३ असार, मेचीनगर : कोशी प्रदेश सरकारका खानेपानी सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले अहिले अव्यस्थित र अस्तव्यस्तरुपमा रहेका खानेपानीलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि प्रदेश सरकारले खानेपानी ऐन ल्याउन लागेको स्पष्ट पार्नु भएको छ । आफ्नो खुशीले अब खानेपानीका ट्याँकी नचल्ने भएकाले यसलाई व्यवस्थित बनाउन पनि खानेपानी ऐन र नीति बनाउन सरकार लागि परेको मन्त्री कार्कीको भनाई छ ।
सोमबार झापाको मेचीनगर—६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको एकसाताअघि सम्पन्न निर्वाचनबाट निर्वाचित सञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा समिति संयोजक सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण र पद हस्तान्तरण कार्यक्रममा बोल्दैं मन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
‘शुरु शुरुमा पव्लिक क्याम्पस सञ्चालन गर्न निक्कै होडबाजी हुन्थ्यो, पछिल्लो समय खानेपानीका ट्याँकी निर्माण गर्न यस्तै होडवाजी चलेको छ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री कार्कीले भन्नुभयो— ‘त्यसरी सञ्चालन गरिएका संरचनाको हालत कस्तो छ ? जीर्ण अवस्थामा पुगेर सकिने अवस्थामा छन् । त्यसकारण पनि ती संरचनाको हालत यो अवस्थामा पुगेकाले संरक्षण र बचाउँका लागि अब कोशी प्रदेश सरकारले त्यसलाई व्यवस्थित गर्न पनि खानेपानी ऐन ल्याउन लागेको हो । ’
अहिले पनि सवैको शुद्ध, सफा र स्वच्छ खानेपानीमा पहुँच नभएको मन्त्री कार्कीको भनाई थियो । अब पालिकाभित्र सञ्चालनमा रहेका खानेपानीहरु स्थानीय सरकारको स्वामित्वमा रहनुपर्ने भन्दैं मन्त्री कार्कीले खानेपानीको पहँुच नपुगेका ठाउँमा खानेपानी पुर्याउन प्रदेश सरकारबाट वा स्थानीय सरकारको स्वामित्वमा रहेका खानेपानीहरुबाट जडान भएको धाराको १० प्रतिशत धारा निःशुल्क जडान गर्नुपर्ने स्पष्ट पार्नुभयो । खानेपानी हरेक नागरिकको आधारभूत आवश्यकता रहेको भन्दैं उहाँले अब हरेक स्थानीय सरकार आफ्ना नागरिकलाई कसरी शुद्ध सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउने सोचका साथ लगानी गर्न पछि हट्न नहुने उहाँले स्पष्ट पार्नुभयो । कोशी प्रदेश सरकारको पहिलो प्राथमिकतामा शुद्ध र स्वच्छ खानेपानी परेकाले हरेक जनतालाई यो सुविधाबाट बञ्चित नगराउन यसमा बजेट विनियोजन समेत गरेको बताउनुभयो । कोशी प्रदेश सरकारले भरखरै प्रस्तुत गरेको बजेटमा खानेपानी प्राथमिकतामा परेको छ ।
अहिले पानीको तह घट्दै गएकाले अबको लडाई विद्युत वा अन्य क्षेत्रमा नभएर पानीमा हुने र सतह बचाउन त्यसक्षेत्रमा काम गर्नुपर्ने उहाँको भनाई थियो । सन् २०३० सम्ममा शुद्ध र सफा अनि स्वच्छ खानेपानी सवैक्षेत्रमा पुर्याउने लक्ष्य भएकाले यो लक्ष्य पुरा गर्न सवै एक ठाउँमा उभिएर काम गर्नुपर्ने मन्त्री कार्कीले बताउनुभयो । पानीको सतह घट्दै गएकाले त्यसको संरक्षणका लागि सतह बचाउ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सर्वसाधारणको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक ठाउँमा एटिएम वाटर सप्लाई ल्याउने योजनासमेत ल्याएको मन्त्री कार्कीको भनाई थियो । उक्त योजना पहिले (ट्रायल) परीक्षणको रुपमा ल्याउने र प्रभावकारी भए त्यसलाई ब्यप्त बनाउने उहाँले बताउनुभयो । भ्रष्टाचारमा शून्य सहभागीताका लागि एकसय बराबर १० घरलाई निःशुल्क धारा जडान योजना लागु गर्नुपर्नेमा जोड दिए ।
मन्त्री कार्कीको उपस्थितिमा निर्वाचन समितिका संयोजक राजु कार्कीले नवनिर्वाचित सवैलाई पद तथा गोपनियताको सपथ ग्रहण गरानुभयो । प्रमुख अतिथि कार्की, विशिष्ट अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, कोशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले संयुक्तरुपमा प्रमाण पत्र प्रदान, अविर टीका माला तथा खादा पहिर्याउनुभयो ।
कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको बताए । अब यसको उपलब्धता मात्र पर्याप्त नभई स्वच्छता समेत महत्वपूर्ण हुने उहाँहरुको भनाई थियो । “खानेपानी संविधानको मौलिक हकमा राखिएको छ, सुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो, वक्ताहरुले भने, ‘अब यसको उपलब्धता मात्र होइन, यो शुद्ध समेत हुनुपर्छ भन्ने अभियानमा हामी छौँ ।” एक घर एक धारा भए पनि पानीको शुद्धता कायम गर्न सकिएन भने त्यसको उपयोगले केवल रोग मात्रै निम्त्याउने र मानव स्वास्थ्यको क्षयीकरण भई गम्भीर असरहरू सृजना हुने बताइएको छ । विशिष्ट अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, अध्यक्षका प्रत्याशी सन्तोष आचार्य, सुदर्शन खड्का माइलालगायतले नव विर्वाचित सवैलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकानमा व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष रोहितकुमार बुढाथोकीले धाराबाटै पिउन मिल्ने गरी शुद्ध खानेपानी उपलब्ध गराउने कुरामा आफूहरू प्रतिबद्ध रहेको विश्वास दिलाउनुभाये । सहर होस् या गाउँ अब घरघरमा धारा मात्र होइन, धारामा आउने पानी समेत शुद्ध पिउन योग्य पानी आउने वातावरणको सृजना गरिने उहाँको प्रतिवद्धता मन्तव्यमा उल्लेख छ । खानेपानीको लागि विगतमा निकै दुख झेल्नु परेको सुनाउँदै पछिल्ला दिनहरू भने सहज हुँदै आएको उहाँको भनाई थियो ।स्वच्छ खानेपानी उपभोग गर्न पाउनु सबै नेपालीको नैसर्गिक अधिकार भएको बताउदैं अनफ्नो नेतृत्वमा रहेको टिमले यो पुरा गर्ने नवनिर्वाचित अध्यक्ष बुढाथोकीले विश्वास दिलाउनुभयो । निवर्तमान अध्यक्ष राजकुमार पराजुलीले कार्यकालमा भए गरेका कामको चर्चा गर्नुभयो ।
निर्वाचन समितिका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य ज्ञानेन्द्रकुमार घिमिरे र शव्दमार्फत स्वागत सदस्य सुभद्रा अर्याल भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दल। संघ संस्थाका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, अधिकारकर्मी, सुरक्षाकर्मी, उद्योगी, व्यवसायीलगायत उपभोक्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
२६ जेठमा सम्पन्न निर्वाचनबाट आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा रोहितकुमार बुढाथोकी, उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा विशाल तामाङ, कोषध्यक्षमा विमला तामाङ तथा महिला सदस्यहरुमा मीरा कार्की, इन्दिरा बुढाथोकी खुला सदस्यहरुमा इन्द्रकुमार प्रधान, डिल्लीकुमार काफ्ले, केदारजंग भट्टराई निर्वाचित हुनुभएको थियो । लेखा समिति संयोजकमा सोमराज ढकाल र सदस्यहरुमा बालकुमार भुजेर जोश्ना राजवंशी निर्वाचित हुनुभएको थियो ।



























