७ फागुन, भद्रपुर : भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ ।
भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उनले प्रतियोगिताबारे प्रकाश पारेका थिए । कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेलले शुभकामना व्यक्त गरेका थिए ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ ।

























