चीनद्वारा कैलाश मानसरोवर यात्राको भिसा शुल्कमा २३३ प्रतिशतले वृद्धि

A notice in Nepali from Mechinagar Ward No. 10

२१ वैशाख, काठमाडौँ : चीनले कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटकलाई भिषा शुल्क दुई सय ३३ प्रतिशतले बढाएको छ । चीनले शुल्क वृद्धिसँगै भिषा दिने समय पनि लम्ब्याएको छ ।

चीनको यो निर्णयले नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटक निरुत्साहित हुने भएका छन् । भारतीय पर्यटक नेपाल हुँदै यो यात्रामा निस्कने प्रचलन छ । कोभिड महामारीअगाडि मानसरोवर जाने पर्यटकका लागि चीनले प्रतिव्यक्ति ४ हजार १ सय नेपाली रुपैयाँ शुल्क लिने गरेको थियो । अहिले यसलाई बढाएर १३ हजार ६ सय ६० रुपैयाँ बनाइएको हो । यो २ सय ३३ प्रतिशतले बढी हो ।

यस्तै, भिषा दिने समय पनि लामो बनाइएको छ । काठमाडौंमा रहेको चिनियाँ भिषा केन्द्रले बायोमेट्रिक लिएर मात्र भिषा जारी गर्ने गरेको छ । बायोमेट्रिक लिएपछि ३ देखि ५ दिनभित्रमा भिषा जारी गर्ने नयाँ व्यवस्था गरिएको हो ।

चीनले भिषा शुल्कका साथै रुट परमिटको शुल्क पनि बढाएको छ । धार्मिक पर्यटकलाई सहयोग गर्ने शेर्पा गाइडले रुट परमिट लिन अब ३ सय अमेरिकी डलर शुल्क तिर्नु पर्नेछ । कोभिडअगाडि यो शुल्क जम्मा ३० डलर थियो । चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्चुत गुरागाईंले चीनले लामो समयपछि कैलाश मानसरोवर यात्राका लागि प्रवेश खुला गरेको जानकारी दिँदै भिसा शुल्क बढाएको र बायोमेट्रिक प्रणाली लागु गरेको जानकारी दिए । उनले शुल्क वृद्धि, बायोमेट्रिक प्रणाली र भिषा लिन ५ दिनसम्म लाग्नुले यो यात्रालाई थप झन्झटिलो बनाएको बताए । यो नीतिले खासगरी भारतीय धार्मिक पर्यटक बढी प्रभावमा पर्ने पर्यटन व्यवसायीहरुको बुझाइ छ ।

कैलाश मानसरोवर यात्रामा जानका लागि मेदेखि सेप्टेम्बर सबैभन्दा उपयुक्त समय मानिन्छ । चीनले कोभिड महामारी सुरु भएपछि यो यात्रामा प्रतिबन्ध लगाएको थियो । अहिलेबाट फेरि यो यात्रा सुरु भएको हो । चीनको पछिल्लो नियम भारतीय पर्यटकका लागि खर्चिलो र झन्झटिलो भए पनि नेपालको सन्दर्भमा भने राम्रो देखिन्छ । भिषा लिन ५ दिनसम्म लाग्ने व्यवस्थाले कम्तिमा भारतीय पर्यटकको बसाइ अवधि नेपालमा लम्बिनेछ । बायोमेट्रिक दिन भिषा केन्द्रमा श–शरीर उपस्थित हुनुपर्ने छ । त्यसपछि भिषा लिन ३ देखि ५ दिनसम्म बस्नुपर्ने बाध्यताले नेपालको पर्यटन क्षेत्रलाई फाइदा पुग्ने भएको हो ।

तर यही व्यवस्थाका कारण कैलाश मानसरोवरमा जाने भारतीय पर्यटक नेपालमा आउन कम हुने जोखिम पनि सँगसँगै देखिन्छ । अहिले भारतका विभिन्न नाकाहरुबाट पनि मानसरोबार जाने प्रचलन बढेको छ ।

अध्यक्ष गुरागाईंले पनि भिषा लिन तीर्थयात्री पर्यटकले ३ देखि ५ दिनसम्म कुर्नुपर्ने अवस्थाले मानसरोवरकै लागि भनेर नेपाल आएका पर्यटकको बसाइ अवधि बढने बताए । “यसले समग्र पर्यटन उद्योगलाई सहयोग पुग्नेछ भने भिषा प्राप्त गर्ने समय धेरै हुँदा तीर्थयात्री पर्यटकको संख्यामा कमी आउन सक्नेछ,” गुरागाईंले भने ।

चीनले कोभिडअगाडि समूहमा कैलाश यात्रा गर्ने विदेशी नागरिकको हकमा एक जनालाई मात्र भिषा दिने गरेको थियो तर यही अप्रिलमा जारी नयाँ नीतिमा एउटा समूहमा कम्तीमा ४ जना हुनुपर्ने र सबैले बायोमेट्रिक गरेर मात्र भिषा लिनुपर्ने व्यवस्था गरिएको छ ।

नेपालका विभिन्न नाकाहरुबाट वार्षिक २० देखि २५ हजारसम्म भारतीय पर्यटक मानसरोवर जाने गरेका थिए । खासगरी नेपालगञ्ज, सिमीकोट हुँदै हिल्सा नाकाबाट भारतीय पर्यटक जाने गरेका छन् । यस्तै, काठमाडौं–रसुवागढी हुँदै केरुङ नाकाबाट पनि धार्मिकस्थल कैलाश मानसरोवरको यात्रामा निस्किने गरेको तथ्यांक छ ।

चिनियाँ भिषा केन्द्रले सातामा तीन दिन (सोमबार, बुधबार र शुक्रबार) मात्र भिषाको आवेदन लिने र ३ देखि ५ दिनमा भिषा दिने नीतिले नेपालबाट कैलाश मानसरोवर यात्रामा निस्किने पर्यटकले काठमाडौंमा एक सातासम्म बस्नु पर्नेछ । कैलाश मानसरोवरको यात्रामा जाने मौसम वर्षाको भएकाले यस बेला बाह्य मुलुकबाट नेपालमा पर्यटक कम आउने गरेका छन् । त्यसैले यसलाई नेपालमा ‘अफ सिजन’ का रुपमा लिइन्छ । यस्तो मौसममा भारतीय पर्यटक कैलाश मानसरोवरमा निस्किने यहाँ आउँदा पर्यटन उद्योगलाई केही सहयोग पुग्दै आएको छ ।

कैलाश मानसरोवरको तीर्थयात्रामा समन्वय तथा सहजीकरण गर्दै आएको व्यवसायीहरुको छाता संगठन एसोसिएसन अफ कैलाश टुर अपरेटर्स नेपालका अनुसार यो बेला करिब ३ हजार शेर्पा सहयोगीले रोजगार पाउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.