२८ कात्तिक, मेचीनगर : राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले जब हाम्रो राजनीति, अभियान र कार्यक्रमले लक्षित समुहहरुलाई कुनै युवा वा आम जनतालाई उस्को जीवनमा उस्ले महशुस गर्न सक्ने खुशीको परिवर्तन ल्याउँन सक्दैंन तब सम्म कसैले पनि राजनीति गर्नुको अर्थ नरहने बताउनुभएको छ ।
आइतबार झापाको मेचीनगर—६ काँकरभिट्टामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गदैं अध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । उहाँले हरेक राजनीतिक पार्टीले आफ्ना हक, हित अधिकारको सम्बोधन गर्छ कि गर्दैैन् ? गर्छ भने कसरी गर्छ भन्ने हरेक युवाको मन मनमा रहेको स्पष्ट पार्दै अध्यक्ष पौडेलले हरेक युवा आफ्नो जीवनलाई संगठनको माध्यमबाट समाज र राष्ट्रिय निर्माणको बाटोमा समाहित भएर अघि बढीरहेको स्पष्ट पार्नुभयो ।
यसकारण पनि अब हरेक युवाको जीवनमा कुनै किसिमको उत्साह उर्जा अथवा कुनै परिवर्तन वा फरक अनुभूति दिन सकेनौ भने झण्डा बोक्नु वा कुनै पार्टीमा लागेर राजनीति गर्नुको कुनै अर्थ नरहने उहाँले स्पष्ट पार्नुभयो ।
त्यसले गर्दा अब हरेक कार्यक्रमहरु जनतामुखी र लक्षित समूहसँग हरेक अभियानहरु केन्द्रित हुने विचार राख्नुभयो । उनीहरुको जीवनमा कुनै महशुस गर्ने र नयाँ अनुभूति प्रदान गर्न सक्ने गरीको अभियान तय गर्नुपर्ने अध्यक्ष पौडेलले बताउनुभयो । त्यसको निम्ति अब केवल भाषणमा बोलेर मात्र चर्का र ठूला राजनीतिक, जटिल, घुमाउँरो सैद्घान्तिक र वैचारिक कुराहरु मात्र पोखेर कुनै राजनीति परिवर्तन नआउने उहाँले दावी गर्नुभयो । अब व्यवहारिकरुपमा हरेक युवाको जीवनमा ल्याउन सक्ने परिवर्तनका निम्ती हरेक नेताले चाल्नुपर्ने कदमहरु के हुन् यो विषयमा केन्द्रित हुनुपर्ने उहाँको जोड थियो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा भएको कार्यक्रममा बोल्दैं उहाँले अहिले नेकपा एमाले विभिन्न शक्तिको चौतर्फी घेरामा परेको स्पष्ट पादैं सरकारमा रहे पनि नरहेपनि नेकपा एमालेलाई कुनै फरक नपर्ने दाबी गर्नुभयो । अहिले नेकपा एमाले तथा उस्को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालमा हरेक जनता र युवाहरुको आर्कषण बढेको भन्दैं अध्यक्ष पौडेलले पार्टी र संगठनलाई रचनात्मक र सामाजिक सेवाका गतिविधिमा लाग्न सुझाँव दिनुभयो ।
आम नागरिकले कल्पना नै नगरेका हरेक विकास निर्माणका काम पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले गरेको र त्यसबाट अत्तालिएर विभिन्न शक्तिहरुले एमालेको सरकार गिराएको दाबी गर्नुभयो ।
क्रमिक विकास प्रक्रियामा रहेका हरेक विकास निर्माणका कामलाई पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले तीव्रगतिमा विकास गरेका कारण अन्य शक्तिहरुलाई पाच्य नभएपछि एमालेलाई घेराबन्दीमा पारेको उहाँको भनाई थियो ।

जसरी चीन, भियतनाम, सिंगापुरलगायतका देशमा विकासका काम तीव्ररुपमा भईरहेका छन् नेपालमा पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले त्यसरी नै अघि बढाईएको उहाँको भनाई थियो । तर, एमाले सरकारमा बसे पनि नबसे पनि कुनै फरक नपर्ने र हरेक नेपाली जनताको प्रिय पार्टी भएको उहाँले बताउनुभयो । अहिले एमालेमा आबद्घ कुनै पनि नेता कार्यकर्ताको मनोवल नगिरेको अझै उच्च भएको उहाँको भनाई थियो ।
संघका मेचीनगर कमिटी अध्यक्ष सरोज मेहराले उद्घटान सत्रको सभापतित्व गदैं राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मेचीनगरक्षेत्रमा नेकपा एमाले राजनीतिक हैसियतमा १ नमबर भएपनि नगर प्रमुख फरक दलको हुदाँ पार्टीले लिएको सबै लक्ष्य पुरा हुन नसकेको, यस नगरमा खास गरी प्राकृतिक दोहनका विषयमा जनताबाटै ठूलै गुनासो आए पनि मातृपार्टीबाट कुनै सुनुवाई नगरेको प्रतिवेदनमा उल्लेख छ । देशमा लोकतन्त्र गणतन्त्र आए पछि नेताहरुको अवस्था परिवर्तन भएपनि जनताको अवस्था जस्ताको तस्तै रहेको, नयाँ संविधान प्राप्त भए पनि रोजगारीको पर्याप्त अवसर देशमा सिर्जना नहँुदा कयौं पढेलेखेका युवाहरु, गणतन्त्र प्राप्तिका लागि लडेका योद्घाहरु वैदेशिक रोजगारीमा लाग्नुपर्ने बाध्यता ज्यू का त्यू रहेको प्रतिवेदनमा लेखिएको छ ।

एमाले टुक्रा टुक्रा बन्यो, केन्द्र देखि सबै प्रदेश सरकार ढले , जनता निराश भए , देशले ठूूलै नोकशानी व्यहोर्नु परे पनि आज यति ठूलो परिघटनाको बारेमा कसैले पनि जिम्मा लिदैंन्, आत्मसमिक्षा गर्ने आवश्यकता नै कसैले ठान्दैन् । न केपी ओली नै आत्मसमिक्षा गर्न तयार छन्, न माधवकुमार नेपाल नै यसको जिम्मा लिन तयार छन् न प्रचण्ड आत्मसमिक्षा गर्न तयार छन् । तर, हामी तीनै नेता र नेतृत्व महान, युगपुरुष, दूरदर्शी, सबैभन्दा उन्नत चेतनाका, सबैभन्दा अब्बल दर्जाका ठानी रहेका छौ अध्यक्ष मेहराले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि पर्यटन, वैदेशिक रोजगार, प्राकृतिक श्रोत, भ्रष्टचारलगायतका विषयलाई भावी कार्यदिशाकारुपमा समेटिएको छ । प्रतिवेदनमा कार्यकालको समिक्षा र कामजोर पक्षलाइ समेत उठाईएको छ ।
कार्यक्रमा संघका केन्द्रीय सदस्य पर्वतराज भण्डारी, राजु कार्की, संघका झापा अध्यक्ष शम्भु भण्डारी, युवा नेताहरु राजु धिमाल, सुमन थापा तथा १ नम्बर प्रदेश सभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल, नेकपा एमाले मेचीनगर इञ्चार्ज देवकुमार राई, नगर अध्यक्ष राजु पोखरेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन श्याम शिवाकोटी र स्वागत उपाध्यक्ष मानबहादुर तामाङले गर्नुभएको थियो ।

























