निषेधाज्ञ पूर्णरुपमा पालना गर्न नगरवासीमा आग्रह

७ साउन , मेचीनगर :  नोवल कोरोना भाइरस कोभिड १९ नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न मेचीनगर नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ ।

बिहीबार मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकमा नगरप्रमुख विमल आचार्यले पछिल्लो समय कोभिड १९ को संक्रमण र मृत्युदर बढेको भन्दैं नगरवासीलाई जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा पूर्णरुपमा पालना र सुरक्षा मापदण्ड अप्नाउन आग्रह गर्नुभएको थियो ।

प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकी समेत सहभागी बैठकमा समितिका संयोजक समेत रहनु भएका नगरप्रमुख आचार्यले जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयनतर्फ लाग्नसमेत सुरक्षाकर्मी, विभिन्न संघ संस्था, विभिन्न राजनीतिक दल लगयातका प्रमुख प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो । पछिल्लो अभिलेख अनुसार कोभिड १९ को दोस्रो लहर शुरु भएयता मेचीनगर नगरपालिकामा मात्रै ३९ जनाको मृत्यु भएको छ । साउन ६ गतेसम्म नगरमा कोरोनाकै कारण १३ महिला र २६ जना पुरुष गरी ३९ जनाको मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड फोकल पर्सन सबिता सापकोटाले जानकारी दिनु भयो ।

तत्कालै नगरक्षेत्रमा पूर्णरुपमा लकडाउन र सील गर्ने कुनै योजना नरहे पनि आवश्यक परे नगरपालिकाले नगरमा लकडाउन तथा सील गर्न सक्ने संकेत उहाँले बैठकमा दिनुभयो । नगरपालिकाका स्वास्थ्यकर्मी, कोभिड १९ का फोकल पर्सन, कोभिड १९ नियन्त्रण र रोकथामका लागि बनेको कार्यदल, सचिवालयलाई नगरका हरेक वडामा कोभिड १९ को अवस्था र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा नगरपािलकालाई जानकारी गराउन भन्दैं उहाँले एम्बुलेन्स, शव वाहनलाई तयारी अवस्थामा राख्न समेत सम्बन्धित पक्षलाई जानकारी गराउनुभएको छ । भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुनः तीव्ररुपमा फैलिएका बेला नेपालतर्फ संक्रमण फैलन नदिन कोभिड १९ नियन्त्रण र रोकथामका लागि नेपाल प्रवेश पुर्वीद्वार काँकरभिट्टा नाकाहुँदै आवतजावतमा कडाई गर्न पनि नगरप्रमुख आचार्यले जोड दिनुभयो ।

वैठकमा कोभिड १९ संक्रमण नियन्त्रणका लागि नगरबाट हाल सम्म भएका प्रयासहरुका बारेमा जानकारी गराइएको थियो । कोभिड १९ संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको निषेधाज्ञा बमोजिम स्वास्थ्य सुरक्षणका लागि तोकिएका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न सबै सरोकारवाला निकायहरुबाट समन्वय सहकार्य गर्ने साथै नगर क्षेत्रमा कोभिड १९ सक्रमण नियन्त्रणका लागि निम्नानुसार ब्यवस्था मिलाउन सुझाव दिने, सचेतनामूलक प्रचार प्रसारलाई थप प्रभावकारी बनाउन अनलाइन संचार माध्यम, एफ. एम, रेडियो मार्फत तथा माइकिङ्ग गर्ने, वडा स्तरीय कोभिड १९ संक्रमण नियन्त्रण समन्वय समितिलाई प्रभावकारी परिचालनको व्यवस्था मिलाउने, हाल भइरहेको एक्स–रे सेवा, एम्बुलेन्स सेवा संचालन तथा संक्रमितहरुलाई औषधी वितरण कार्यलाई थप समन्वय गरी अझ प्रभावकारी बनाउने निर्णय बैठकले गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

यसैगरी, मेची उद्योग वाणिज्य संघ, सुरक्षा निकायहरु मार्फत कोभिड संक्रमण रोकथाम नियन्त्रणका लागि भइरहेको प्रचार प्रसारलाई थप प्रभावकारी बनाउने, सामाजिक सुरक्षा भत्ता वितरण, बजार संचालन लगायत अन्य भिडभाड हुने स्थानहरुबाट हुनसक्ने संभावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न गराउन वडा समितिहरुले समन्वय एवं सहजीकरणको व्यवस्था मिलाउने, नगरको प्रवेश नाकामा थप सतकर्ताका उपायहरु कार्यान्वयन गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्ने, कोभिड संक्रमण परीक्षणका लागि भइरहेको एन्टिजेन टेस्ट, पिसीआर परीक्षणको दायरालाई बढाउने व्यवस्था मिलाउने र कोभिड १९ संक्रमण नियन्त्रणका लागि सबै सरोकावाला पक्षहरु बीच थप प्रभावकारी समन्वय एवम सहकार्य गर्ने निर्णय वैठकले गरेको छ ।

बैठकमा उपप्रमुख मीना पोखरेल उप्रेतीले सार्वजनिक सभा समारोह धार्मिक लगायत मृत्यु संस्कारमा समेत अनावश्यक भीडभाड नगर्न नगरवासीलाई आग्रह गदैं नगरभित्र साप्ताहिकरुपमा लाग्ने हाट बजार र नगरका मुख्यः व्यापारिक केन्द्र मानिएका बजारहरुलाई व्यवस्थापन गर्नका लागि उद्योग वाणिज्य संघ सहित अन्य व्यापारिक प्रतिष्ठानहरुसँग सहकार्य र समन्वय गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने, मास्क नलगाउनेलाई संक्रमण रोग ऐन बमोजिम कारवाही गर्ने वा कारवाहीका लागि सिफरीस गर्ने, सीमानाकालाई व्यवस्थित गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने र सीमानाका वारिपारी गर्न निरुत्साहित गर्ने वैठमकमा उहाँले विचार राख्नुभयो ।
नगरपालिकाको तथ्याङ्क अनुसार मेचीनगरको वडा नं. १० मा सबैभन्दा बढी ८ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । त्यस्तै कोरोनाकै कारण वडा नं. ९ मा ६ जनाको मृत्यु भएको छ भने वडा नं. ६ मा ५ जनाको मृत्यु भएको छ ।

वैठकमा नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, मेचीनगर वडानम्बर ४ का वडाध्यक्ष तथा कोभिड संक्रमण नियन्त्रण कार्यदल संयोजक नवीन वराल, वडानम्बर ५ का वडाध्यक्ष योगेन थापा, वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ग,वडानम्बर १० वडाध्यक्ष सुवेशकुमार पानेरु, वडानम्बर ११ का वडाध्यक्ष सन्तोष मेचे, कार्यपालिका सदस्य कृष्ण कनाल, स्वास्थ्य शाखा प्रमुख रामनारायण यादव, स्वास्थ्य शाखा कोभिड फोकल पर्सन सविता सापकोटा, मेची उद्योगा वाणिज्य संघका वाणिज्य उपाध्यक्ष कल्याण खड्का, सचिव रविचन्द्र नेपाल, नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखा अध्यक्ष कुसुम कोइराला, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिलसिंह दाहाल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाका प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई लगायतको सहभागीता रहेको थियो ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.