नेपाली पैसा
काठमाडौं : चीन सन् २०२० मा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने देश बनेको छ । वैदेशिक लगानी भित्र्याउने मामिलामा चीनले अमेरिकालाई उछिनेको हो । संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनले आइतबार प्रकाशन गरेको रिपोर्ट अनुसार गत वर्ष चिनियाँ अर्थतन्त्रमा १ खर्ब ६३ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । सोही अवधिमा अमेरिकामा भने १ खर्ब ३४ अर्ब डलर मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
यता, सन् २०१९ मा भने अमेरिकामा २ खर्ब ५१ अर्ब डलर र चीनमा १ खर्ब ४० अर्ब डलर वैदेशिक लगानी भित्रिएको थियो । कोभिड महामारीका बीच पनि चीनमा विदेशी लगानीकर्ताको आकर्षण निकै बढेको देखिन्छ । तर समग्रमा कोरोना महामारीका कारण विश्वव्यापीरुपमा भने वैदेशिक लगानीमा गिरावट आएको रिपोर्टले देखाएको छ ।
समग्रमा सन् २०२० मा प्रत्यक्ष वैदेशिक लगानी ४२% ले घटेर ८ खर्ब ५९ अर्ब डलरमा सीमित भएको छ । जुन सन् २००९ को आर्थिक मन्दीको समयमा भन्दा पनि ३०% कम हो । कुनै एक देशका व्यक्ति तथा व्यवसायिक संस्थाले अर्को देशमा गरेको लगानीका आधारमा वैदेशिक लगानी मापन गरिएको हुन्छ । गत वर्ष वैदेशिक लगानी भित्र्याउने मामिलामा विकासशील राष्ट्रहरु भन्दा विकसित राष्ट्रहरु धेरै मारमा परेका छन् ।

अमेरिकामा वैदेशिक लगानी ४९% ले घटेको छ । जुन विकसित राष्ट्रहरुको औसत गिरावट भन्दा केही थोरै हो । विकसित राष्ट्रहरुमा सन् २०२० मा औसत ६९% ले वैदेशिक लगानी घटेको छ । यता, चीनसहित विकाशील राष्ट्रहरुको वैदेशिक लगानी औसतमा १२% ले मात्र घटेको छ ।
तर चीनलाई मात्र हेर्ने हो भने उसले वैदेशिक लगानी ४% ले बढाएको छ । रिपोर्टका अनुसार युरोपियन युनियनमा वैदेशिक लगानी दुई तिहाईले घटेको छ । यसमध्ये बलायतमा गत वर्ष वैदेशिक लगानी शून्यजस्तै भएको छ । कोरोना भाइरस महामारीले बेलायतमा धेरै असर गरेका कारण लगानी शून्य भएको हो ।

























