रोशनराज
१० जेठ, मेचीनगर : मेची उद्योग बाणिज्य संघ मेचीनगरको १० ओैं पद हस्तान्तरण एवम् पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिलसुन्दर श्रेष्ठको प्रमुख अतिथ्यतामा झापाको मेचीनगर–१० स्थित धुलावारीमा आयोजित कार्यक्रममन निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता पदम डाँगीले २६ वैशाखमा सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी सदस्यहरूको नाम घोषणा गरेका थिए । घोषणा लगत्तै संघका पूर्व अध्यक्ष ऋषिराज तिम्सिनाले निर्वाचित सवैलाई पद तथा गोपनियताको सपथ गराएका थिए भने, प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष श्रेष्ठले विभिन्न पदमा निर्वाचित सवैलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका थिए । प्रमुख अतिथि श्रेष्ठ महासंघको ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचन प्रक्रिया मार्फत जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमध्ये एकमा निर्वाचित भएका हुन् ।

देशको अर्थतन्त्रमा निजी क्षेत्रको उल्लेखनीय भूमिका र योगदान भए पनि सरकारले यो देशको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै उनले यो दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकता ओैँल्याए । उनले हरेक नगर जिल्ला संघलाई समयमै नविकरण, साधारण सभा गर्न निर्देशन दिदैं यसो नगरे भविष्यमा थुप्रै अधिकारबाट बञ्चित हुनुपर्ने चेतावनी दिए । अब हरेक संघलाई चलायमान बनाउने जिम्मा महासंघको रहेकाले यस विषयमा आगामी दिनमा सवै क्षेत्रसँग आवश्यक छलफल, समन्वय र अन्तरक्रिया गर्ने योजना सुनाए । अब स्थानीय स्तरका उद्योगी व्यवसायीहरुका सारागारा अप्ठ्यारामा स्थानीय सरकारले मह्लम पट्टीको काम गर्नुपर्ने भन्दैं उनले कोभिडलगायत अन्य कारणले सुस्ताएको हरेक व्यवसायलाई चलायमान बनाउनुपर्ने दायित्व सरकारको रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रमेश रसाईली दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईँ, मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेलगायतले नवनिर्वाचित पदाधिकारी सदस्हरूलाई बधाई ज्ञापन गर्दैं कार्यकाल सफलताको शुभकामना मन्तव्य राखेका थिए ।



























