📌 मुख्य बुँदाहरू:
- विद्युतीय ठगी रोक्न नेपाल प्रहरीको साइबर ब्युरोमा एकीकृत एन्टिस्क्याम सेन्टरले काम सुरु गरेको छ।
- सेन्टरको हटलाइन नम्बर ‘१२४७’ मा फोन गरेपछि पीडितको रकम विभिन्न बैंक हुँदै ट्रान्स्फर भएको भए पनि रोक्का गर्न सकिने व्यवस्था मिलाइएको छ।
- स्क्यामरले ९ तहसम्म ट्रान्स्फर गरेको रकम समेत सेन्टरले १५ मिनेटमै रोक्का राख्न सफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
काठमाडौं, २३ कात्तिक । अनलाइन माध्यमबाट हुने विद्युतीय ठगीलाई तीव्र गतिमा नियन्त्रण गर्नका लागि स्थापना गरिएको एकीकृत एन्टिस्क्याम सेन्टरले औपचारिक रूपमा काम सुरु गरेको छ। नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरू, भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायकहरू र नेपाल प्रहरीको संयुक्त सहकार्यमा यो सेवा सञ्चालनमा ल्याइएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा स्थापना भएको यस सेन्टरमा ३० जना जनशक्तिले चौबिसै घण्टा सेवा प्रदान गरिरहेका छन्। अनलाइन ठगीमा परेका नागरिकहरूले तत्कालै सेन्टरको हटलाइन नम्बर ‘१२४७’ मा फोन गरेर उजुरी दिन सक्ने व्यवस्था मिलाइएको छ।
१५ मिनेटमै रकम रोक्का गर्न सफल
नेपाल राष्ट्र बैंकका निर्देशक सुशील पौडेलका अनुसार अनलाइनमार्फत ठगी गरिएको रकम स्क्यामरले विभिन्न बैंकका खाताहरूमा रकमान्तर गर्ने गरेका भए पनि यस सेन्टरले त्यसलाई छोटो समयमै नियन्त्रणमा लिन थालेको छ। स्क्यामरले ९ तहसम्म ट्रान्स्फर गरेको रकम समेत सेन्टरले १५ मिनेटमै रोक्का राख्न सफल भएको उनले बताए।
"अहिले १५ मिनेटमै ९ वटा लेयरसम्म रकम रोकिसकेका छन्," निर्देशक पौडेलले भने, "त्यहाँ २० वटा बैंक अनि भुक्तानी सेवा प्रदायकहरू खल्ती र ईसेवाका प्रतिनिधिहरू सँगै बसेका छन्, जसले गर्दा ९ वटा लेयरसम्म रकम रोक्न सफल भएका छौँ।"
हटलाइन १२४७ मा सम्पर्क गर्न आग्रह
साइबर अपराध तथा अनलाइन ठगीका घटना बढ्दै गएको अवस्थामा यस सेन्टरको स्थापनाले पीडितहरूलाई राहत दिने अपेक्षा गरिएको छ। स्क्याममा परेका पीडितले १२४७ मा फोन गरेलगत्तै त्यहीँबाट आवश्यक कारबाही प्रक्रिया अघि बढ्ने र रकम अन्य खातामा स्थानान्तरण हुनबाट जोगाउन सकिने राष्ट्र बैंकले जनाएको छ।



















