११ भदौ, काठमाडौं : नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे नेपाललाई समयमै पूर्वसूचना नदिएको भन्ने आरोपलाई चीनले अस्वीकार गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले ती आरोपहरूलाई भ्रामक, असत्य र फेक न्युज भन्दै आधिकारिक स्पष्टीकरण सार्वजनिक गरेको हो।
दूतावासका अनुसार चीनमाथि लगाइएका दुई प्रमुख आरोप—नेपाललाई पूर्वचेतावनी नदिएका कारण ठूलो मानवीय क्षति भएको र चीनतर्फ बनेको प्राकृतिक बाँध भत्किँदा नेपालमा ठूलो क्षति पुगेको—दुवै निराधार छन्।
चिनियाँ पक्षको दाबीअनुसार २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ भूकम्प वा भूकम्पसरहको कम्पनसँगै हिमपहिरो गएको थियो। त्यसपछि आएको विशाल पहिरोले रसुवागढी–केरुङ सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ मानवीय तथा भौतिक क्षति पुर्याएको तथा केही व्यक्ति अझै बेपत्ता रहेको जनाएको छ।
दूतावासले विपद्को संवेदनशील समयमा एकअर्कामाथि दोषारोपण गर्नु समाधान नभएको उल्लेख गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा नेपाल र चीनबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।
स्पष्टीकरणको अन्त्यमा दूतावासले सन्देश दिएको छ, “आरोपले समस्या समाधान गर्दैन, सहकार्यले जीवन बचाउँछ।”


























