९ पुस, मेचीनगर : नेपाल पत्रकार महासंघ झापा शाखाले आफ्नो ३७औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । बुधबार स्थापना दिवसका अवसरमा रक्तदान र महासंघ शाखाको विर्तामोडस्थित कार्यालयमा राष्ट्रिय तथा महासंघको झण्डा झण्डोत्तोलन तथा संक्षिप्त सभा कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
नेपाल रेडक्रस सोसाइटि झापा शाखाको प्राविधिक सहयोग र नेपाल ब्लड डोनर्स सोसाइटिको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रविक्रम विमलीले समेत रक्तदान गरेका थिए । यो उनको १२०औँ पटक रक्तदान हो ।
झापामा रगतको अभाव देखिएको हुँदा मानवीय सेवामा टेवा पु¥याउने उद्देश्यले आफ्नो स्थापना दिवसलाई पत्रकार महासंघ झापाले रक्तदान कार्यक्रम गरेर मनाएको अध्यक्ष एकराज गिरीले बताए । कार्यक्रममा जनपद, स—शस्त्र प्रहरी, जेन–जी यूनाइटेड मुभमेन्ट नेपाल झापा, पत्रकार, विद्यार्थीलगायत उद्योगी व्यवसायी समेतले रक्तदान गरेका थिए ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित अतिथि सदनमा भएको उद्घाटन कार्यक्रममा बोल्दैं प्रमुख अतिथि ढकालले ‘दानमध्ये महादान’ रक्तदानको आयोजना गरी पत्रकार महासंघले मानवताको सेवामा महत्वपूर्ण पूण्य कार्य गरेको भन्दै प्रशंसा गरे ।उनले रगतको अभाव अन्त्यका लागि स्वस्थ्य नागरिकले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिए । एक प्रिन्ट रगतले चारजना मानिसले नयाँ जीवन पाउने उनको भनाई थियो ।
स्थापना दिवसकै अवसरमा महासंघको बिर्तामोडस्थित कार्यालय भवनमा झण्डोत्तोलन पनि गरिएको छ । महासंघका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्ष कृष्ण हुमागाईँ,अध्यक्ष एकराज गिरी, पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा राष्ट्रिय झण्डा र नेपाल पत्रकार महासंघको झण्डा झण्डोत्तोलन गरिएको हो । कार्यक्रममा महासंघका उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत मन्तव्य र सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।






















