७ साउन, काँकरभिट्टा : काठमाडौ -खेवाङ (ताप्लेजुङ) हातेमालाे समाज झापा शाखाले मेचीनगर- ६ काँकरभिट्टा निवासी सुभाखर (मिलन) दाहाललाई सम्मान गरेकाे छ । दाहाल निवासमा समाजकाे झापा शाखाले आयाेजना गरेकाे सम्मान कार्यक्रममा सम्मानित दाहाललाई नगद ५ हजार रूपैयाँ र सम्मान पत्र प्रदान गरिएकाे थियाे ।
शाखा संयाेजक यमनाथ दाहालकाे सभापतित्वमा भएकाे कार्यक्रममा समाजका केन्द्रीय सदस्य अधिवक्ता नारायणप्रसाद चाैलागाईँले नगदसहित सम्मान पत्र प्रदान गर्नुभएकाे थियाे । ताप्लेजुङ जिल्लाकाे खेवाङ- ३ मा जन्मनु भएका दाहाल तीनदशक अघिदेखि झापाकाे मेचीनगर-६ काँकरभिट्टामा बसाेबास गर्दै आउनु भएकाे छ । उहाँले विगतमा हाेटललगायत विभिन्न व्यवसाय सञ्चालन गर्दै आए पनि अहिले मनि चेञ्जर व्यवसाय गर्दै आउनु भएकाे छ ।
केहिदिनदेखि उहाँ अस्वस्थ रहेका कारण घरमै स्वास्थ्य लाभ गरिरहनु भएकाे छ । कार्यक्रममा केन्द्रीय सदस्य चाैलागाईँले सम्मानित दाहालले समाजमा पुर्याउनु भएकाे याेगदानकाे चर्चा गर्नुभयाे । दाहालले समाजमा गरेकाे सेवा आउने पुस्ताका लागि एउटा पाठ हुने धारणा राख्नु भएकाे थियाे । उहाँले समाजका हरेक ज्येष्ठ सदस्य नयाँ पुस्ताका लागि अभिभावक भएकाले उनीहरूप्रति आदर मान सम्मान गर्नु सवैकाे कर्तव्य रहेकाे बताउनुभयाे । कार्यक्रममा समाजका झापा सचिव एवम् नेकपा एमालेका नेता लक्ष्मीकुमार चाैलागाईँ, पुर्व केन्द्रीय महासचिव जितेन्द्र श्रेष्ठलगायत केन्द्रीय र जिल्लातहका पदाधिकारीकाे सहभागिता रहेकाे थियाे ।