लन्डन : बेलायतमा फेरि पनि कोभिड १९ का संक्रमित बढ्न थालेका छन् । प्राप्त पछिल्लो समाचार अनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यो संख्या पछिल्ला केही दिनयताको भन्दा निकै धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । गएको मे महिनाको २२ तारिखका दिनमा ३ हजार २८७ जना संक्रमित देखिएका थिए ।
त्यसपछि यति ठूलो संख्या गत आइतबार त्यहाँ नयाँ संक्रमितत थपिएका बताइएको छ । अहिलेसम्म संक्रमित संख्या ३ लाख ४७ हजार १५२ जना पुगेको छ । मृत्यु हुनेको संख्या ४१ हजार ५५१ जना पुगेको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकोकले आइतबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताए ।
केही समययता देखि संक्रमितहरु नदेखिएकोमा आइतबार अकस्मात ठूलो संख्यामा देखिएकाले चिन्ता बढाइदिएको उनले बताए । लन्डनमा यसअघि कोभिड १९को अवस्था सामान्यजस्तो देखिएकोले यहाँको जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।
रासस–एएनआई


























