चतरा ।सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा एम्बुलेन्सबाट गाँजा तस्करी हुने गरेको पाइएको छ।
धनकुटाबाट सप्तकोसी नदी हुँदै तस्करी गरी चतरा ल्याएर एम्बुलेन्समा लोड गर्दै गरेको अवस्थामा सुनसरी प्रहरीले एम्बुलेन्ससहित गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सप्तकोसी किनारमा मे १ च ५१९ नम्बरको एम्बुलेन्समा गाँजा लोड गर्दै गरेको अवस्थामा एम्बुलेन्स र २६६ केजी ४०० ग्राम गाँजा बरामद गरिएको हो ।
प्रहरीले गाँजा र एम्बुलेन्स बरामद गरेपनि तस्करीमा संलग्न व्यक्ति र एम्बुलेन्स चालक फरार भएका छन् ।
डीएसपी भण्डारीले चालक र गाँजा तस्करी गर्ने व्यक्तिको पहिचान भएकाले उनीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए।

















