रोशनराज
७ बैशाख, पानीट्याँकी [पश्चिम बंगाल] भारतमा हुन गइरहेको विधानसभा चुनावका कारण नेपाल र भारतको ‐काँकरभिट्टा—पानीट्याँकी ) सीमानाका ७२ घण्टा बन्द हुने भएको छ । विधानसभा चुनावलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन नेपालसँग जोडिएका दार्जिलिङका सबै सीमा नाका बन्द गरिएको छ । काँकरभिट्टा पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ ।
भारतको पश्चिम बंगाल राज्यमा हुने विधानसभा चुनावको मतदान अवधिमा नेपाल–भारत सीमानाका ७२ घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्जिलिङले जारी गरेको आदेशमा उल्लेख छ । दार्जिलिङ जिल्ला प्रशासन अधिकारी एवम् जिल्ला निर्वाचन अधिकृत हरिशंकर पनिक्करले भारतीय नागरिक सुरक्षा संहिता २०२३ को धारा १६३[२]अनुसार आदेश जारी गर्दै मानिस र सवारी साधनको आवतजावतमा नियन्त्रण गरिएको जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय दार्जिलिङले जारी गरेको आदेशअनुसार नेपाल र बंगलादेशसँग जोडिएका स्थल सीमा मार्गहरू आज -[२० अप्रिल] साँझ ६ बजेदेखि बन्द हुने भएको छ । उक्त प्रतिबन्ध मतदान सम्पन्न नभएसम्म लागू रहने जनाइएको छ । यसैबीच, भारतको पश्चिमबंगाल राज्यसँग सिमा जोडिएको झापाको काँकरभिट्टा र इलामको पशुपतिनगर सिमानाका ७२ घण्टाका लागि बन्द गरीने भएको हो । दार्जिलिङ जिल्लाअन्तर्गत पर्ने पाँच निर्वाचन क्षेत्रका मतदाताहरूलाई भने आवश्यक कागजातका आधारमा मतदान अवधिभित्र जिल्ला प्रवेश गर्न छुट दिइने जनाइएको छ ।
विधानसभाको चुनाव २३ अप्रिल २०२६ मा हुने हुदैंछ । स्थानीय प्रशासनले शान्तिपूर्ण र व्यवस्थित मतदान सुनिश्चित गर्न यस्तो कदम चालेको जनाएको छ । यद्यपि, केही अत्यावश्यक अवस्थाका लागि छुट दिइएको छ । आपतकालीन स्वास्थ्य सेवा आवश्यक परेका व्यक्तिहरूलाई सीमा पार गर्न दिइनेछ भने वैध कागजात भएका पर्यटक तथा भारतीय नागरिकलाई सम्बन्धित प्रक्रिया पूरा गरी आवतजावत गर्न अनुमति दिइनेछ ।

त्यस्तै, अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी साधनलाई कडाइका साथ जाँच गरी सञ्चालन गर्न दिइनेछ । निर्वाचन आयोग भारतद्वारा घोषित पश्चिम बंगाल विधानसभाको निर्वाचनलाई लक्षित गर्दै पश्चिम बंगालसँग सिमा जोडिएको अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । नेपालसँग सीमा जोडिएका भारतीय नाका बनद्य गर्ने विषयमा भने नेपालतर्फ कुनै छलफल नभए पनि जानकारीका लागि पत्र प्राप्त भएको र त्यसैका आधारमा आफूहरुले सर्वसाधाणलाई जानकारी गराईएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जानकारी दिए ।



























