कहाँ जान्छ प्रहरीले बरामद् गरेको लागू औषध? कसरी नष्ट गर्छ त यस्ता वस्तु ?

५ साउन, मेचीनगर :   २ साउनमा प्रहरीले झापाको बिर्तामोडबाट ठूलो मात्रामा लागू औषधजन्य प्रतिबन्धित औषधि बरामद गर्यो ।

स्थानीयको सुचनाका आधारमा भानुभक्त खरेलले सञ्चालन गर्दै आएको औषधिको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागू औषधजन्य प्रतिबन्धित औषधि फेला परेको हो । झापा प्रहरीले यसलाई निक्कै सफलताका रुपमा लिएको छ । पत्रकार सम्मेलनमार्फत प्रहरीले सञ्चारकर्मीहरुलाई जानकारी गराएको थियो ।

प्रहरीले यसो भनिरहदाँ ठूलो सानो—मात्रामा लागू औषधसहित मानिस दैनिक जसो नै पक्राउ परीरहेको हरेक दिन जिल्ला प्रहरी कार्यालय झापाले प्रेस नोट जारी गदैं सञ्चारकर्मीहरुलाई जानकारी दिने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ‐डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१-८२ मा झापा जिल्लामा पाँचसय ५९ जनालाई लागू औषधको कारोवार गरेको अभियोगमा पक्राउ गरिएको छ भने तीन सय ४६ वटा मुद्धा दर्ता भएको छ ।

वर्षेनी यस्तो संख्या बढ्दै गएको छ । प्रहरीले गत आव २०८०-८१ मा चार सय ६२ जना कारोवारी पक्राउ गरेको थियो । पछिल्लो आवमा यो संख्या १६ दशमलव ५ प्रतिशतले बढेको छ । आव २०८१-८२ मा झापामा एक हजार छ सय ५१ केजी गाँजा र दुई केजी आठ सय ८२ ग्राम ब्राउन सुगर बरामद भएको छ । कोशी प्रदेशमा आव २०८१-८२ मा लागू औषधविरुद्धको अभियानमा दुई हजार ३७ जना व्यक्तिमाथि कानूनी कार्वाही भएको छ । यसैगरी, २२ हजार केजी गाँजा र चार केजी ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका १४ जिल्लामध्ये लागू औषधको समस्याबाट सबैभन्दा बढी प्रभावित जिल्लाको रुपमा झापा चिनिएको छ । भारतसँग एकसय ४४ दशमलव ८ किलोमिटर लामो खुला सीमाना भएकाले पनि झापामा लागू औषधको रोकथाम र नियन्त्रण चुनौतिपूर्ण बनेको प्रहरीको भनाई छ ।

खुला सीमा र अनेक बहानामा भारतबाट लागू औषध भित्राउने र कारोवार गर्ने गतिविधि बढ्दै गएको अवस्थाले नागरिक समाज समेत चिन्तित पाइएको छ । खुला सीमाका कारण झापा जिल्लामा लागू औषधको कारोवार बढे तापनि प्रहरीले कारोवारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ ।

प्रहरीले कुनैपनि लागू औषध बरामद गरिसकेपछि हतार–हतार पत्रकार सम्मेलन या प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्छ । तर, त्यही लागू औषध नष्ट गरेको नत जानकारी नै दिन्छ, नत सूचना नै । पक्राउ परेको लागू औषध कसरी, कहाँ र कहिले नष्ट गरिन्छ या कहाँ जान्छ ? यस विषयमा अधिकांशलाई थाहै हुँदैन । महंगो मूल्य पर्ने लागू औषध प्रहरीबाट दुरुपयोग भएको हुनसक्ने सर्वसाधारणको आशंका पनि छ ।

बरामद लागू औषध नष्ट गर्ने कानूनी प्रक्रिया लामो भएपनि प्रहरीले अहिलेसम्म नष्ट गरिएको न त कुनै जानकारी दिइएको छ, नत नष्ट गरेको आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिन्छ । जस्ले गर्दा प्रहरीको पारदर्शितामा प्रश्न उठेको छ । र अहिले सर्वत्र एउटा प्रश्न छ ः कहाँ जान्छ प्रहरीले बरामद् गरेको लागू औषध ? कहाँ जान्छ त यति विघ्न लागू औषध ?

कानून अनुसार कुनैपनि लागू औषध बरामद भइसकेपछि त्यसलाई प्रक्रिया पुर्याएर नष्ट गर्नुपर्छ । अन्य मालवस्तु जस्तो नष्ट गर्न लागू औषध सहज नहुने भएकाले यसको नष्ट प्रक्रिया लामो हुने पूर्व प्रहरी नायव निरीक्षक इन्द्रप्रसाद ओलीले बताए । कानूनी प्रक्रिया पूरा गर्नका लागि बरामद लागू औषध अदालतमा पेश गर्नुपर्ने भएकाले लागू औषध बरामद हुनेवित्तिकै प्रमाण स्वरुप अदालत पेश गर्नुपर्ने ओलीको भनाई छ । अनि अदालतको आदेश बमोजिम लागू औषध नष्ट गर्ने चलन रहेको उनले थपे ।

लामो समयसम्म तात्कालिन लागू औषध नियन्त्रण इकाई ‐नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा) को इञ्चार्जका रुपमा समेत कार्यरत ओली हाल लागू औषध विरुद्धको क्षेत्रमा चेतना नेपाल नामक संस्था सञ्चालन गरीरहेका छन् । उनका अनुसार अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह , प्रहरी, भन्सारलगायत सबैको रोहबरमा नष्ट गरिन्छ । तर, नष्ट गर्ने विधि र प्रक्रिया फरक छ । वार्षिक रुपमा ठूलो परिमाणमा लागू औषध बरामद् भएपनि अहिलेसम्म नष्ट गर्ने काममा पारदर्शिता नदेखिएको गुनासो पहिलेदेखि नै आउने गरेको पूर्व प्रनानि ओलीको भोगाई छ ।

‘सार्वजनिक बरामद् सबै लागुऔषध कानूनी प्रक्रिया पूरा गरेर नष्ट गरिन्छ ।’ उनले थपे । अदालतबाट यसको फैसला तथा लागू औषधको अनुसन्धान लामो समयसम्म हुने भएकाले पनि नष्ट प्रक्रिया लम्बिएको हो ।

प्रहरीले बरामद गरेको लागू औषध प्रत्येक पोकाबाट प्रहरी अनुसन्धान अधिकृतको रोहबरमा स्याम्पलका लागि निकालेर लागू औषध ब्युरो, अदालत र परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउन सकिने ऐनमा व्यवस्था छ । परीक्षणको रिपोर्ट आउन पनि समय लाग्ने ओलीको भनाई छ । बाँकी अदालत र प्रहरीको मद्धा फाँटमा रहन्छ । फौजदारी मुद्धाका प्रतिवादीलाई २५ दिन अनुसन्धानका लागि राखिन्छ । तर, लागू औषधकालाई ९० दिन अनुसन्धानका लागि राख्ने गरिएको छ । प्रदेशस्तरमा प्रयोगशाला नहुँदा लागूऔषध परीक्षण गर्न काठमाडौं लैजानुपर्ने बाध्यताका कारण यस्तो भएको हो ।

मुद्धा फैसला भएपछि सबै परिमाण मुचुल्का गरेर नष्ट गरिन्छ । लागू औषधसम्बन्धी मुद्धाको प्रक्रिया लामो हुने र तत्कालै नष्ट नगरिने हुँदा बरामद गरिएको लागू औषध कहाँ जान्छ भन्ने जिज्ञासा हुनु स्वभाविक भएको ओलीको भनाई छ । लागूऔषध परीक्षणका लागि प्रयोगशाला नभएकै कारण मात्र अनुसन्धान प्रक्रिया ढिला भएको नभई लागू औषध जटिल प्रकृतिको मुद्धा भएकाले अनुसन्धानमा समय लाग्ने उनले बताए । प्रत्येक प्रदेशमा प्रयोगशाला भए यसको अनुसन्धानमा लामो समय नलाग्ने उनको बुझाई छ ।

नष्ट गरेको प्रमाण किन सार्वजनिक हुदैन् त ? भन्ने मेरो मेचीनगर डट कमको प्रश्नमा एकजना पूर्व प्रहरी नायव उपरीक्षकले भने बरामद् गर्दा आफूहरु मात्रैले बरामद् गर्ने भएकाले बरामद्को प्रमाण सार्वजनिक हुन्छ । तर नष्ट गर्न थुप्रै निकायहरु संलग्न हुने भएकाले सार्वजनिक नगरिएको हो । उनी पनि लामो समयसम्म नेपाल प्रहरीको लागू औषध व्यूरोको प्रमुख भएर बसेका थिए ।

लागू औषध अनुसन्धानमा लामो समय काम गरेका ती पूर्व प्रहरी नायव उपरीक्षकका अनुसार बरामद लागू औषध नष्ट नै गरिन्छ । तर नष्ट गर्ने समयमा सार्वजनिक गरिने अभ्यास भने अहिलेसम्म नभएको बताउँछन् । पूर्व प्रहरी नायव उपरीक्षक र पूर्व प्रहरी नायव निरीक्षकको भनाई खासै फरक छैन् । मिल्दोजुल्दो नै छ ।

कुनै पनि लागू औषध बरामद् गरिसकेपछि प्रहरीले प्रमाणका रुपमा अदालतमा पेश गर्नुपर्ने र घटनाको सम्पूर्ण अनुसन्धान नसकुञ्जेल त्यसलाई नष्ट गर्न नपाईने, जब अनुसन्धान सकिन्छ त्यसपछि अदालतको फैसला अनुसार जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीको रोहबरमा लागू औषध नष्ट गरिने गरिएको उनीहरुको भनाई छ ।

एकजना प्रहरी अनुसन्धान अधिकृतका अनुसार लागू औषध नष्ट गर्न जिल्ला अदालतमा छुट्टै स्थान बनाइएको हुन्छ । जलाउन नमिल्ने लागू औषधलाई पानीमा घोलेर बगाउने गरिन्छ । तर, त्यसरी नष्ट गरिएको लागू औषधबारे लगत राख्नुपर्ने ऐनले व्यवस्था गरेको छ ।

लागू औषध नियन्त्रण ऐन २०३३ व्यवस्था गरिएको छ । उक्त ऐनको दफा ११ (क) मा लागू औषधसम्बन्धी मुद्धामा अदालतबाट म्याद थप भएको १५ दिनभित्र बरामद भएको लागू औषध नष्ट गर्नुपर्ने व्यवस्था छ । जिल्ला अदालतका प्रतिनिधि, ब्युरोका प्रतिनिधि र स्थानीय जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको रोहबरमा नष्ट गर्नुपर्छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्का अभियूक्तसहित पक्राउ परे १५ दिनभित्रमा नष्ट गरिने यदि वेवारिसे अवस्थामा फेला परे नष्ट गर्न समयसम्म लाग्ने बताउँछन् । प्रहरीले ओसारपसार गर्नेहरुलाई मुद्धा चलाउन प्रमाणका रुपमा लागू औषध अदालतमा पेश गरिसकेपछि निश्चित प्रक्रिया अपनाएर नष्ट गर्नुपर्ने प्रावधान छ ।

लागू औषधसहित पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार कारबाही प्रकृया अगाडि बढाइन्छ । उक्त ऐनमा न्यूनतम एक महिनादेखि जन्मकैद र दुई हजारदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

नष्ट किन पारदर्शिता हुँदैन त ? भन्ने प्रश्नमा उनले भने अदालत, प्रहरी अनुसन्धान अधिकृतलगायत सवैको रोहबरमा नष्ट गरिने हुँदा प्रहरी मात्र जिम्मेवार बन्नुनपर्ने उनको भनाई छ । प्रहरीले बरामद गरेको लागू औषध सीमित व्यक्तिहरुको रोहबरमा नष्ट गरिने भनिए पनि कति परिमाणमा नष्ट गरियो ? कुन कुन लागुऔषध नष्ट गरियो ? बरामद भएको अनुपातमा नष्ट गरियो कि गरिएन ? यस विषयमा प्रहरीले चासो राख्ने गरेको प्रहरी नायव उपरीक्षक खड्काको भनाई छ ।

बरामद् गरेको लागू औषध सार्वजनिक गर्न हुने तर नष्ट गरेको सार्वजनिक गर्न किन नहुने ? खड्का भन्छन् ‘ यस विषयमा निक्कै अघिदेखि कुरा उठ्ने गरेको छ । नष्ट गरिएका विषयमा जानकारी गराउने कि भन्ने विषयमा अदालतसँग सहकार्य समन्वय र छलफल गरेर हामी निष्कर्शमा पुग्छौ’ प्रनाउ खड्काले थपे । नष्ट गरेको पारदर्शिता हुने हो भने बरामद् लागू औषधको विषयमा कसैले प्रश्न उठाउन नसक्ने उनको भनाई छ । पारदर्शिताका साथ नष्ट गर्दा केही नबिग्रिंने भन्दैं लागू औषध नष्ट गरिँदा संचारमाध्यमलाई खबर नगरिएकाले आम मानिसमा त्यस्तो भ्रम भएको हुनसक्ने भन्दै प्रनाउ खड्काले आगामी दिनमा पारदर्शिताका लागि प्रहरीले लागू औषध नष्ट गर्दा सरोकारवाला पक्षलाई खबर गर्ने बताए ।

 

 

 

 

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.