📌 मुख्य बुँदाहरू:
- दक्षिण भारतीय बहुचर्चित फिल्म ‘जेलर २’ हलमा प्रदर्शनरत रहँदै ओटिटी रिलिज मिति सार्वजनिक गरिएको छ।
- फिल्म अमेजन प्राइम भिडिओमार्फत आगामी नोभेम्बर १२ (कात्तिक २६) देखि स्ट्रिमिङ हुने भएको छ।
- तमि फिल्म इतिहासमै सर्वाधिक कमाईको रेकर्ड बनाएको यस फिल्मले विश्वव्यापी रूपमा ८२० करोड भारूभन्दा बढी ग्रस संकलन गरिसकेको छ।
हलमा अझै पनि दर्शकको उपस्थिति र बलियो व्यापार भइरहेका बेला दक्षिण भारतीय बहुचर्चित फिल्म ‘जेलर २’ को ओटिटी प्रदर्शन मिति सार्वजनिक गरिएको छ। नेपालका हलहरूमा समेत प्रदर्शन भइरहेको यस फिल्मले बक्स अफिसमा कीर्तिमान कायम गरिरहेका छन्।
डिजिटल स्ट्रिमिङ प्लेटफर्म अमेजन प्राइम भिडिओले आगामी नोभेम्बर १२ (कात्तिक २६) देखि फिल्म स्ट्रिमिङ गर्ने औपचारिक घोषणा गरेको छ। भारतसहित विश्वका २४० भन्दा बढी देश तथा क्षेत्रका दर्शकले घरमै बसेर यो फिल्म हेर्न सक्नेछन्। निर्माताका अनुसार फिल्म तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड गरी पाँचवटा विभिन्न भाषामा उपलब्ध हुनेछ।
रेकर्ड ब्रेक कमाई र तारिफ
नेल्सन दिलीपकुमारको निर्देशनमा तयार भएको ‘जेलर २’ मा प्रमुख अभिनेता रजनीकान्त पुनः टाइगर मुथुवेल पाण्डियनको भूमिकामा देखिएका छन्। फिल्ममा रजनीकान्तसँगै मोहनलाल, ऋतिक रोशन, विजय सेतुपति, एसजे सूर्या, शिवराजकुमार, मिथुन चक्रवर्ती, विद्या बालन, राम्या कृष्णन र योगी बाबुलगायतका कलाकारहरूको विशेष भूमिका रहेको छ।
फिल्म व्यापारसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने पोर्टल सैकनिल्कको रिपोर्ट अनुसार प्रदर्शनको २२ औं दिनसम्म फिल्मले भारतमा मात्रै ५४५.३० करोड भारू ग्रस कमाई गरिसकेको छ। यसको भारतीय नेट कलेक्सन ४६६.२२ करोड भारू पुगेको छ भने विश्वव्यापी ग्रस संकलन ८२० करोड भारू नाघेको छ। तमिल फिल्म उद्योगको इतिहासमा यो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ।





















