मेचीनगर । मोरङको बेलबारीबाट प्रहरीले लागुऔषधसहित चार जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ का २५ वर्षीय रिकल कोइराला, सुजन गुरुङ, २४ वर्षीय केशव गुरुङ, र २७ वर्षीय विशाल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक (इन्सपेक्टर) मिलन थापाले जानकारी दिए ।
यस्तै, सुनसरीको धरानबाट लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने धरान–८ का ३५ बर्षीय बिमल भुजेल र धरान–१५ का ४१ बर्षीय आईतराज लिम्बु हुन् ।
प्रहरीले उनीहरुको साथबाट तीन ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डि.सी. बरामद गरेको छ । यी दुवै जनालाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यसैगरी दमक –५ घर भई शिवसतासी नगरपालिका–९ बस्ने २२ बर्षीय निगम लिम्बु पक्राउ परेका छन् ।
उनको साथबाट प्रहरीले लागुऔषध डाइजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद गरेको छ । उनलाई झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनी मे ६ प ७५६९ नम्बरको स्कुटरमा थिए ।उनीविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

























