२३ पुस, मेचीनगर : झापाको मेचीनगर ‐बाहुनडाँगी) क्षेत्रको १७ सय हेक्टर जमिनमा सिंचाई हुने सिद्धिनहरको निर्माण कार्य आर्थिक अभावका कारण पूर्ण हुन सकेको छैन् । अहिलेसम्म नेपाल सरकारको ४४ करोड रुपैयाँ खर्च भइसकेको र अब ५० करोड रुपैयाँभन्दा बढी खर्च अनुमान गरिएको सिद्धिखोला सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो ।
इलामाको रोङ–६ स्थित सिद्धि खोलामा मुहान रहेको यो नहर २२ किलोमिटर लामो छ । शाखा, प्रशाखा उपशाखागरी कुल नहर ५५ किलो मिटर लामो छ । जसमा १२ किलोमिटर पहाडको भिरपाखाबाट ल्याइएको र नहर सञ्चालनका लागि सरकारले करोडौँ रुपैयाँ खर्च गरिसकेको छ ।

बेलाब बेला पहिरोका कारण समस्या आउने गरेको र पहिरोले नहर बगाएको बखत बाहुनडाँगी क्षेत्रको कृषियोग्य जमिनमा सिंचाई अभाव हुने गरेको अध्यक्ष तिवारीको भनाई छ । पहिरोका कारण नहरमा करोडौंको क्षति हुने गरेको छ । यसैबीच, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती ,सिद्धि खोला सिंचाई जल उपभोक्ता समितिका पदाधिकारीहरु सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।

पहिरोले भत्काएको नहरको अनुगमन पश्चात स्थानीय सरकारले नहर निर्माणमा सहयोग गर्ने नगरप्रमुख तथा उपप्रमुखले बताउनु भएको उहाँले जानकारी दिनुभयो । अवलोकनका क्रममा नगरप्रमुख आचार्यले लामो समय र धन खर्चेर बनाइएको यो नहरको रेखदेख एवम् सुरक्षामा स्थानीय किसानको भूमिका अग्रणी हुने बताउँदैं स्थानीय सरकारले गर्नुपर्ने साथ सहयोग सधै रहने विश्वास दिलाउनुभयो । झापाको सिरान एवम् पूर्वी भेगको मेची नदीसँग जोडिएको सिद्धि खोलाबाट निकालिएको नहर सफल सञ्चालनबाट स्थानीय जनतालाई राहत मिल्ने नगरप्रमुख आचार्यको भनाई छ ।

बेला बेला वर्षासँगैको पहिरोले इलामस्थित रोङ–६ को रमिते–थलथलेमा नहरको क्यानलको भाग बगाएका कारण पानी चाहिने समयमा खेत बाँझै हुने सम्भावना बढेको उपभोक्ता संस्थाका अध्यक्ष तिवारीले बताउनुभयो ।सबै बालीलाई उपयुक्त ढङ्गले सिँचाइ सुविधा पुगिरहेको सो नहरमा नियमित पानी आउने कारणले यस क्षेत्रका किसानमा छिट्टै आर्थिक परिवर्तन आउने र किसान समृद्ध हुने विश्वास जागेको स्थानीय उपभोक्ताहरु बताउँछन् । बर्खामा भन्दा पनि हिउँदमा सिँचाइको अवश्यकता पर्ने उनीहरुको भनाई छ। नहुँदा मेचीनगर–१, २, ३ र ४ का खेतीयोग्य जमिनलाई यो नहरले निक्कै राहत पुगेको छ । ०६२ देखि निर्माण सुरु भएको यो सिद्धि खोला सिँचाइ आयोजना ०७४ बाट मात्र सञ्चालनमा आएको थियो ।


























