📌 Key Takeaways:
- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित र उत्तरदायी बनाउनुपर्नेमा जोड।
- प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदाउपर मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया सम्पन्न।
- कानुनले राज्यका बाध्यकारी नियम प्रतिनिधित्व गर्ने र सञ्चारमाध्यमले सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्ने मन्त्रीको भनाइ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभएको छ। कात्तिक १२ गते मन्त्रालयमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।
प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदाउपर सरोकारवाला निकाय तथा पदाधिकारीसँग आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रेस स्वतन्त्रता र त्यसको दुरुपयोगबीचको सीमालाई स्पष्ट पार्न त्यसै बमोजिमको कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कानुन र सञ्चारमाध्यम लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन् भन्दै उहाँले यी दुवैको सम्बन्धलाई बडो जिम्मेवार रुपमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कानुनी व्यवस्था र पत्रकारिताको दायित्व
कानुनले राज्यका बाध्यकारी नियम र संस्थागत व्यवस्थालाई प्रतिनिधित्व गर्ने तथा सञ्चारमाध्यमले नागरिकलाई सूचना प्रदान गर्ने, सार्वजनिक बहसलाई सहजीकरण गर्ने र सरकारलाई जवाफदेही बनाउने भूमिका निर्वाह गर्ने मन्त्री डा तिमिल्सिनाको भनाइ थियो। उहाँले प्रेसजगत्ले सम्प्रेषण तथा सम्पादन गरेका कार्यलाई आफू पनि त्यसको उपभोक्ता तथा सर्वसाधारण नागरिक भएर सोच्न सुझाउनुभयो।
पत्रकारिता समाजको सबैभन्दा जिम्मेवार र सामाजिक उत्तरदायित्वपूर्ण कार्य भएकाले आफ्ना कर्मलाई आफैँले पनि एक नागरिक तथा उपभोक्ताका रुपमा मूल्याङ्कन गर्नुपर्ने उहाँको तर्क थियो। यदि त्यसो गर्न सकियो भने संविधानप्रदत्त प्रेस स्वतन्त्रताको अधिकारका साथै नागरिकको वैयक्तिक स्वतन्त्रताको पनि दुरुपयोग नहुने उहाँले स्पष्ट पार्नुभयो।
संवैधानिक अधिकारको सम्मान
कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएकाले कसैले खोस्न नसक्ने बताउनुभयो। आगामी दिनमा आउने संविधानमा पनि यो अधिकारको हनन नहुने स्पष्ट पार्दै उहाँले प्रेसले पनि संविधानले दिएको स्वतन्त्रताको अधिकारको दुरुपयोग नगरी त्यसको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।
📄 Press Release / Official Notice





















