काठमाडौँ : मेटा कम्पनीले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरहरूका लागि आधिकारिक रूपमा कन्टेन्ट मनिटाइजेसन कार्यक्रम सुरु गरेको छ। यसले नेपाली प्रयोगकर्ताहरूलाई आफ्ना सिर्जनाबाट आम्दानी गर्ने नयाँ अवसर प्रदान गरेको छ। कम्पनीले इमेलमार्फत प्रयोगकर्ताहरूलाई यो सेवा आधिकारिक रूपमा नेपालमा सुरु भएको जानकारी दिन थालेको हो। प्रविधि विज्ञ राजेन्द्र अर्यालले मेटा टिमसँग सम्पर्क गर्दा कम्पनीले यो जानकारीको पुष्टि गरेको छ।
मेटाले आफ्नो आधिकारिक जवाफमा भनेको छ, “हो, नेपाली कन्टेन्ट क्रिएटरले फेसबुकको कन्टेन्ट मनिटाइजेसनबाट प्राप्त हुने रकमका लागि आफ्नो स्थानीय बैंक खाता प्रयोग गर्न सक्छन्। किनभने मेटाले यो सुविधा आधिकारिक रूपमा सुरु गरेको छ र नेपाली बैंक खातामा सिधै भुक्तानी पठाउन थालेको छ।” यससँगै, अब मनिटाइजेसनका लागि योग्य नेपाली प्रयोगकर्ताले आफ्नो कमाइ सिधै नेपालको बैंक खातामा प्राप्त गर्न सक्नेछन्। यसका लागि पेआउट अकाउन्ट सेटअप गर्दा देशमा ‘नेपाल’ छनोट गरी आफ्नो बैंक खाताको विवरण भर्नुपर्ने हुन्छ।
अर्यालका अनुसार, यसअघि पनि केही नेपाली क्रिएटरले विभिन्न माध्यमबाट नेपाली बैंक खाता जोडेर आम्दानी गर्दै आएका थिए, तर अब कम्पनीले नै औपचारिक रूपमा यो सेवा सुरु गरेपछि प्रक्रिया निकै सजिलो र आधिकारिक भएको छ।
मनिटाइजेसनका नयाँ मापदण्ड
अगस्ट ३१ देखि मेटाले यसअघिका ‘इनस्ट्रिम एड्स’, ‘एड्स अन रिल्स’ र ‘पर्फमेन्स बोनस’ जस्ता मनिटाइजेसन कार्यक्रमहरूलाई ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’ अन्तर्गत गाभेको छ। अहिलेलाई मेटाले योग्य क्रिएटरलाई आफैँ छनोट गरिरहेको छ, जसलाई ‘इन्भाइट वन्ली’ भनिएको छ। इन्भिटेसन पाउने क्रिएटरले मेटा बिजनेस सुइट वा प्रोफेसनल ड्यासबोर्डबाट पेआउट सेटअप गर्न सक्छन्। अहिलेसम्म इन्भिटेसन नपाएका प्रयोगकर्ताले कम्पनीको वेबसाइटमा गएर अनुरोध गर्न सक्छन्।
कन्टेन्ट मनिटाइजेसनका लागि क्रिएटरले पार्टनर मनिटाइजेसन पोलिसी र कन्टेन्ट मनिटाइजेसन पोलिसी पूर्ण रूपमा पालना गरेको हुनुपर्छ। कुनै पनि नीति उल्लङ्घन नगरी निरन्तर काम गरिरहेका क्रिएटरलाई मेटाले रकम उपलब्ध गराउँछ। भिडिओबाट आम्दानी गर्नका लागि भिडिओ कम्तीमा १५ सेकेन्डको हुनुपर्छ। यस्तै, यदि कुनै कन्टेन्टमा कपिराइट लागेको, अयोग्य भाषा प्रयोग गरिएको वा अनाधिकृत रूपमा इन्गेजमेन्ट बढाएको पाइएमा त्यस्ता पेजले आम्दानी गर्न सक्दैनन्। यदि अरुको कन्टेन्ट प्रयोग गरिएको छ र तेस्रो पक्षले दाबी गरेमा त्यसबाट हुने आम्दानी तेस्रो पक्षले पाउन सक्छ।
आफ्नो पेजको योग्यता कसरी जाँच्ने?
मोबाइलमा आफ्नो फेसबुक पेजको प्रोफेसनल ड्यासबोर्डमा गएर मनिटाइजेसनमा जानुहोस् र कन्टेन्ट मनिटाइजेसन अप्सन छान्नुहोस्। त्यसपछि सर्तहरू स्वीकार गरेर भुक्तानीको विवरण भर्न सकिन्छ। कम्प्युटरमा पनि मेटा बिजनेस सुइटमा गएर यही प्रक्रिया अपनाउन सकिन्छ।


























