पशुपालनबाट मनग्ये आम्दानी गर्दैं मेचीनगरका तिम्सिना परिवार

A notice in Nepali from Mechinagar Ward No. 10

२६ असोज, मेचीनगर : झापाको मेचीनगर नगरपालिका– ७ सिद्धार्थ टोलका ४६ वर्षीय कृषक हाकिमप्रसाद तिम्सिनाले बाख्रा पालनबाट मनग्ये आम्दानी गर्दै आएका छन् । विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गरेका तिम्सिनाले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएका छन् । पाँच लाख रुपैयाँ लगानी गरेर २०७९ बाट बाख्रा पालन शुरू गरेको यो व्यवसायमा अहिले १५ लाख लगानी पुगेको उनले बताए ।

उनले बाख्रापालनबाट सवै खर्च कटाएर वार्षिक करीब डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । कविता कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गरेका तिम्सिनाका फार्ममा अहिले बोयर तथा जापानीज जातका जम्मा ४२ वटा खसी बाख्रा छन् । त्यसमा १७ वटा खसी छन् । यो दशैमा मात्र उनले मासुका लागि तीन लाख रुपैयाँका खसी विक्री गरेको सुनाए । अहिलेपनि उनको फार्ममा १५ देखि १८ केजीसम्मका खसी छन् । छ माउँ बाख्रा व्याउने छन् । साना ठूलागरी कुखुरा ५५ वटा लोकल कुखुरा छन् । मासु र अण्डाका लागि ती कुखुरा पालेको उनले बताए ।

बाख्रासहित गाई, र कुखुरासमेत पालेर स्वदेशमै बसेर कृषि फार्म सञ्चालन गरेका उनले केहीलाई रोजगारीसमेत प्रदान गरेका छन् । स्थानीय दुईजनालाई स्वरोजगारी दिएका तिम्सिनालाई बाख्रापालनका लागि श्रीमती, छोरासहित परिवारका अन्य सदस्यहरुले सघाउँदै आएका छन् । रोजगारीमा रहेका दुईजनालाई उनले जनही मासिक २० हजार रुपैयाँ तलव दिने गरेका छन् । तिम्सिनाको विहानको झिसमिसे उज्यालोबाटै दैनिकी शुरु हुन्छ । उनी हरेक दिन विहान ४ बजे उठेर गाई बाख्रालाई खोले बसाँउछन, त्यसपछि थलो सरसफाइ गरेर गाई दुहुने, बाख्राको दानापानी, घासको व्यवस्थापनमा पुग्दा विहानको ११ बज्छ । त्यस काममा ५० वर्षीया श्रीमती कविता तिम्सिनाले पनि सघाउँछिन् ।

‘जहाँ गए पनि केही न केही गर्नुपर्दछ, त्यो भन्दा आफ्नै गाउँमा नै बाख्रा र कृषि गर्छु भन्ने सोचसहित व्यवसाय सुरु गरेको हुँ’, उनले भने — ‘यो सँगै गाई र कुखुरा समेत पालेको छु । ’ अहिले तीन माउँ जर्सी गाई रहेको दैनिक १५ लिटर दुध घरबाटै विक्री गर्ने गरेको उनले बताए । प्रति लिटर ६० रुपैयाँका दरले दुध विक्री गर्ने गरेको उनको भनाई छ । उनका अनुसार आफूमात्र होईन पछिल्लो समय किसानहरू पशुपालनमा आकर्षित भइरहेको छन् । सरकारी तथा गैरसरकारी संस्थाहरूद्वारा किसानहरूलाई अनुदान र प्राविधिक सहयोग उपलब्ध गराएपछि पशुपालनमा किसानको आकर्षण बढ्दै गएको तिम्सिनाको भनाई छ । विशेष गरी झापामा बाख्रापालन गर्न किसानहरू व्यावसायीक रूपमै लागेका उनले बताए ।

परिवारहरुको साथ सहयोग र लगातारको निरन्तर प्रयासले बाख्रा, गाई र कुखुरापालनबाटै घरखर्च चलेको उनको भनाइ छ । ‘घरमा खाली बस्नु परेको छैन आम्दानीको स्रोत पनि बनेको छ’, उनले थपे, ‘काममा मिहिनेत र परिश्रम गरे पैसा कमाउन विदेश जानुपर्दैन ।’ उनले बाख्रा तथा गाईका लागि आवश्यक पर्ने घाँसखेती गर्न स्थानीय शान्ता कट्वालसँग १५ कठ्ठा जग्गा भाडामा लिएर त्यो जग्गामा घाँसखेती गरिरहेको उनले बताए ।

भाडा वापत वार्षिक १० हजार रुपैयाँ कट्वाललाई बुझाउनु पर्छ । उक्त जमीनमा कोदो, घन्सी, टिसेन्टी जातका घाँस लगाएका छन् । कृषक तिम्सिनाले बाख्रा, गाई र कुखुरापालनबाट खर्च कटाएर मासिक दुई लाख रुपैयाँबढी आम्दानी गर्दै आएका छन् । ‘बाख्रा बिक्रीका लागि बजारको समस्या छैन, घरमै आएर मासु व्यवसायीहरुले खसी किन्ने गरेका छन् । खर्च कटाएर बचेको पैसाले घरखर्च चल्दै आएको छ । ’ उनले भने ।

मेचीनगर नगरपालिकाले व्यावसायिक रुपमा पशुपालन तथा कृषि गरीरहेका कृषकलाई प्रोत्साहनका लागि अनुदान दिने व्यवस्था मिलाएको छ । ‘व्यावसायिकरुपमा पशुपालन गरिरहेका कृषकलाई पशुपालनमै टिकाइराख्न अनुदान नीति नगरसभाबाट पारित भएर बजेट विनियोजन भइसकेको छ’, नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले भनिन् ।

कृषि पेसाका लागि उनले जीवन विकास लघुवित्तबाट सात लाख रुपैयाँ ऋण लिए । यहि व्यवसायबाट प्राप्त आम्दानीले त्यसको साहुँ व्याज समयमै बुझाँउदैं अहिले घटाएर निक्कै कम पारेको सुनाए । युवा जनशक्तिलाई कृषि पेशामा लाग्न हौसला दिनुपर्छ भन्ने उद्धेश्यका साथ उनी यो व्यवसाय शुरु गरेको बताउँछन् ।

बाख्रापालनकै आम्दानीले घरपरिवारको खर्च टारेर छोराछोरीलाई समेत शिक्षादिक्षा दिन सफल भएको उनको भनाइ छ । उनले यसैको आम्दानीबाट २४ वर्षीय छोरा दामोदरलाई पशु प्राविधिक बनाए । उनी पनि विदेश नजाने र स्वदेशमा बाबुलाई काम सघाएर कृषि कर्ममा नै रमाउँने बताउँछन् । ‘बाख्रापालनामा म कन्फिडेन्ट पनि थिए । कारण, मेरो विषय पनि ‘भेटनरी प्राविधिक’ जनावरसँग नै समबन्धित थियो’, उनी थप्छन् । मेहेनत र लगन भएमा हामीले देखे, सोचे अनुसार कमाउन भने सकिने पनि उनले थपे । छोरी नमिताले कक्षा १२ को पढाई सकेकी छन् ।

शुरुमा केही समस्या भए पनि पछिल्लो समय कृषि कर्ममा लागेका कारण आफूहरुले आय आर्जनको प्रमुख स्रोत बाख्रा पालनसहित कृषिलाई बनाएको छोरा दामोदरको भनाई छ । बाख्रासहित गाई र कुखुरा पालनबाट नै जीविकोपार्जन गरिरहेको बताउँछिन् उनकी श्रीमती कविता तिम्सिना । फार्म पनि उनले श्रीमतीकै नाममा दर्ता गरेका छन् । ‘केही वर्षअघि जीविकोपार्जन गर्न कठिन थियो । पछिल्ला वर्ष बाख्रा, गाई कुखुरा पालन गर्न थालेपछि दैनिक गुजारा चलाउन सजिलो भएको छ,’ कविताले भनिन् एकवर्ष अघि पाँच माउँ ब्याउने बाख्रा सर्पले डसेरमरेपछि ६० हजार नोक्शान भयो ।’

‘शुरुमा बाख्रा पाल्नका लागि खोर त्यति राम्रो थिएन । अहिले कोठा सहित खोर बनाएकी छु । भविष्यमा अब बाख्रा पनि थप्ने सोच छ । ’ कविताले भनिन् । खोर राम्रो नहुँदा बाख्रा विस्तार गर्न नसकेको उनको भनाई छ । खोर राम्रो नहुँदा बेला–बेलामा बाख्रा मरेर सताउँथ्यो । अहिले तिम्सिना परिवारको मुख्य आयस्रोत नै बाख्रा, गाई र कुखुरापालन भएको छ । आफ्ना पशुमा कुनै समस्या भए स्थानीय सरकारले प्राविधिक सहयोग उपलब्ध गराउने गरेका कारण पनि व्यावसायीक बाख्रा पालनमा किसानहरू लागेका हुन । पछिल्लो समय मेचीनगर नगरपालिकाले गाउँ गाउँमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.