विराटनगर । प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परीक्षार्थीसहित ६ जना विराटनगरबाट पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, धनकुटा शहीदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई र २७ वर्षीय राजकुमार राई पक्राउ परेका हुन् । प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरमा चलिरहेको परीक्षाको अन्तरवार्ताका क्रममा आर्थिक चलखेल गरेर नक्कली परीक्षार्थी बनेको पुष्टि भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तालिम केन्द्रले बुधबार पक्राउ गरेर ६ जनालाई नै आवश्यक कारबाहीका लागि मोरङ प्रहरीको जिम्मा लगाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सूर्यले प्रहरी जवानमा भर्ना गराइदिने आश्वासन दिएर संगम र सागरसँग एक लाख १८ रूपैयाँका दरले तथा सरोजसँग दुई लाख रूपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘खपाङसँग भने पैसा लिने तयारी हुँदै रहेछ,’ उनले भने, ‘प्रहरीमा जागिर लगाइदिने र परीक्षार्थी तयार पार्ने काम भने राजकुमारले गरेको पुष्टि भयो ।’
पक्राउ परेकाहरुविरुद्ध शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा कारबाही अघि बढाउन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


























