२५ चैत, मेचीनगर : झापाको मेचीनगरमा ‘क्रस बोर्डर टुरिजम कनक्ेलव २०२६’ हुने भएको छ । यसको तयारी पुरा भएको बताइएको छ । पर्यटन व्यवसायको प्रवद्र्धन विस्तारमा नेपाल तथा भारतका पर्यटन व्यवसायीहरुबीच संस्थागत सम्बन्ध बलियो बनाउने उद्धेश्यसहित आगामी चैत २७ गते [अप्रिल १० तारीख] झापाको मेचीनगर- ०८ स्थित होटल मेची क्राउनमा एकदिने कार्यक्रम हुन लागेको हो ।
नेपाल पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रमलाई पर्यटन कार्यालय काँकरभिट्टाको सहकार्य , ट्राभल मञ्च झापा नेपाल र हिमालयन हस्पिटालिटी टुरिजम डेभलेपमेन्ट नेटवर्क एचएचटिडीएनको समन्वयमा कार्यक्रम हुने ट्राभल मञ्च झापा नेपाल एवम् नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममको एसोसिएट पार्टनरको रुपमा मेरो मेचीनगर डट कम अनलाईलन, पर्यटन पत्रकार मञ्च झापा, होटन मेची क्राउन, झापा साईक्लिङ क्लब झापा र होमस्टे महासंघ नेपाल रहेका छन् ।
बी टु बी सेसनमा पर्यटकका लागि पर्यटकियस्थलको गन्तव्य, विभिन्न विषयमा प्रस्तुतीकरण, व्यवसायिक परिचयलगायतका कार्यक्रम हुने छन् भने …क्रस बोर्डर टुरिजम’का विषयमा सम्बन्धित व्यक्तिबीच प्यानल डिस्कस तय गरीएको पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरज कट्टेलले बताए । प्यानल डिस्कसमा ‘क्रस वोडर टुरिजमका अवसर र चूनौती’ लगायतका बारेमा सहभागीले आ -आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।
नेपाल तथा भारत सरकारबीच सीमाक्षेत्रको पर्यटनको सहजीकरणमा अझ बढि भूमिका खेल्नुपर्ने आवश्यकता आयोजकले औल्याएको छ । यस्ता कार्यक्रमले नेपालमा भारतीय पर्यटकका लागि नयाँ गन्तव्य खुल्ने र नेपाली पर्यटकका लागि भारतसँग समेत ढोका खुल्ने ट्राभल मञ्च झापा नेपाल एवम् नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठले विश्वास व्यक्त गरे ।
दुवैक्षेत्र नेपालको कोशी प्रदेश र भारतको पूर्वी हिमालयनक्षेत्र जस्तै सिक्किम, दार्जिलिङ्गलाई समेटेर संयुक्त टुरिजम प्याकेजहरु बनाउन र प्रवद्र्धन गर्न सजिलो हुने उनको भनाई छ । उनले यसले पर्यटकहरुलाई फराकिलो र आर्कषक भ्रमण विकल्पहरु प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नेपालीलाई भारत जान तथा भारतीयलाई नेपाल आउन भिसाको व्यवस्था नभएकै कारण दुवै देशका नागरिकलाई आउजाउ गर्न सहज छ । खुला सीमाको फाईदा हो यो । तर, यसलाई अझ बढी सहज बनाउँदै पर्यटकका रुपमा नेपाल आउने नागरिकलाई सामन्य नागरिकहरुभन्दा फरक रुपले हेर्नुपर्ने नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेश महासचिव नवीन खरेलले बताए । सीमापार पर्यटन सहजीकरण सदस्यहरुलाई एक अर्काको क्षेत्रमा पर्यटकहरु ल्याउन लैजान र भ्रमण सञ्चालन गर्न सहज हुने पर्यटन व्यवसायीहरुले बताए । नियम, अनुमती, प्रक्रिया र अन्य जानकारी आदानप्रदानले सहजता ल्याउने उनीहरुको भनाई थियो ।


























