३ साउन मेचीनगर : मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८१- ८२ मा ९१ दशमलव ८६ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ वार्षिक राजस्व असुलीको लक्ष्य राखेको भएपनि १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व असुली गरेको भन्सार अधिकारीहरुको भनाई छ ।
संकिलत रकम अघिल्लो वर्ष २०८०- ८१ को भन्दा डेढ अर्ब बढी हो । भन्सार स्रोतका अनुसार २०८०- ८१ मा १४ अर्ब २३ करोड ५२ लाख ६० हजार र आव २०७९- ८० मा १४ अर्ब चार करोड पाँच लाख ९२ हजार राजस्व असुली गरेको थियो ।
आव २०८०- ८१ को तुलनामा आव २०८१- ८२ मा कार्यालयले एक अर्ब ६९ करोड ५९ लाख छ हजार बढी राजस्व संकलन गरेको छ । पछिल्लो समय भन्सारका कर्मचारीहरुको व्यवहारका कारण पनि व्यवसायीहरुले बैकल्पिक नाका प्रयोग गर्न थालेका कारण यो अवस्था आएको हुन सक्ने अनुमान गरिएको छ ।
नेपालको पूर्वी प्रवेशद्वार मानिएको काँकडभिट्टामा रहेको यो भन्सार हुँदै पेट्रोलियम पदार्थ, तरकारी, यातायातका साधन र तिनका पार्टपूर्जा, खनिज उत्पादन, प्लास्टिकका कच्चा पदार्थ, कफी, दलहन, फलफूल, इलेक्ट्रिक मेसिनरी उपकरण, फलाम तथा फलामका सामग्री लगायतका बस्तुहरु आयात हुने गरेको छ ।
त्यसैगरी, यस नाकाबाट निर्यात हुने प्रमुख बस्तुहरुमा अलैची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्लिसो, भेनियर पाता, मोलासिस, सिमेन्ट क्लिंकर, अदुवा लगायत रहेका छन् ।
























