६ माघ मेचीनगर : आसन्न फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विघठित प्रतिनिधि सभाका सभामुख र उपसभामुखले एउटै निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दर्ता गराएका छन् ।
मंगलबार अर्जुनधारा नगरपालिकाकामा रहेको झापा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) का तर्फबाट सभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपसभामुख इन्दिरा रानाले उम्मेद्वारी दर्ता गराएका हुन् ।
२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पूर्व सभामुख घिमिरे यहि निर्वाचन क्षेत्रबाट नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) का तर्फबाट विजयी बनेका थिए, भने पूर्व उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसद बनेकी थिईन् । संसद्मा सँगै रहेका उनीहरु फागुन तेस्रोसाता हुने निर्वाचनको चुनावी मैदानमा दुवैजना एक आपसमा अमाने सामने भएका छन् ।
२०७९ को निर्वाचनमा झापा क्षेत्र नम्बर २ मा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का तात्कालिन कोशी प्रदेश इञ्चार्ज समेत रहेका घिमिरेले स्वतन्त्र उम्मे्दवार भद्रप्रसाद [स्वागत] नेपाललाई दुई हजार दुई सय ५६ मतले पराजित गदैं संसद्को यात्रा तय गरेका थिए । घिमिरेले २८ हजार छ सय ९७ मत र नेपालले २६ हजार चार सय ४१ मत प्राप्त गरेका थिए ।
७३ हजार नौ सय ५० पुरुष, ७३ हजार पाँचसय ६७ महिला र पाँचजना अन्य गरी कुल एकलाख ४७ हजार पाँचसय २२ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभामा पूर्व प्रमुख सचेतक, कोशी प्रदेशबाट २०७९ मा राष्ट्रियसभा सदस्य पूर्व कृषि राज्यमन्त्री सरिता प्रसाईको समेत उम्मेद्वारी परेको छ । निवर्तमान काँग्रेस सभापति शेरबहादुर देउवाले प्रसाईलाई पार्टीको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेका थिए भने उनी २०७४ सालमा नेपाली काँग्रेसकोतर्फबाट समानुपातिक सांसद् बनेकी थिएन् ।

२०६४ मा पहिलो संविधान सभाको निर्वाचनबाट नेपाली काँग्रेसका नेता पूर्व मन्त्री चक्रप्रसाद बास्तोलालाई पराजित गदैं संविधान सभामा पुगेकी तात्कालिक नेपाल कम्यूनिष्ट पार्टी माओवादीकी नेता धर्मशिला चापागाईँले समेत झापाको निर्वाचन क्षेत्र नम्बर २ बाटै उम्मेद्वारी दर्ता गराएकिछन् ।
२०६८ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री समेत बनेकी चापागाईँले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी ‐एकीकृत) समाजवादी र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र एक भएपछि बनेको नेपाली कम्यूनिष्ट पार्टीकोतर्फबाट उम्मेद्वार दर्ता गराएकी हुन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मे्दवार भद्रप्रसाद ‐स्वागत) नेपालले फागुन २१ गतेको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार दर्ता गराएका हुन् । निर्वाचन क्षेत्र नम्बर २ बाट मंगोल नेश्नल अर्गनाइजेसन ‐एमएनओ) का अकलबहादुर तामाङ, जनता समाजवादी पार्टीका तिलबहादुर राई, श्रम संस्कृति पार्टीका केशवबहादुर भण्डारी, उज्यालो नेपाल पार्टीका चुडाकर्ण बेघा, नेपाल कम्यूनिष्ट पार्टी [संयुक्त] का श्रीप्रसाद सिटौला, स्वतन्त्र उम्मेद्वारहरु पुण्यप्रसाद आचार्य, डाक्टर युवराज संग्रौला, रमेशकुमार कार्की,जनमत पार्टीका रमेशकुमार राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अमृता लावती, नेपाल जनमुक्ति पार्टीका मानबहादुर पुलामी मगरगरी कुल १८ जना उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् ।


























