५ चैत, झापा : २९ फागुनमा झापा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती मेचीनगरको प्रमुख व्यपारिक केन्द्रविन्दु धुलावारी बजारको अनुगमन गर्नपुगे । उनीहरुसँगै थिए, कार्यपालिका सदस्य चित्रकुमार धिमाल, नगरप्रहरी, पत्रकार र नगरप्रमुखको सचिवालयका कर्मचारी ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उपभोक्ता हित संरक्षण सम्बन्धि कार्यको समन्वय गर्ने योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सो को प्रतिवेदन वैठकमा पेश गर्ने नगर उपप्रमुख वा उपाध्यक्षको काम, कर्तव्य र अधिकार स्पष्ट छ, वा नगरस्तरीय अनुगमन समितिको संयोजक उपप्रमुख वा उपाध्यक्ष हुने कानूनमा स्पष्ट छ ।
त्यसकारण पनि अनुगमन गर्नु राम्रो कुरा हो । फेरि नगरपालिका र ठेकदारबीच बजार ठेका सम्झौता भन्दा दोब्बर, तेब्बर रुपैयाँमा व्यावसायीसँग कर उठाइरहेको गुनासो सतहमा आएपछि बजार अनुगमन त गर्नु पनि पर्यो । नगरपालिकामा खाद्य अधिकृत त होलान अनुगमन टोलीमा देखिएनन् । उनीमात्र होइन् उपभोक्ता जागरण अभियान नेपालका पदाधिकारी, उपभोक्ता अधिकारकर्मी, सुरक्षा निकाय, जिल्लास्थित सरकारी निकायका प्रमुख प्रतिनिधि समेत नगरप्रमुखको अनुगमन टोलीमा देखिएनन् । यस अघि भएका थुप्रै बजार अनुगमनमा यी सवै निकायको उपस्थिति हुने गरेको अभिलेख नगरपालिकासँगै सुरक्षित छ । हुनत नगरप्रमुखले व्यपारीलाई हामी अर्के अनुगममा आएको अचानक यो अनुगमन मात्र गरेको भनेको पनि भिडियोमा सुनिन्छ ।
सीमित केही व्यक्तिलाई लिएर कुनै बेलाको हङकङ बजारका नामले परिचित पछिल्लो समय विभिन्न कारण खुम्चिदैं गएको धुलावारी बजारको अनुगमन गरेको समाचार, तस्वीर र भिडियो सामाजिक सञ्जाल, सञ्चारमाध्यममा प्रकाशित भए पछि त्यो अनुगमन कार्यप्रति नगरका निक्कैले नकरात्मक प्रतिक्रिया दिएका छन् ।
नगरका उद्योगी व्यवसायीहरु आफ्ना समस्या लिएर नगरपालिका जाँदा नगर नेतृत्व गम्भीर नबनेको,आफुहरुले बुझाएका माग पत्र, अनुरोध पत्र, ज्ञापन पत्रहरुप्रति नगरपालिकाले खासै चासो नदिएको, सहिदमार्ग निर्माण ढिलाई भएपछि स्थानीय व्यवसायीहरुले निक्कै ठूलो सास्ती व्यहोर्नुपरेको, पसलमा रहेका सवै सामान धूलोका कारण काम नै नलाग्ने अवस्थामा रहेको, बाटोका कारण सवै कारोवार चौपट्ट हुँदा सम्म स्थानीय सरकार मेचीनगर नगरपालिका कानमा तेल हालेर बसेको भन्ने चौतर्फी आलोचना खेपीरहेका बखत यो अनुगमनले झन आलोचित बनेको छ ।

यो खवर तयार पार्दासम्म १३ जनाले समाचारप्रति प्रतिक्रिया व्यक्त गरेका छन् । ४० जनाले मन पर्यो भनेका छन् । अधिकाँशको प्रतिक्रियामा यो अनुगमनप्रति खासै सकरात्मक प्रतिक्रिया छैन, कसैले राम्रो सुझााव समेत दिएका छन् । कसैले व्याङयातम्क शैलीमा प्रतिक्रिया जाहेर गरेका छन् । …खोलानालतिर पनि ध्यान जाओस । की ??????? मिलि सको ???’ सुरज चिमरियाको प्रतिक्रिया । गैरकानूनी रुपमा उत्खनन भईरहेको खोलाको पनि निरीक्षण अनुगमन गर्न मेचीनगरका निर्मल सुवेदीले सुझाँव दिएका छन् । मेचीनगर— ६ नकलबन्दाका होमराज गुरुङ त्यस समाचारप्रति प्रतिक्रियाका रुपमा लेख्छन, …ठूलो काम भएछ धन्यवाद पत्रकार ज्यू, मेचीनगरका मेयर, उपमेयरलगायत तपाई पत्रकारको टिमलाई पनि । मेचीनगरमा रहेका सवै खोला नालालगायत थुप्रै निकायहरु छन् एकपल्ट यसरी नै निरीक्षण गरीदिनुहोला ।’ सहकारीकर्मी राजु दाहालले समेत समाचारमा व्यङ्याम्मक शैलीमा लेखेको प्रतिक्रिया …डुव्लीकेट बील बनाउँन त लगाको छैन् नि ढुङ्गा जस्तो भन्ने एउटा गर्ने अर्काे हुन्छ तपाईहरुको ।’काँकरभिट्टाका विजय सुवेदीले हा हा हा भन्दैं लेखेका छन् । युवराज खरेलले यसलाई नौटंकीको सज्ञा दिदैं नौटंकी बन्द गरौ मेयर साब भनेर …कम्मेन्ट’ गरेका छन् । धुलावारीका स्थानीयवासी केन्द्रविक्रम नेम्वाङ पनि यसलाई नौटंकीकै संज्ञा दिदैं कामकुरा एकातिर नाटक देखाउँन बजारतिरबाटो अलपत्र, नाला जाम भएर मच्छड उत्पादन केन्द्र भएको छ । डेंगुले यो पालिका कति दुःख दिने हो कुन्नी । भनेर प्रतिक्रिया लेखेका छन् ।
छापाखान व्यवसायी विष्णु वराल लेख्छन, भन्न चाँहि मेयर उपमेयरले केही गरेनन् भन्छन जे भएपनि अनुगमन त गरेछन् नि ? ओ हो अब यस्तो नाटक सावित्री गौतमको प्रतिक्रिया । प्रेम घिमिरे भन्ने व्यक्तिले त कत्रो ठुलो विजनेश कम्प्लेकसमा गएर अनुगमन गरेको । घरानियाँ व्यपारीहरु रहेछन भनेर व्यङ्गय गरेका छन् । अझ भिडियोमा एकजना नगरप्रहरीले त यो ढक भोलीदेखि नल्याउनु है भनेको सुनिन्छ । अर्काे चोटी नल्याउनु ल , तपाईलाई जानकारी छैन होला ? भनेर सम्झाएका छन् । नगर प्रमुखले सोध्नुहुन्छ यो ढक यहाँ प्रयोग गर्न पाईर्दैन ? यसको मतलब यो भारतीय ढक हुन सक्ने आशंका गर्न सकिन्छ ।
नेपाल सरकारको स्टाण्डर्ड नाप तौल ऐन २०२५ र नियमावली २०२७ बमोजिम उद्योगी, ब्यापारीले लिटर, मिटर, ढक, तराजु अनिवार्य जाँच गराउनु पर्छ । सस्तो र खुल्ला सिमानाका कारण झापामा लाग्ने साप्ताहिक हाटमा आउने व्यपारीहरुले भारतीय कम्पनीले उत्पादन गरेका ढकहरुको बढी प्रयोग भएको भेटिएको छ । नेपालमा भारतीय नापतौलमा बनेका ढकहरु प्रयोग गर्न पाईदैन । किन भने नेपाल सरकारले अन्र्तराष्ट्रिय नापतौललाई आधार बनाई ढकको आफै स्टाण्डर्ड कायम गरेको छ । जे भएपनि बेला बखत यसरी बजार अनुगमन गर्दा नगरवासीका लागि भने चाँहि हितकर नै हुन्छ । तर साच्चैको बजार अनुगमन चाँहि हुनैपर्छ ।


























