अमेरिका र इरानबिच प्रारम्भिक सम्झौता भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको छ। सम्झौताको सकारात्मक प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्दै तीन महिनाकै न्यून स्तरमा पुगेको हो।
विभिन्न अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार मङ्गलवार ब्रेन्ट क्रुड तेलको मूल्य २.४ प्रतिशतले घटेर प्रतिब्यारेल ८१.१५ अमेरिकी डलरमा झरेको छ। कारोबारका क्रममा यो प्रतिब्यारेल ८०.८९ डलरसम्म पुगेको थियो, जुन गत मार्च ४ पछिको सबैभन्दा कम स्तर हो। त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) क्रुडको मूल्य पनि २.८ प्रतिशतले घटेर प्रतिब्यारेल ७८.५३ डलरमा पुगेको छ। कारोबारका क्रममा डब्लुटिआई क्रुड ७८.२७ डलरसम्म झरेको थियो, जुन मार्च १० पछिको न्यूनतम स्तर हो।
ट्रम्पको घोषणा र होर्मुज जलडमरूको प्रभाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार अमेरिका र इरानबिचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित ऐतिहासिक अन्तरिम सम्झौता भएको घोषणा गर्नुभएको थियो। उक्त घोषणाको भोलिपल्ट अर्थात् सोमबार मात्रै तेलको मूल्यमा करिब ५ प्रतिशतको तीव्र गिरावट देखिएको थियो।
विश्वकै प्रमुख तेल आपूर्ति मार्ग मानिने होर्मुज जलडमरू (Strait of Hormuz) पुनः सहज रूपमा खुल्ने सम्भावना बढेपछि विश्वव्यापी तेल आपूर्तिमा अब कुनै अवरोध नआउने अपेक्षा बजारमा बढेको छ। यही सकारात्मक संकेतका कारण लगानीकर्ताहरूको विश्वास बढेसँगै तेलको मूल्यमा थप दबाब परेको र मूल्य निरन्तर ओरालो लागेको आर्थिक विश्लेषकहरूले बताएका छन्।

























