📌 मुख्य बुँदाहरू:
- मासु खरिद गर्दादेखि नै स्वच्छता, ताजगी र अस्वाभाविक गन्ध भए नभएकोमा विशेष ध्यान दिनुपर्ने।
- छिट्टै उपभोग गर्ने मासुलाई ४ डिग्री सेल्सियस वा सोभन्दा कम तापक्रममा राम्ररी छोपेर फ्रिजको तल्लो तहमा राख्नुपर्ने।
- लामो समयसम्म सञ्चित गर्नुपर्ने मासुलाई माइनस १८ डिग्री सेल्सियस वा सोभन्दा कम तापक्रममा फ्रिजरमा सुरक्षित बन्द गरेर राख्नुपर्ने।
दसैं भन्नासाथ परिवार तथा आफन्तको जमघट, टीकाको रौनक र विभिन्न परिकारका स्वाद लिने पर्वका रूपमा लिइन्छ। दसैंको चहलपहलसँगै घरमा खसी काट्ने, मासु भाग लगाउने, पकाउने र पाहुनाका लागि सञ्चित गरेर राख्ने चलन पनि व्यापक छ। तर, मासु भण्डारण गर्ने तरिका नमिल्दा चाडपर्वको खुसीसँगै खाद्यजन्य रोगको जोखिम पनि उत्तिकै निम्तने गर्दछ। त्यसैले दसैंभरि स्वादिलो मासुको मज्जा लिँदै परिवारको स्वास्थ्य सुरक्षाका लागि होटल पौवाका सेफ बेगबहादुर माझी र नवीन पाण्डेले महत्वपूर्ण १० व्यावहारिक सुझाव सार्वजनिक गरेका छन्।
सेफद्वयका अनुसार मासु सुरक्षित राख्ने प्रक्रिया यसको खरिद गर्ने ठाउँबाटै सुरु हुन्छ। बजारबाट मासु किन्दा सफਾ ठाउँमा काटिएको, ताजा र कुनै पनि अस्वाभाविक गन्ध नभएको छान्नुपर्छ। मासु काट्न प्रयोग हुने चक्कु, काट्ने स्थान र घरमा ल्याएपछि भण्डारण गर्ने भाँडासमेत पूर्ण रूपमा सफा हुनुपर्छ। घर ल्याइसकेपछि मासुलाई लामो समयसम्म कोठाको तापक्रममा खुला राख्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
काँचो मासुको उचित भण्डारण र फ्रिजिङ
छिट्टै पकाएर खाने काँचो मासुलाई चार डिग्री सेल्सियस वा सोभन्दा कम तापक्रममा राम्रोसँग छोपेर राख्नुपर्छ। मासु सफਾ, बन्द भाँडा वा प्याकेटमा राख्दा यसले अन्य खानेकुरासँग प्रत्यक्ष सम्पर्क हुन पाउँदैन। साथै, काँचो मासुलाई सधैं फ्रिजको तल्लो तहमा राख्नुपर्छ ताकि त्यसबाट निस्कने रस वा झोल अन्य खानेकुरामा नचुहियोस्।
यदि दसैंमा एकैपटक धेरै मात्रामा मासु काटिएको छ र केही दिनपछि मात्र उपभोग गर्ने हो भने त्यसलाई सुरक्षित तरिकाले फ्रिजरमा राख्नुपर्छ। फ्रिजरमा राख्दा मासुलाई उपयुक्त किसिमले प्याकेट वा भाँडामा राम्ररी बन्द गर्नुपर्छ र फ्रिजरको तापक्रम माइनस १८ डिग्री सेल्सियस वा सोभन्दा कम हुनुपर्छ। आवश्यकताअनुसार भाग छुट्याएर राख्दा पटकपटक सम्पूर्ण मासु पगाल्नुपर्ने झन्झटबाट पनि बच्न सकिन्छ।




















