होला ? पर्यटकको चाहना के होला ? के गर्दा प्रदेशको पर्यटनले फड्को मार्न सक्छ भन्ने विषयमा अब पर्यटन व्यवसायीहरुले पनि सरकारको मुख ताकेर बस्नु हुँदैन । व्यवसायीले यसमा उचित रणनीति तयार गर्नुपर्दछ ।
पर्यटनले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग पुर्याउने भएकाले विदेशी पर्यटकलाई गन्तव्यको थलो बनाउन घेरै ढिलो गर्नुहँुदैन् । पर्यटन व्यवसायीलगायत हरेक कोशी प्रदेश वासीले कोशी प्रदेशमा रहेका अनेकौँ पर्यटनको सम्भावनालाई पहिचान गरी सबैतिर प्रचार प्रसारका लागि पनि जुट्नुपर्दछ । हुनत कोशी प्रदेश पर्यटन वर्ष, २०८२ का लागि प्रदेश सरकारले ८२ पर्यटकीय गन्तव्यको सूची यसअघि नै तयार गरिसकेको छ । पर्यटन विकासका अथाह सम्भाव्यता बोकेको भए पनि नेपालमा अपेक्षित रुपमा यसको विकास हुन नसक्दा निक्कै समस्याहरु पनि खडा भए । पर्यटनका क्षेत्रमा अनगिन्ती अवसर भएपनि यो सँगै चुनौती पनि छन् । यसैका कारण पछिल्लो समय थुप्रै पर्यटन व्यवसायीहरुले यो व्यवसायबाट हात धोए । कति विदेशिए, कतिले वैकल्पिक पेशा रोजे ।
नेपालको आर्थिक विकासका लागि पर्यटनको ठूलो महत्व छ । विश्वमा नै पर्यटनले एउटा प्रमुख उद्योगको रूप लिँदै गएको छ । विभिन्न देशहरूमा उत्पादन वा आयात निर्यात हुने पदार्थहरू वा सामाजिक सेवाको एउटा ठूलो भाग पर्यटनको क्षेत्रमा खर्च हुन्छ र पर्यटनबाट लाखौं मानिसहरूलाई रोजगारी पनि प्राप्त हुन्छ । तर, पछिल्लो समय यो व्यवसाय नै संकटमा परेको छ । हुनत हामी पनि एउटा कुरामा अल्मलिएका छौ । हाम्रा पर्यटक को हुन् ? तेस्राे देशबाट आउने नागरिक कि, मुख्य पर्यटक भारतीय मात्र हुन् ? कि आन्तरिक पर्यटक पनि हुन् ? कि पासपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने पर्यटक हुन् ? यसमा अब हामी अल्मलिन रहन जरुरी छैन ।
पर्यटक आन्तरिक पनि हुन् र वाह्य पनि हुन् भनेर हामीले बुझ्न जरुरी छ । विदेशबाट आएर होस वा नेपालकै जुनसुकै भूःभागबाट आएर कोशी प्रदेशका विभिन्न धार्मिक एवम् पर्यटकीय क्षेत्रको भ्रमण गर्ने सवै हाम्रा लागि पर्यटक हुन । उनीहरुलाई अतिथि देवोः भवका रुपमा स्वागत तथा सम्मान गर्नुपर्दछ भन्ने कुरा हामी कसैले पनि भुल्न हुँदैन । पर्यटक भन्नाले घुम्ने ब्यक्ति बुझिन्छ भने यो पर्यटक भन्ने शब्द सन १७७२ मा प्रचलनमा आएको हो । ‘पर्यटन’ भन्ने शब्दले घुमाइलाई बुझाउँछ, अर्थात् व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ ।
पर्यटन क्षेत्रको सम्भावना र चुनौती पनि छन् । नेपालमा यस्ता थुप्रै स्थान छन्, जसका बारेमा स्वयम नेपालीहरूलाई पनि जानकारी छैन । पर्यटकीय स्थलका रूपमा काठमाडौं उपत्यका, पोखरा, चितवनजस्ता सीमित स्थानलाई मात्र लिने गरेका छौँ । यी सहित नेपालमा धेरै सुन्दर र राम्रा ठाउँ पनि छन भनेर तीब्र प्रचार प्रसार गर्नुपर्ने, ओझेलमा परेका त्यस्ता स्थानको बारेमा खोजी गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने जरूरी छ ।

























