झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका १४ लाखभन्दा बढी मूल्यका फूलका माला सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापा तथा मातहतका कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा सुरक्षा जाँचका क्रममा १४ लाख १५ हजार ३०० रुपैयाँ बराबरका फूलका माला बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार केचना, भद्रपुर र काँकरभिट्टालगायत सीमावर्ती क्षेत्रबाट अवैध रूपमा ल्याइँदै गरेका फूलका माला नियन्त्रणमा लिइएको थियो।
विभिन्न निकायको उपस्थितिमा फूलका माला नष्ट
बरामद गरिएका फूलका माला जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, प्लान्ट क्वारेन्टिन, जनप्रतिनिधि तथा उद्योग वाणिज्य संघका प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
तिहारमा फूल तथा फूलका मालाको माग बढ्ने समयमा अवैध रूपमा भारतबाट भित्र्याइने सामग्री नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ।
चाडपर्व लक्षित सुरक्षा योजना सक्रिय
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अनुसार सीमावर्ती क्षेत्रसहित जिल्लाका विभिन्न स्थानमा सुरक्षा व्यवस्था सक्रिय बनाएको जनाएको छ।
चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित गतिविधि तथा अप्रिय घटना रोक्न आवश्यक स्रोतसाधन र प्रविधिसहित सुरक्षा टोली परिचालन गरिएको गणले जनाएको छ।
सशस्त्र प्रहरीले तिहारलगायत चाडपर्व निर्धक्क र उल्लासमय वातावरणमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
आपत्कालीन अवस्थामा सम्पर्क गर्न आग्रह
कुनै समस्या वा आपत्कालीन अवस्था आइपरेमा सहयोगका लागि सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ वा ९८५१२७२१२५ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।




















