मेचीनगर, २१ जेठ: झापा, मेचीनगर–१५, ज्यामिरगढीमा रहेको सरिया बायोमास इनर्जी प्रालिको उद्योगमा आज बिहान आगलागी भएको छ। उद्योगमा रहेको प्लाईको टुक्रामा बिहान साढे ६ बजेतिर आगो लागेको जानकारी इलाका प्रहरी कार्यालय धुलाबारीले दिएको छ।
आगलागीको खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय धुलाबारीका सहायक निरीक्षक गंगाराज राईको टोली, भद्रपुर र मेचीनगरका दमकलसहित घटनास्थल पुगेर आगो निभाउने प्रयास गरिएको थियो।
सरिया बायोमास इनर्जी प्रालिका सञ्चालक विवेक गिरीले बिहान करिब ४ बजेतिर काठको डस्वेट (जवडा) बाफिएर आगो लागेको हुनसक्ने अनुमान गरेका छन्। उनका अनुसार, बायोमास पेलेटबाट ब्रिकेट (कोइला) बनाउन प्रयोग गरिने करिब साढे तीन गाडी काठको डस्वेट जलेर नष्ट भएको छ। उद्योगमा करिब १२ गाडी जति काठको डस्वेट भण्डारण गरेर राखिएको थियो। प्रहरीका अनुसार, आगलागीबाट कति क्षति भयो भन्ने यकिन विवरण भने आइसकेको छैन।
स्मरण रहोस्, बायोमास पेलेटको प्रयोग इँटा, सिमेन्ट उद्योग, होटल लगायतका क्षेत्रमा प्रयोग भइरहेको कोइलालाई विस्थापित गरी हरित र दिगो ऊर्जाको प्रवर्द्धन गर्न गरिन्छ। यो सामुदायिक वनबाट ल्याइएका पात र सुकेको काठको डस्वेटबाट कोइला उत्पादन गर्ने प्रक्रिया हो।

























