१० वैशाख, मेचीनगर: बढ्दो लागूपदार्थ दुर्व्यसनका कारण युवा पुस्ता जोखिममा परिरहेको अवस्थामा यसको रोकथामका लागि परिवार, विद्यालय, समुदाय र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूले बताउनुभएको छ। नेपाल स्काउट मेचीनगरको आयोजनामा सम्पन्न ‘लागूपदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम तथा प्यानल छलफल’ मा सहभागी वक्ताहरूले दुर्व्यसन नियन्त्रणलाई साझा सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख तथा स्थानीय संरक्षक गोपालचन्द्र बुढाथोकी, उपप्रमुख तथा स्थानीय परिषद् अध्यक्ष मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक निशेष चापागाईं तथा नवयात्रा पुनःस्थापना केन्द्रका अध्यक्ष भीमबहादुर लुइटेल क्षेत्री प्यानलिस्टका रूपमा सहभागी हुनुहुन्थ्यो।
नेपाल स्काउट मेचीनगरका प्रमुख आयुक्त रीता थापाको अध्यक्षता तथा स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा उहाँले स्काउट अभियानले युवामा अनुशासन, सकारात्मक सोच र सामाजिक उत्तरदायित्व विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। समाजमा बढ्दै गएको लागूपदार्थ दुर्व्यसनप्रति सबै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।
कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले विद्यालय तहबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीलाई सही मार्गदर्शन, नैतिक शिक्षा र सकारात्मक वातावरण उपलब्ध गराउन सके दुर्व्यसन न्यूनीकरणमा ठूलो योगदान पुग्ने बताउनुभयो।
उपप्रमुख मीना पोखरेल उप्रेतीले लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। टोल विकास संस्था, आमा समूह, युवा क्लब तथा स्थानीय सामाजिक संघ–संस्थाहरूलाई परिचालन गरेर लागूपदार्थ सेवनकर्ता तथा अवैध कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सकिने उहाँले उल्लेख गर्नुभयो। समुदायस्तरमा निगरानी संयन्त्र बलियो बनाउन सके लागूपदार्थको प्रयोग तथा बिक्री–वितरण नियन्त्रण गर्न सहज हुने बताउँदै उहाँले परिवार, विद्यालय र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। समाजका सबै पक्ष एकजुट भएर लागूपदार्थविरुद्ध अभियान सञ्चालन गरे मात्रै सुरक्षित र सभ्य समाज निर्माण गर्न सकिने उहाँको भनाइ थियो।
प्रहरी नायव उपरीक्षक निशेष चापागाईंले आफू इलाका प्रहररी कार्यालय काँकरभिट्टामा आएपछि मात्र हालसम्म लागूपदार्थसँग सम्बन्धित ४४ वटा मुद्दा दर्ता भइसकेको जानकारी दिँदै युवालाई दुर्व्यसनबाट जोगाउन अभिभावक, विद्यालय र समुदायको भूमिका प्रहरीको जत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले लागूपदार्थ कारोबार र सेवनविरुद्ध कानुनी कारबाहीलाई थप प्रभावकारी बनाइने स्पष्ट पार्नुभयो।
नवयात्रा पुनःस्थापना केन्द्रका अध्यक्ष भीमबहादुर लुइटेल क्षेत्रीले युवाहरू दुर्व्यसनमा फस्नुका विभिन्न कारणबारे प्रकाश पार्दै देखासिखी, साथीभाइको दबाब, पारिवारिक कलह तथा अभिभावकबीचको सम्बन्धमा आएको दूरीले किशोर–किशोरीलाई जोखिमतर्फ धकेल्ने गरेको बताउनुभयो। दुर्व्यसनमा परेकाहरूलाई उपचार र पुनःस्थापनामार्फत समाजमा पुनःस्थापित गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो।
स्काउटर दिपक बागदासको सहजीकरणमा सम्पन्न कार्यक्रममा सहभागीहरूले प्यानलिस्टहरूसँग खुला संवाद गर्दै लागूपदार्थ दुर्व्यसन नियन्त्रणका उपायबारे जिज्ञासा राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन रेञ्जर विकीसा कँडेलले गर्नुभएको थियो।
कार्यक्रममा स्काउट सदस्य, रोभर–रेञ्जर, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सचेतना, कानुनी कार्यान्वयन, पारिवारिक सहयोग र पुनःस्थापनालाई एकसाथ अघि बढाउन सके मात्र दुर्व्यसनमुक्त समाज निर्माण सम्भव हुने निष्कर्ष व्यक्त गर्नुभएको थियो।
नेपाल स्काउट मेचीनगरले युवालाई सकारात्मक मार्गतर्फ प्रेरित गर्न तथा सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।





























