निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा जोड

मिडियाले खबरदारी गर्नुपर्ने सुझाव

A notice in Nepali from Mechinagar Ward No. 10

५ वैशाख, बिर्तामोड : शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ : मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले स्वतन्त्र, निष्पक्ष, भयरहीत र शान्तिपूर्ण वातावरणमा मतदाताले निर्वाचनमा भाग लिन पाउने वातावरणले मात्र लोकतन्त्र बलियो हुने बताए । त्यसका लागि मतदाता शिक्षा तथा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउनु पर्ने र सो कार्यमा मिडियाको महत्वपूर्ण भूमिका हुने बताए । कहिँकतै आचार संहिता उल्लंघन भएको भए खबरदारी गर्न र सम्बन्धित ठाउँमा समयमा नै जानकारी गराउन समेत प्रजिअ रिजालले सञ्चारकर्मीलाई आग्रह गरे ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले निर्वाचनको तयारी लगायतका विषयमा जानकारी गराएका थिए ।
अग्रज पत्रकार तथा महासंघका पूर्व केन्द्रीय सदस्य लीला बरालले निर्वाचनका बेला जिल्लाका विविध समस्याका मुद्दालाई मिडियाले अझ महत्वका साथ उठान गर्नुपर्ने बताए । निर्वाचनका बेला विशेष संयमता अपनाउन आग्रह गर्दै बरालले पत्रकारहरुलाई भने– ‘राजनीतिक आग्रहबाट मुक्त होऔं, तथ्य, तथ्यांकमा गडबड नगरौं ।’ बरालले द्वन्द्व, विवाद उत्पन्न हुने खालका विषयवस्तुमा पत्रकारले विशेष ध्यान दिनुपर्ने बताउँदै धार्मिक सहिष्णुता, संस्कृति, जातीयता लगायतका विषयमा सामग्री सम्प्रेषण गर्दा सचेत हुन आग्रह गरे ।
अन्तरक्रियाको विषयमाथि धारणा राख्दै पत्रकार महासंघ झापाका निवर्तमान अध्यक्ष तारामणि सापकोटाले मिडियाको मौनताले निर्वाचन आचारसंहिताको उल्लंघन बढ्नसक्ने भन्दै खबरदारी गर्न आग्रह गरे । उनले अहिलेको निर्वाचन आचारसंहिता कतिपय विषयमा अव्यवहारिक भएको टिप्पणी गरे । पत्रकारले सामाजिक सञ्जाल प्रयोग, प्रायोजित सामग्री र राजनीतिबाट निर्देशित पत्रकारिताबाट जोगिनुपर्ने बताए ।
अन्तरक्रियामा पत्रकारहरु दिपीन राई, गणेशमान मुखिया, अम्बिका भण्डारी, ज्ञानेन्द्र निरौला, विनोद पाण्डे, प्रेम आचार्य, पुष्प बराल, डिल्लीराम घोर्साइ, द्रोण अधिकारी लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।
प्रजिअ रिजालले जिल्लाका दुई सय ८६ मतदान स्थलमध्ये ५१ वटा अति संवेदनशील, एक सय ५३ वटा संवेदनशील र ८२ वटा सामान्य रहेको जानकारी दिए । उनले सुरक्षाका सम्पूर्ण संयन्त्रसँगै तीन हजारको संख्यामा जिल्लामा म्यादी प्रहरी परिचालित हुने बताए । प्रजिअ रिजालले मतदाता शिक्षा प्रभावकारी बनाउन सबै क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन अनुगमनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
निर्वाचन कार्यालयका प्रमुख नेपालले आचारसंहिताका विभिन्न पक्षबारे जानकारी गराएका थिए । झापामा दुई सय ८६ मतदान स्थलमा सात सय ५५ वटा मतदान केन्द्र रहने उनले बताए । नेपालका अनुसार एक हजार ६४ मतदाता बराबर एक मतदान केन्द्रको व्यवस्था गरिएको बताए । सबैभन्दा बढी मेचीनगर र कम हल्दिबारीमा मतदान केन्द्र रहने छन् ।
जिल्लामा छ लाख ४६ हजार दुई सय ३४ जना मतदाता रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी महिला तीन लाख २४ हजार सात सय पाँच जना, पुरुष तीन लाख २१ हजार पाँच सय २० र अन्य नौ जना रहेको उनले बताए । मेचीनगरका ९० हजार बढी र सबैभन्दा कम्ती गौरीगञ्जमा २३ हजार मतदाता रहेको बताइएको छ । उनले समय, स्थान, उमेर, सामग्रीजन्य आचारसंहिताका मुख्य विषय प्रष्ट्याएका थिए । जिल्लाका क्रियाशील ३० जना सञ्चारकर्मीको सहभागिता रहेको अन्तरक्रियाको सहजीकरण पत्रकार महासंघका सहसचिव अर्जुन राजवंशीले गरेका थिए ।
माई पश्चिम झापाका पत्रकारहरुका लागि सोही विषयको कार्यक्रम मंगलबार बिहान दमकमा गर्न लागिएको पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.