१० फागुन, मेचीनगर: आज स्काउट आन्दोलनका जन्मदाता लर्ड बेडेन पावेल तथा विश्व गाइड आन्दोलनकी अग्रणी व्यक्तित्व लेडी बेडेन पावेलको जन्मदिनको अवसरमा विश्वभर मनाइने International Founder’s Day / U-Fund Day / Thinking Day – February 2026 को सन्दर्भ पारेर नेपाल स्काउट मेचीनगरको आयोजनामा मेचीनगर स्तरीय अन्तर–स्काउट दल चित्रकला प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
संस्थापक दिवसको महत्व झल्काउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका स्काउट दलका प्रतिनिधिहरूले सहभागिता जनाउँदै कला र सिर्जनशीलता मार्फत स्काउट आन्दोलनका आदर्श, सेवा भावना र नेतृत्वको सन्देश अभिव्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय शैक्षिक पद्धति आयुक्त तथा राष्ट्रिय प्रशिक्षक भूवन सुब्बाले संस्थापक दिवसले स्काउट आन्दोलनको इतिहास, मूल्य र विश्वव्यापी एकताको भावना स्मरण गराउने बताउनुभयो। उहाँले लर्ड बेडेन पावेलले सुरु गर्नुभएको अभियान आज विश्वभरका करोडौं युवालाई अनुशासन, सेवा र नेतृत्वतर्फ प्रेरित गरिरहेको उल्लेख गर्नुभयो।
अतिथिका रूपमा कोशी प्रदेश परिषद् सदस्य तथा सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राई तथा स्थानीय परिषद् सदस्य टिकेन्द्र ढकालको उपस्थिति रहेको थियो। वक्ताहरूले स्काउटिङ्गले बालबालिकामा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्व विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
प्रतियोगितामा हाङ्मा योङ्या (इष्ट होराइजन स्काउट दल) प्रथम, समिक्षा सुनुवार (अरुणोदय स्काउट दल) द्वितीय तथा संयोग राई (बौद्धमोड स्काउट दल) तृतीय स्थान हासिल गर्न सफल भएका छन्। प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने स्काउटहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा सहभागी सम्पूर्ण स्काउटहरूलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता नेपाल स्काउट मेचीनगरका प्रमुख आयुक्त रीता थापाले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय शैक्षिक पद्धति आयुक्त सुष्मा सुब्बाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक राष्ट्रिय प्रशिक्षक दुर्गाबहादुर लुइटेलले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न स्काउटर तथा स्काउटहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार संस्थापक दिवसको अवसरमा आयोजित यस प्रतियोगिताले बाल–स्काउटहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै स्काउट आन्दोलनप्रति आत्मीयता र प्रतिबद्धता अझ सुदृढ बनाएको छ।






























