मेचीनगर, १९ असार : शुक्रबार घरबाट हराएका झापा भद्रपुर नगरपालिका वडा नम्बर —९ पोकापाडा बस्ने करीव ६०/६५ वर्षका धनसिंह राजबंशी मृत अवस्थामा फेला परेका छन् । राजवंशीको शव शनिबार बिहान ९ बजे सोहि ठाउँमा रहेको माछा पोखरीममा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीको पोखरीमै डुवेर मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ ।
घटनाको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी घोडामाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
राजवंशीको शवलाई पोखरीबाट बाहिर निकाल्न र अन्य कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको टोली र प्रदेश नम्बर १ विपद् व्यवस्थापन कार्यालय चन्द्रगढीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ९ जनाको टोली परिचालन भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।


























