📌 मुख्य बुँदाहरू:
- मासु किन्दा सफा ठाउँमा काटिएको, ताजा र अस्वाभाविक गन्ध नभएको छान्नुपर्छ।
- काँचो मासु फ्रिजको तल्लो तहमा बन्द भाँडामा राख्नुपर्छ जसले अन्य खाद्यवस्तुमा रस चुहिनबाट बचाउँछ।
- लामो समय राख्नुपरेमा फ्रिजरको तापक्रम माइनस १८ डिग्री सेल्सियस वा सोभन्दा कम हुनुपर्छ।
दसैं भन्नासाथ परिवार तथा आफन्तको जमघट, टीकाको रौनक र विभिन्न परिकारका साथै मासुको स्वाद लिने प्रमुख अवसर हो। चाडपर्वको चहलपहलसँगै घरमा खसी काट्ने, मासु भाग लगाउने, पकाउने र पाहुनाका लागि सञ्चित गरेर राख्ने चलन व्यापक छ। तर, दसैंभरि स्वादिलो मासुको मज्जा लिँदा स्वास्थ्यको ख्याल नगरेमा खाद्यजन्य रोगको गम्भीर जोखिम निम्तिन सक्ने विज्ञहरू बताउँछन्।
यसैबीच, बडादसैंमा मासुको स्वादसँगै परिवारको स्वास्थ्यलाई सुरक्षित राख्न होटल पौवाका सेफद्वय बेगबहादुर माझी र नवीन पाण्डेले १० वटा व्यावहारिक सुझाव सार्वजनिक गरेका छन्। उनीहरूका अनुसार मासु सुरक्षित राख्ने प्रक्रिया खरिद गर्ने ठाउँबाटै सुरु हुन्छ।
खरिद र सामान्य भण्डारणमा सावधानी
मासु सुरक्षित राख्न सुरुमा नै स्वच्छतामा विशेष ध्यान दिनुपर्छ। सफा ठाउँमा काटिएको, ताजा र कुनै पनि अस्वाभाविक गन्ध नभएको मासु छान्नुपर्छ। मासु काट्ने चक्कु, प्रयोग हुने ठाउँ र भण्डारण गर्ने भाँडासमेत पूर्ण रूपमा सफा हुनुपर्छ। घर ल्याएपछि मासुलाई लामो समयसम्म कोठाको तापक्रममा खुला राख्नु हुँदैन।
छिट्टै पकाएर खाने मासुलाई चार डिग्री सेल्सियस वा सोभन्दा कम तापक्रममा राम्रोसँग ढाकेर राख्नुपर्छ। मासु सफा, बन्द भाँडा वा प्याकेटमा राख्दा अन्य खानेकुरासँग सम्पर्क हुन पाउँदैन। साथै, काँचो मासुलाई फ्रिजको तल्लो तहमा राख्नुपर्छ, ताकि त्यसबाट निस्कने रस अन्य खानेकुरामा नचुहियोस्।
फ्रिजमा लामो समय राख्ने तरिका
दसैंमा एकैपटक धेरै मासु काटिने भएकाले केही दिनपछि मात्र पकाउने मासुलाई प्याकेट वा भाँडामा राम्रोसँग बन्द गरी फ्रिजरमा राख्नुपर्छ। फ्रिजरको तापक्रम माइनस १८ डिग्री सेल्सियस वा सोभन्दा कम हुनुपर्छ। आवश्यकताअनुसार भाग छुट्याएर राख्दा पटकपटक सबै मासु पगाल्नुपर्ने झन्झट र जोखिम हुँदैन।




















