मेचीनगर | झण्डै ६ महहिनाअघिदेखि सुनशान बनेको नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा बसपार्क सोमबार सवैखाले सवारी साधनले भरिभराउ थियो । लामो तथा छोटीदुरी चल्ने सवै बसका काउण्टरहरु खुला थिए । बसपार्कमा बसहरु भएपनि तथा काउण्टरहरु खोलेपनि कर्मचारी सवै फूर्सुदिला ।
लकडाउनका कारण प्रत्यक्ष मारमा परेको यातायात क्षेत्र सोमवारदेखि अलि चहलपहल देखियो । नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले पहिलो पटक चैत ११ गते लकडाउन घोषणा गर्यो । सरकारले लामो तथा छोटोदुरीका सवै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएपछि प्रत्येक व्यवसायीहरुले आ-आफ्ना सवारी साधन घर र ग्यारेजमा थन्क्याए । सरकारको निर्णय अनुसार सोमबारदेखि लामो तथा छोटोदुरीका सवारी साधन चल्ने भनेपछि सवैले आ आफ्ना सवारी साधन बसपार्कमा निकाले पनि यात्रु अभावमा खाली खाली नै गन्तव्यतर्फ जानुपरेको व्यवसायीहरुको भनाई छ ।
महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष मेचीनगरका उपाध्यक्ष मोहन रिजाल बसपार्कमा सवारी साधन भएपनि यात्रु नभएका कारण खाली खाली जानुपर्दा थप आर्थिक व्ययभार व्यहोर्नुपरेको बताउनुहुन्छ । ‘ ६ महिनापछि गाडी सञ्चालन गर्न राजयले अनुमती त दियो’ रिजालले भन्नुभयो —‘ तर, भारतलगायत अन्य ठाउँबाट आउने यात्रुको निर्भरमा चलेका यहाँका सवारी साधन नाकाबन्द भएका कारण यात्रु अभावमा खाली खाली नै कुद्नु परेको छ । हरेक ठाउँका काउण्टर खुला छन् एउटा टिकट काट्न पाइएको छैन् । अहिले गाडी सञ्चालन गर्दा त्यसको दैनिक खर्च यातायात व्यवसायीहरुले घरबाट ल्याएर दिनुपर्ने अवस्था छ । यसकारण राज्यले भारतलगायत अन्य ठाउाँबट आएका मानिसहरुले पीसीआर परीक्षण गरेको भए सहजरुपमा बसपार्क प्रवेश गरी टिकट काटेर आफ्नो इच्छाले गाडी चढेर गन्तव्य पुग्ने वाताबरण सिर्जना गर्नुपर्यो ।’
सवारी साधन खुल्ने भएपनि विहानैदेखि बुकिङ् काउण्टर खुला गरेपनि दिनभरीमा एक ÷दुईजना यात्रुका बाहेक अरु कसैको टिकट गर्न नपाएको पूर्व मेची बस व्यवसायी प्रालिका कर्मचारी एवम् मजदुर नेता डिल्ली केसीको भनाई छ ।
केसीले भन्नुभयो —‘गाडीहरु आजबाट खुलेका छन् । तर, अहिलेसम्म सवै गाडी खाली खाली जादैछन् । यात्रु नै छैनन् । यसले गर्दा यातायात व्यवसायीहरुलाई थप समस्या पर्ने गरेको छ । ’
६ महिनासम्म ग्यारेर घरमा थन्क्याएका धेरै सवारी साधन कामै नलाग्ने अवस्था छन् । कसैको इञ्जिनमा खराव छ कसैको टायरमा अहिले हामीले बसपार्कमा गाडी निकाल्दा कम्तिमा एउटा बसमा १ लेख डेढलाख रुपैयाँ खर्च गरी मर्मत गरी निकालेका छौ । तर यात्रु नभएका कारण बस निकाल्नुको कुनै अर्थ छैन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनि प्रालिका कर्मचारी रोशन रञ्जितकार गाडीको अवस्था हेर्नकै लागिमात्र व्यवसायीले सडकमा गाडी गुडाएको बताउनुहुन्छ । लामो समयदेखि सुदुरपुर्वको बसपार्कदेखि सुदुरपश्चिमका विभिन्न ठाउँसम्म चल्ने सवारी चलाउदैँ आउनुभएका चालक गोविन्द राउत दाङ्ग जाने तयारीमा हुनुहुन्छ । तर यात्रु नभएकै कारण उपनि चिन्तित हुनुहुन्छ । ६ महिनापछि गाडी निकालेको भएपनि अहिले यात्रु नभएका कारण चुपचाप बस्नु परेको गुनासो उहाँको छ ।
काँकरभिट्टा बसवार्क नाका भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको नाका हो । अधिकाँश भारतलगायत अन्य देशबाट आएका यात्रुहरुले यस वसपार्कबाट चल्ने सवारी साधन प्रयोग गर्ने गरेका छन् । नोवल कोरोना भाइरस कोभिड १९ का कारण अहिले सीमाबाट हुने आवतजावत ठप्प छ । नोवल कोरोना भाइरस कोभिड १९ का कारण यातायातक्षेत्रको लागानी जोखीममा परेको भन्दैं यातायातसँग सम्बद्घ संघ संस्थाहरुले चिन्ता समेत व्यक्त गरेका छन् । यातायात व्यवसायी तथा मजदुर प्रमुख प्रतिनिधिहरुले अन्य व्यवसायको तुलनामा यातायात व्यवसाय प्रत्यक्ष मारमा परेको भन्दैं सरकारसँग उचित व्यवस्थापनाक लागि पहल गरिदिन समेत सम्बन्धित पक्षसँग आग्रह गरे ।
भारतलगायत अन्य मुलुकबाट नेपाल आउने हरेकलाई काँकरभिट्टा माविको खेलमैदानमा रहेको होल्डिङ सेन्टरमा लगेर राख्ने गरिन्छ । उनीहरुको पीसीआर रिपोर्ट आएपछि मात्र सम्बन्धित पालिकाको सिफारीसमा उनीहरुलाई त्यसतर्फ पठाइन्छ । त्यसोगर्दा धेरैले आफै सवारी साधन रिजर्भ लैजाने गरेका कारण पनि बसपार्कमा यात्रुको चहलपहल पातलो भएको सम्बन्धित व्यवसायीहरुको भनाई छ । सरकारले सवारी साधन सञ्चालनमात्र गरेर हुदैंन ती सवारी साधनका लागि आवश्यक यात्रुहरुलाई सरल र सहजरुपमा बसपार्कसम्म आइपुग्ने वाताबरण तयार गर्नुपर्दछ ।