चितवन । चितवनमा जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर स्थानीयले गरेको आन्दोलन मत्थर पार्न मृतक भण्डारीको घर नजिकै कर्फ्यू लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशअनुसार आज २२ गते साँझ ७ः३० बजेदेखि २३ गत बेलुकी ७ः३० बजेसम्म कर्फ्यू जारी रहने छ । कर्फ्यूका क्रममा लामोदुरीका सवारीसाधन सञ्चालनबाहेक कुनै पनि व्यक्तिले आवातजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृतिबेगर बाहिर निस्किन नपाउने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ ।
गत असार ११ गतेदेखि वेपत्ता सुजिताको शव २० गते घर नजिकैको सामुदायिक वनमा फेला परेको थियो । उनको शवलाई पोष्टमार्टमका लागि लिएर आउने क्रममा स्थानीयले राप्ती–३ झुरझुरेमा करिब ८ घण्टा सडक अवरुद्ध गरेका थिए ।
घटनाको निष्पक्ष छानविन हुनुपर्ने, दोषिलाई कडा कारवाही हुनुपर्ने मागसहित आज दिउँसो ३ बजेदेखि राजमार्गमै बसेर स्थानीय र अधिकारकर्मीले नाराबाजी गरेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाईते भएका छन् ।

























