प्रयोग, परिवर्तन र परिमार्जन मानवीय गुण हो : साहित्यकार भुवन सुब्बा

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाली साहित्यमा धेरै सशक्त नारी हस्ताक्षर छन् जसमध्ये एक हुन् भुवन सुब्बा । माता कलावती र पिता नारायणध्वज सुब्बाको सुपुत्रीका रुपमा बर्माको मेम्बोमा २०१५ साल कार्तिक ११ गते जन्मनु भएकी सुब्बा मेचीनगरमा रहेको काँकरभिट्टामा माध्यमिक विद्यालयमा लामो समय अध्यापन गराई सेवा निवृत भएकी छिन् ।नेपाली साहित्यको गहन अध्ययन गर्ने र थोरै कलम चलाउने सुब्बाको पहिलो कृतिको रुपमा २०६७ सालमा ” सेती नदी” कथा सङ्ग्रह प्रकाशित भएको थियो । थुप्रै साहित्यिक पत्रीकाहरुमा कथा,कविता लगयातका रचनाहरु प्रकाशित भएको छ।सुब्बा नेपाल स्काउट , महिला जनचेतना केन्द्र मेचीनगर, मखमली महिला साकोस,सुसेली साहित्यिक परिवार,भानु साहित्यिक प्रतिष्ठान मेचीनगरमा आबद्द छिन् ।समाजसेवामा समेत सकृय हुनुभएकी सुब्बालाई थुप्रै संघसंस्थाहरुले सम्मानित गरिसकेको छ ।
आज तिनै प्रतीभाकी धनी भुवन सुब्बासँग नेपाली साहित्यमा केन्द्रित रहेर मेरोमेचीनगर डट कम वार्ता प्रस्तुत गर्दछ ।
(साहित्य वार्ताकार : सिएन गौतम )

अहिलेको समय कसरी व्यथित गर्दैहुनुहुन्छ ?

निवृत्त जीवनको आनन्दमा छु । साथीभाइ, इष्ट मित्र अनि सामाजिक कार्यमा समय विताइ रहेछु साथै म बाँचुञ्जेल मैले दिनसक्ने र गर्नसक्ने काममा म लागिरहन्छु ।नयाँ पुस्ताका राम्रा कुरा ग्रहण गर्ने र उनीहरुका कमीकमजोरीलाई सच्याउन लगाउने काममा पनि लागिरहन्छु ।

साहित्य के हो ?

यसको उत्तर त्यति सरल छैन तर पनि साहित्यमा समाजको, संस्कृतिको वस्तुस्थिति प्रतिबिम्बित भइरहेको हुन्छ, मानसिकता क्रियाशील हुन्छ । भाषाको प्रकृतिअनुसार अभिव्यक्ति, अभिव्यञ्जनाको शैली हो ,ढाँचा हो, छन्द हो ।

तपाईं लेखनमा कसरी प्रेरित हुनुभयो ?

मलाई लेखनमा नजानिदो पाराले प्रेरित गर्ने व्यक्ति मेरो ठूलो दाजु चन्द्रध्वज लिम्बू हुनुहुन्छ । त्यसपछिका मेरा प्रेरणाका श्रोतहरू भनेको मेरो पाठ्य पुस्तक, मेरो विद्यालय, मेरा शिक्षकहरू हुनुहुन्छ ।

तपाईंको लेखनको उद्देश्य के हो ?

आफूले देखे भोगेका यथार्थ घटनाहरुले प्रभावित मनलाई लेखनका माध्यमले उद्घाटित गर्नु मेरो लेखनको उद्देश्य हो ।


साहित्य सरल हुनुपर्छ कि जटील ?

साहित्य सबैको पहुँचमा हुनु पर्छ, सरल । तर साहित्य स्तरीय पनि हुनु पर्छ भन्ने लाग्छ । हुन त मोहन कोइरालाको ‘फर्सीको जरा’ भन्ने कविता जटील भएरै होला अहिलेसम्म पनि चर्चामा छ । त्यहाँ पनि सिम्पल र कम्प्लेक्स बीच विवाद उत्पन्न छ । जे होस् साहित्य सरल भएको राम्रो ।

शिक्षक साहित्यको जानकार हुन कति जरुरी छ ?

शिक्षक भनेको आदर्श व्यक्तित्व हो । आफ्नो विषयमा आदर्शवान हुन जरूरी नै हुन्छ । त्यसको लागि उसले समाज बुझ्नुपर्छ । समाज बुझ्न उसले साहित्यको अध्ययन गर्न जरुरी छ ।

अहिलेको साहित्य लेखनलाई कसरी हेर्नुहुन्छ ?

प्रयोग, परिवर्तन र परिमार्जन मानवीय गुण हो । साहित्यमा पनि धेरै प्रयोगहरू हुँदै आएका छन् । युगको माग हो । धेरै उच्चकोटीका सिर्जनाहरू आइरहेका छन् । यसको भविष्य उज्यालो छ ।

साहित्यकार या अरु कलाकर्मी हुन् । मोफसल भन्दा काठमाडौं केन्द्रित हुन मन पराउछन् किन होला ?

त्यसै पनि राजधानी सबै सुविधाले सम्पन्न, प्रगतिको केन्द्र । स्वाभाविक हो राजधानी प्रति आकर्षित हुनु । तर मोफसलले पनि कतिपय क्षेत्रमा आफ्नो पहिचान कायम राखेको छ यो बिर्सनु हुन्न ।

तपाईंलाई औधी मन परेका साहित्यकारको नाम लिनुपर्यो भने कुन कुन लिनुहुन्छ ?

लक्ष्मीप्रसाद देवकोटा र पारिजात मेरा अत्यन्तै प्रीय साहित्यकारहरू हुन् । अरु पनि धेरै छन् । उहाँहरुको योगदानको सधै उच्च सम्मान गर्छु ।

तपाईंले जीवन कालमा भोग्नुभएको खुसी र दुःखको क्षण कुन हो ?

जीवन भनेको सुखदुखको मेल रहेछ र पनि २०३८ सालमा शिक्षण पेशामा आबद्ध हुँदा सबै भन्दा खुशी अनि २०४५ सालमा मेरो आमाको स्वर्गारोण हुँदा सबै भन्दा धेरै दुःखी क्षण हो । अरु पनि छन्, भदा शशी सुब्बाको निधन हुदा पनि म धेरै दुखी भएको थिएँ ।

साहित्यकारलाई प्रविधिसँग नजिक हुनु कतिको आवश्यक छ ?

अत्यन्तै आवश्यक छ । विकासको गतिसँग तालमेल मिलाउन सकिएन भने पछि परिन्छ । यस मानेमा साहित्यिक क्षेत्र पनि अछुतो छैन । प्रविधिविना अबको समयको केही अर्थ छैन । हाम्रा आदरणीय गुरु चूडामणि रेग्मी आजभोलि आफूलाई प्रविधिसँग जोडेर अत्यन्तै सक्रिय रहदै आउनु भएको सुखद यथार्थलाई हामीले हृदयदेखि नै सराहना गरेका छौं ।

सामाजिक सञ्जालमा कतिको आफ्ना रचनाहरू पोप्ट गर्नुहुन्छ ?

सामाजिक सन्जालमा अत्यन्तै कम मात्र रचना पोष्ट गर्छु । पोष्ट गरेका रचनाहरु चोरी पनि हुन्छन् भन्ने सुनेको छु ।

तपाईं नारी स्रष्टा पनि हुनुहुन्छ । वर्तमान आम नेपाली महिलाको अवस्था कस्तो छ ?

वर्तमान अवस्थामा नारीको चेतनाको स्तर विगतमा भन्दा बढेको अवस्था छ । अहिले महिला आफैंमा सक्षम छन् । महिला अधिकारकर्मीहरुको पनि बाक्लो उपस्थिति रहेको हुँदा पहिलाको जस्तो दमित भएर बाँच्नुपर्ने अवस्था छैन ।

अन्त्यमा आउँदै गरेका नयाँ साहित्यमा रुची भएकाहरुलाई के सुझाव दिन चाहनुहुन्छ र आफ्ना साथीभाइहरुलाई के भन्न चाहनुहुन्छ ? ‘

लेख्ने अभ्यास गरीरहनु पर्छ, लेखेका कुराहरूलाई संग्रह गरेर राख्ने बानी गर्नु पर्छ, सबै भन्दा महत्त्वपूर्ण कुरा अध्ययनशील हुनु पर्छ । अनि साहित्यक चर्चा परिचर्चामा सहभागी भईरहनु पर्छ । साथै मेरा साथीभाइ, इष्ट मित्र, मेरो विद्यालय,शिक्षकसाथीहरू र मेरोमेचीनगर डट कमलाई विशेष आभार प्रकट गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.