लक्ष्मी उप्रेती
७ साउन, मेचीनगर : भारतीय माछाको अवैध आयात नियन्त्रण नहुँदा नेपाली माछा किसान मारमा परेका छन् । नेपाल भारत खुला सीमावर्ती क्षेत्रको बाटो हुँदै अवैध रूपमा भारतीय माछा निर्बाध रूपमा नेपाली सीमावर्ती बजारमा बिक्रीवितरण हुँदै आएको छ ।
भारतीय माछा नेपाली बजारमा बिक्री हुँदा नेपाली माछा किसानलाई मर्का परेको माछा किसानको गुनासो छ ।
आज झापाको मेचीनगर-६ काँकरभिट्टामा एकीकृत जाँच इकाईबाट २६ हजार रुपैयाँ बढीका ८३ केजी नेपालमा प्रतिबन्धित विभिन्न जातका भारतीय माछा बरामद गरी नष्ट गरेको छ ।
इकाईमा चेकजाँचमा खटिएका इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. काँकरभिट्टा र मेची भन्सार कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले झोलामा हाली लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा गोप्य सूचनाका आधारमा २६ हजार पाँचसय ६० रुपैयाँ मुल्य बराबरका विभिन्न जातका माछा बरामद गरी सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा.काँकरभिट्टा परिसरमा विभिन्न व्यक्तिहरुको रोहवरमा खाल्डोमा हालेर नष्ट गरेको हो ।

झापाको बिर्तामोड नगरपालिकाले भारतबाट आयातित मरेका माछा बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले स्वास्थ्य जोखिम, गुणस्तरहीन माछा र स्थानीय उत्पादन संरक्षणलाई निर्णयको आधार बनाएको जनाएको छ । प्रहरी प्रशासनले भारतीय माछा नेपाल ल्याउन कडाइ गरे पनि अवैध बाटो हुँदै नेपाली बजारसम्म आउने गरेको छ ।
नेपालका विभिन्न सीमा नाका तथा बजारहरूबाट भारतबाट अवैध रूपमा फर्मालिन (विषाक्त रसायन) हालेर ल्याइएका माछाहरू प्रहरी, प्रशासन र स्थानीय निकायको संयुक्त टोलीद्वारा समय–समयमा बरामद गरी नष्ट गरिँदै आएका छन् । यस्ता माछा खुला सिमानाका कारण अवैध रूपमा भित्रिने गरेका छन् । माछालाई लामो समयसम्म ताजा देखाउन र कुहिनबाट बचाउन प्रयोग हुने फर्मालिन मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छ । यसले मानव स्वास्थ्यमा अस र पर्ने चिकित्सकहरुको भनाई छ ।
भारतबाट अवैध रूपमा माछा आउन थालेपछि नेपाली माछा किसानको आग्रहमा प्रहरीले चेकजाँच बढाएर माछा आयातमा कडाइ गरे पनि नेपाली बजारमा भने विभिन्न जातको माछा बिक्री हुँदै आएको छ । खास गरी रातिको समयमा भारतीय माछाको नेपालतर्फ अवैध रूपमा आयात हुने गरेको बताईएको छ । सीमावर्ती क्षेत्रका नेपाली माछापालक किसानले भारतीय माछाको अवैध आयातले आफूहरूको माछा बिक्री नहुने समस्या रहेकाले मर्कामा परेको बताउने गरेका छन् । अवैध रूपमा भित्रिने भारतीय माछाले स्थानीय माछा किसान र व्यवसायी प्रत्यक्ष मारमा परेको बताउँछन् । सस्तो भारतीय माछाका कारण स्थानीय उत्पादन बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ ।


























