यात्रा जरुरी हो थाहा पाएर निरन्तर सुरु भयो,
यात्रामा लक्ष्य पाइयो कि लक्ष्य खोज्दै हिँडियो,
केही अलमल त छ तर निश्चित एउटा कुरा—
पाइतला खिइसकेछन्, थाहा नै भएन।
साथ–सहयोग जरुरी हो; कहिले लिँदै, कहिले दिँदै आदानप्रदानको दौरमा,
कहिले आँसु पुछियो, कहिले पसिना पुछियो।
आफूलाई र कसकसलाई कति सहज भयो
थाहा भएन, तर यो निश्चित रहेछ—
कहिले आयुरेखा घटिसकेछ, कहिले भाग्यरेखा मेटिसकेछ, पत्तै भएन।
बुझ्नु जरुरी थियो, बुझ्नलाई बुझाउन झन् जरुरी थियो।
बुझ्दै–बुझाउँदै गर्दा अर्थहरूको अर्थ नै सकिएछ,
पत्तै भएन।
स्नेहीहरूको माया जरुरी, मायालुहरूको स्नेह जरुरी,
तानोबानो मिलाउँदै गर्दा मुटु खङ्ग्रिएछ,
पत्तै भएन।
धेरै सिक्नु थियो, सिकाउन थालिएछ;
धेरै जान्नु थियो, बुझाउन थालिएछ।
गुरु खोज्दै थिएँ कि गुरु हुँदै थिएँ, पट्ट मूर्ख भइएछ,
पत्तै भएन।
म ‘हामीहरू’मा समाहित हुन खोज्दै थिएँ,
कहिले एकान्त आएछ, पत्तै भएन।
खिइँदै गरेका पाइतला, मेटिँदै गरेका आयु र भाग्यका रेखा
फेरि पालुवा हाल्छन् कि अस्ताउँछन्,
हेर्दै जाउँ!
एउटा सूर्य झुल्किँदाखेरि देखाएको रक्तिम किरणले सुदूर क्षितिजलाई लालिमामय पार्छ कि पार्दैन, हेर्नुपर्ने छ।
हेर्ने रहर त छ,
दृष्टिको अवस्था कस्तो छ कुन्नि, पत्तै भएन।
एउटा आशाको त्यान्द्रो र म सन्तुलन मिलाएर कति परसम्म पुग्ने हो,
हिसाब मिलाउनुपर्ने हिसाबमा म कमजोर छु भन्ने ज्ञानले भुतुक्कै…
यो सन्तुलित यात्रामा एउटा तराजुमा मैले गरेका माया,
मैले पाएका माया, मेरो दायित्व,
मेरो जिम्मेवारी र विवेकले भ्याएसम्म गरेको इमान्दारी।
कतिबेर थेग्ने हो, हेर्दै जानु छ।
नबिर्सिकन रेखाहरू मेटिने क्रममा छन्,
पाइतलाहरू खिइसकेका छन्।
अस्ताउने घामको प्रतीक्षामा सकेसम्म दरो पाइला टेकेको एउटा यात्री,
यात्रा निरन्तर थियो, निरन्तरताको आशामा केही कुरा निश्चित छन्।
बिन्दास परिणाम पर्खिरहेको एउटा यात्री…
कहिले कसरी अस्ताउने हो घाम, कस्तो प्रभाव छोडेर!
























