काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले ७५ औँ प्रजातन्त्र दिवसको सन्दर्भ र आसन्न निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै नेपाली नागरिकहरूलाई चारवटा महत्वपूर्ण विषयमा अपिल गर्नुभएको छ। ‘जेनजी’ (Gen Z) आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थितिमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न आगामी निर्वाचन ऐतिहासिक हुने उल्लेख गर्दै उहाँले देशलाई विधिको शासन र स्थिरताको मार्गमा अघि बढाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनको पहिलो बुँदामा फागुन २१ गते बिहीबार हुने निर्वाचनमा उत्साहजनक रूपमा सरिक हुन मतदाताहरूलाई आग्रह गर्नुभएको छ। मतदानलाई केवल कसैलाई जिताउने माध्यमका रूपमा मात्र नलिन आग्रह गर्दै उहाँले यो आफ्नो र आफ्ना सन्तानको भविष्य कस्तो बनाउने भन्ने निर्णय गर्ने सुनौलो अवसर भएको बताउनुभयो। “अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु,” प्रधानमन्त्रीले भन्नुभयो। उहाँले राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा प्रत्येक भोटको ठूलो महत्व रहने स्पष्ट पार्नुभयो।
दोस्रो अपिलमा प्रधानमन्त्रीले निर्वाचनको सँघारमा र मौन अवधिमा पूर्ण अनुशासन र संयमता अपनाउन सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार र समर्थकहरूलाई अनुरोध गर्नुभएको छ। निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा र फरक विचार हुनु स्वाभाविक भए पनि आपसी मनमुटाव र वैमनस्य हुन नहुनेमा उहाँले जोड दिनुभयो। निर्वाचन आयोगले छोटो र कठिन समयमा सबै तयारी पूरा गरेको जानकारी दिँदै प्रधानमन्त्रीले सरकार निष्पक्ष, स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा संयन्त्र र कर्मचारीहरू पूर्ण रूपमा परिचालन गरिएको भन्दै उहाँले मित्रराष्ट्रहरू र संयुक्त राष्ट्र संघीय निकायहरूबाट प्राप्त सहयोगप्रति आभार समेत व्यक्त गर्नुभयो।
तेस्रो अपिलमा प्रधानमन्त्रीले निर्वाचनकै मुखमा परेको रङहरूको पर्व होली (फागुपूर्णिमा) को शुभकामना दिँदै यसलाई एकता र सद्भावको सन्देशका रूपमा मनाउन आग्रह गर्नुभएको छ। निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाउने उहाँको विश्वास छ। उहाँले समाजमा रहेको विविधतालाई मजबुत बनाउन यो पर्वले थप ऊर्जा दिने बताउनुभयो।
अन्तिम तथा चौथो अपिलमा प्रधानमन्त्रीले मध्यपूर्वी क्षेत्रमा गहिरिएको युद्धको सङ्कट र इरान–इजरायलबीचको बढ्दो तनावप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ। त्यहाँ रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउँदै उहाँले परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको जानकारी दिनुभयो। “नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ,” भन्दै उहाँले विदेशमा रहेका नेपालीहरूलाई विचलित नहुन र सरकारको साथमा रहन ढाडस दिनुभएको छ।


























